• मंसिर १२ २०८१, बुधबार

नुन-तेलको राजनीतिक भूमरीमा कर्णालीवासी

फाल्गुन २७ २०७८, शुक्रबार

कर्णाली भन्नासाथ जनजिब्रोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको ‘कर्नाली’लाई सम्झन्छौं, मनन गर्छौं र एकपटक पुगेर अनुभव गर्छौं भन्ने जो सुकैको मनमा लाग्न सक्छ । हो कर्णाली एउटा सभ्यता हो । ठूला ठूला शहरका मानव सभ्यताको विकास नदीसँग जोडिएको हुन्छ । एथेन्स वा मेसोपोटामिया नै किन नहोस् वा रोमन सभ्यता नै किन नहोस्, ती सबै नदीसँग जोडिएका छन् ।

यस्तै कर्णाली पनि नेपालको पुरानो कर्णाली हो । यो कर्णाली नदीसँग जोडिएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ । तर बिडम्बना मेरो कर्णालीले नेता पायो नेतृत्व पाएन । विकास पायो तर समृद्धि सहितको विकास पाएन । संघीयता पायो तर मेरो कर्णालीले संघीयताको आभास पाएन । गाउँगाउँमा सिंहहरु पायो तर सिंहदरबारको सत्ताको अनुभूती पाएन ।

त्यसैले त मेरो कर्णाली सुन्दर कर्णाली समृद्ध कर्णाली हुन सकेन । विचरा मेरो कर्णाली समृद्धि होस् पनि कसरी ! जब जब देशमा चुनावहरु हुन थाल्छन्, तब समाजका बाठाटाँठाहरु र आफूलाई समाजका नाइके ठान्नेहरु भोट किन्नका लागि एकाएक गाउँ केन्द्रित हुन्छन् । अनि विभिन्न किसिमका लोभ र लालच देखाएर गाउँगाउँमा सुरु हुन्छ नुन र तेलको राजनीति ।

बिचरा हामी कर्णालीवासी हाम्रो गरिबीको फाइदा उठाउँदै चुनावका मुखमा ज्याकेट, झोला, नुन, तेलको राजनीति एकाएक शुरु हुन्छ । अनि हामी राम्रो मान्छेलाई होइन, जो जिल्लातिरै रमाइरहेका हुन्छन् तिनलाई जिताउँछौं । समाजका दुःख र पीडा बुझ्नेलाई हामी चिन्दैनौं । कसलाई जिताएपछि चुनावपछि विकास गरिदेला र दुःखमा साथ देला भन्ने सोंच्दैनौं । हामी चुनावमा देखाइने मिठा, गुलिया र लोभलालचमा पर्छौं ।

अनि हाम्रा सबै सपना बालुवामा खन्याएको पानी जस्तै हुन्छन् । आज कयौं युग फेरिए, वर्ष फेरिए, महिना फेरिए दिन फेरिए तर पनि ताल उस्तै मेरो कर्णालीको, हाल उस्तै छ मेरो कर्णालीको ब्यथा ।

हजारौं सहिदको बलिदानको सपना र अर्थ एउटै थियो, देश र जनताको उन्नती, प्रगती र देश विकास गर्ने र त्यसका लागि तानाशाही सासकको अन्त्य गर्ने । पुराना शासकको अन्त्य त भयो विकास र सम्पन्नताका सबै सपनामै सिमित रहे । भन्न त भनिन्थ्यो नि केही पाउनको लागि केही गुमाउनु पर्छ तर मैले जे देखें सबै गुमाएको देखें, पाउन भने केही पाइएन । अझ स्पष्ट भन्नु पर्दा हामी सौतेनी आमाको ब्यवहार भोगिरहेका छौं । किनभने हिजो कर्णालीको अवस्था त्यही थियो र आज पनि त्यही छ ।

भोलि कस्तो बनाउने त्यो कसले देखेको छ र ! हामीसँग विकासका सम्भावना यति धेरै हुँदाहुँदै पनि अझै चुप लागेर किन बसेका छौं ? तपाईंलाई थाहै छ, यहाँ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज (डोल्पा), पञ्चदेवल (कालिकोट), पान्डव मन्दिर चिल्खाया, रुडुबन्छु र त्रिवेणी पाटन छ । चिल्खायाको रातो मार्सी चामल र जुम्लाको सिमी छ । पर्यटकका लागि रारा राष्ट्रिय निकुञ्ज (मुगु) र थुप्रै हिमालहरु छन् ।

जडिबुटीको उत्पादन त कति छ कति ? खै यी सबको उपादेयता र बजारीकरण ? खै जलविद्युतको उत्पादन, खै स्याउ, नास्पाती, अंगुर, आरु, अन्य फलफूलहरुको उचित बजार ब्यवस्थापन कसले गर्ने ? हजारौं हजार मेगावाट जलविद्युत उत्पादन हुने नदिनालाहरु त्यत्तिकै बगिरहेका छन् ।

उत्पादन भएका साना जलविद्युत आयोजना पनि राम्रोसँग संचालनमा आएका छैनन् । त्यसको जिम्मेवार को हो ? राज्य हो कि होइन ? कर्णालीवासी केवल भोटको हकदार मात्र भए तर विकास निकास र रोजगारको हिस्सा हुन भने सकेका छैनन् ।

लहलहैमा लाग्दै युवा पुस्ता :

आफ्नो स्थानको खोजी गर्नु भनेको आफ्नो हैसियत थाहा पाउनु हो र आफ्नो हैसियत पत्ता लगाउनु भनेको आफ्नो वास्तविक स्थिति जान्नु हो । आफ्नो वास्तविक शक्ति र सामथ्र्य थाह नभएकै कारण आज युवाको एउटा विशाल पङ्क्ति कथित ठूला राजनीतिक दलको ‘एसमेन’ र विभिन्न झुण्ड, स्वार्थी समूहको गोटी मात्र बनिरहेका छन् ।

जसका कारण आफ्नो व्यक्तिगत जीवन मात्र होइन समग्र समाजको मुहार नै परिवर्तन गर्न सामथ्र्य राख्ने युवाशक्तिले आज राजनीतिप्रति व्यापक वितृष्णा र समाजप्रति चरम निराशा व्यक्त गरिरहेका छन् । निश्चय नै कुनै पनि कुराको सीमा हुन्छ तर अहिले हाम्रो समाजमा भ्रष्टाचार, बलात्कार, अनियमितता, घुसघोरी, दलाली, कालोबजारी, गरिब, किसान र मजदुरमाथिको नाङ्गो लुट, धर्मप्रचारको नाममा मानवलाई दुःख कष्ट यातना तथा विभिन्न नाममा मान्छेले मान्छेमाथि गर्ने विभेद र युवाको व्यापक दुरूपयोगले सीमा नाघिरहेको छ ।

अन्तरराष्ट्रिय दलालहरुले धर्मको नाममा देशमा आएर देशको कानून विपरित काम गरिरहेका छन् । आफ्नो नागरिकप्रतिको राज्यको यो हदसम्मको अनुदारता र निकृष्ट व्यवहारका कारण आज युवामा यो विभेदकारी नीति, नियम र गैरजिम्मेवार राज्य व्यवस्थामाथि नै चरम अविश्वास र घृणा पैदा हुन थालेको देखिन्छ ।

त्यसका विरुद्ध र विकल्पमा समतामूलक नौलो लोककल्याणकारी व्यवस्था नयाँ चेतनाको अङ्कुरण युवाको मस्तिष्कमा भइरहेको छ । १ लिटर तेलका लागि चर्को नारा आखिर कहिलेसम्म भन्ने प्रश्न जागेको छ किन कि युवाहरूको भाग्यको विधाता युवाहरू स्वयम् आफै हो । त्यसैले आफ्नो भाग्यको निर्माण आफै गर्दै सत्य, न्याय र समानतामा आधारित समाज निर्माणका लागि युवा आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु हुँदैन ।

के चाहन्छ कर्णाली ?

नुन र तेलको राजनीति अन्त्य होस् । आफन्तवादको अन्त्य होस् । राज्यले गर्ने सौतेनी व्यवहार अन्त्य होस् । रुढीवादी परम्पराको सुदधार होस् । साथै हाम्रो कर्णाली प्रदेशको एकमात्र लक्ष्य भनेको विकास, पूर्वाधार लोककल्याणकारी व्यवस्था समातामूलक समाज निर्माण विधिको शासन साँस्कृतिक र संस्कार परिवर्तन हो ।

यति मात्र नभएर कर्णाली मुलुक समृद्धिको मुहान बन्न चाहन्छ । र कर्णालीका लाखौं शिक्षित तर ब्यरोजगार बौद्धिक युवाहरुले रोजगारी चाहन्छन् । राज्यले पहिलो प्राथमिकता कर्णालीलाई देओस् भन्न चाहन्छन् । खस नेपाली भाषाको उद्गम स्थान कर्णालीले आफ्नो मौलिक संस्कृति र सभ्यतालाई जोगाउन चाहन्छ । कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडिबुडी, भेषभूषा, भाषा संस्कृति मुख्य केन्द्रबिन्दु हुन् ।

कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो । जहाँ सम्भावनाले अवसर दिएको छ र रोजगारी दिएको छ । साथै बाँच्ने आधार पनि दिएको छ तर लगानीको अभावमा कर्णालीका थुप्रै सम्भावनाहरुले पर्खेर बसेका छन् ।