एक पटक महादेवले पार्वतीलाई अमर कथा सुनाउनु भएको थियो । महावले पार्वतीलाई ‘मैले अमर कथा सुनाइरहेको बेलामा ननिदाउनु, पछि मैले यो कथा पुनः भन्दिन । यो अति नै गोप्य कथा हो । यो कथा जो कोहीलाई पनि सुनाउनु हुँदैन । किन भने यो कथा सुन्ने अमर हुन्छ ।’
भन्दा पार्वतीले हुन्छ भनि कथा सुनिरहिन् । कथा सुनिरहँदा बिचबिचमा हं हं भन्नु पर्छ भनि महादेवले भन्नु भएकोले पार्वतीले पनि हं हं भन्दै कथा सुन्न थालिन् । तर पार्वतीले हं हं भन्दै कथा सुनिरहेको बेलामा निंद्रा लागेको नै थाहा पाइनन् । तर नजिकै रहेको रुखमा बसेका एउटा मैनाले पनि महादेवले बताउनु भएको कथा सुनिरहेको रहेछ ।
पार्वतीले हं हं भन्न छोड्ना साथ त्यो मैनाले बिचबिचमा हं हं भनिरहेको रहेछ । आफ्नै सुरमा कथा सुनाईरहेका महादेवले कथा भनेर सकेपछि यसो पार्वतीलाई हेर्दा पार्वती त निदाइरहेको देखेर अचम्म माने । मैले कथा भनिरहँदा बिचबिचमा हं हं भनेर कसले भनिरहेको होला त भनि यसो रुखमा हेर्दा त मैनालाई देखे ।
अनि महादेव क्रोधित भई त्यस मैनालाई लखेट्न थाले, यी मैनालाई नमारी भएन भनि । मैना पनि भाग्दै गर्दा कहाँ जाउँ कता जाउँ भनि यसो व्यास ऋषिको आश्रम सामु पुग्यो त्यहाँ व्यासकी श्रीमतीले हाई गरिरहेकी देखे । हत्त न पत्त मैना हाई गरिरहेको मुख भित्र पसिदियो ।
महादेवलाई त झन् बढी क्रोध आयो । अनि व्यास रिसाँउदै ऋषिलाई भने,‘मैले लखेट्दै ल्याएको मैनालाई तिम्रो श्रीमतीले निली दिई, त्यस मैनालाई बाहिर निकाल । मैले अमर कथा पार्वतीलाई सुनाइरहँदा त्यो मैनाले पनि सुनी रहेको रहेछ, त्यसैले मैले यो मैनालाई लखेट्दै ल्याएको हुँ ।’
महादेवको कुरा सुनेपछि व्यास ऋषिले पनि नरम भई जवाफ दिए, ‘हे महादेव ! हजुर त तीन त्रिलोक चौध भूवनका मालिक होइबक्सन्छ । हजुरले बताउनु भएको अमर कथा सुन्ने जो कोही पनि अमर हुने नै भयो नी । अनि यो मैनालाई कसरी मार्न सकिन्छ ? त्यसैले हजुरले यो मैनालाई क्षमा गरी बक्सियोस ।’ व्यास ऋषिको यस्ता कुरा सुनेपछि महादेवले के भनुँ के भनुँ भई त्यसो भए भैगो भनि त्यहाँबाट फर्केर गए ।
व्यास ऋषिको पत्निको पेटभित्र गएको मैना बच्चाको रुप लिएर १२ वर्षसम्म पेटमै बसिरह्यो रे । गर्भवती भएको १२ वर्ष भैसक्दा पनि अलिकता पनि पेट नदुखेकोले व्यास पत्नि अचम्मित भएकी थिइन् । १२ वर्ष बितिसके पछि व्यास ऋषिकी पत्निले बच्चा जन्माइन् ।
पेटबाट निस्किने बित्तिकै त्यो बच्चा अलिकता ठूलो भएछ । अनि आमाबाबु व्यास ऋषि र आमालाई दण्डवत गरेर यो संसार अनित्य हो, झुट्ठा हो, यो संसारमा म अल्झेर बस्दिन मैले १२ वर्ष आमाको पेटमा बसेर तपस्या गरेर बस्दा पनि अझै पुगेको छैन म तपस्या गर्न जंगलमा जान्छु । मलाई विदा दिनुहोस्, अनि विदा लिई गए ।
त्यही बच्चा पछि गएर प्रख्यात ऋषि सुखदेव बनेका हुन भनिन्छ । त्यही सुखदेव ऋषिले कलिले छोएका अर्जुनका छोरा परिक्षित राजालाई सात दिनसम्म श्रीमदभागवत कथा सुनाई उद्धार गरेका हुन ।