काठमाडौं । गुल्मीको मदाने गाउँपालिकाका करिब १ हजार १ सय नागरिकले सुरक्षित आवास पाएका छन् । खरका छाना मुक्त गरेर एकीकृत बस्ती निर्माण, जनता आवास र भुकम्पपछिको पुनर्निर्माण गरेर १ हजार ५४ परिवारले सुरक्षित आवास पाइसकेका छन् ।
पालिका भित्रका सवै घरमा खरका छाना मुक्त गर्ने मदाने गाउँपालिकाका जनप्रतिनिधिले २० असार २०७४ मा पद बहाली हुँदा गरेको पहिलो निर्णय हो । सो अभियानले सार्थकता पाएको छ ।
२ करोड ८४ लाख ३७ हजार ४२० रुपैयाको लागतमा सात वडाका कुल ७२९ घर खरका छानामुक्त भैसकेका छन् । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण बिष्टले गाउँपालिकालाई खरका छाना मुक्त घोषणा गरेका छन् ।
गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्दै बिष्टले पानी र आगोबाट मुक्ति पाएका नागरिकको ओठको मुस्कान र आशिर्वाद नै आफूहरूको सन्तुष्टिको विषय भएकाले आधारभूत आवश्यकता परिपूर्ति गर्न ३ वटै सरकारले ध्यान दिएको बताए ।
मदाने गाउँपालिका–१ मा १४१ जनाले जस्तापाता प्राप्त गरेका छन् । वडा नम्बर २ मा १८० घर, वडा नम्बर ३ मा १४५ घर, वडा नम्बर ४ मा ३२ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाको वडा नम्बर ५ मा १०७ घर, वडा नम्बर ६ मा ५२ घर र वडा नम्बर ७ मा ७० जना गरेर कुल ७२९ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।
लुम्बिनी प्रदेशमा पूर्वसांसद दिनेश पन्थीले कम श्रोत र साधनका बीच आवास, स्वास्थ्य, शिक्षा, सडक, कृषि उद्यम, पर्यटन र खानेपानीको क्षेत्रमा कामको प्रशंसा गरे । उनले सीमित स्रोतसाधन र नागरिकका असीमित आशाका कारण निराशा पनि बढ्नु स्वभाविक भएको बताए ।
मदाने गाउँपालिकाका प्रमुख दानबहादुर केसीले संघीयताको पहिलो कार्यान्वयन, भौगोलिक जटिलता र पूर्वाधार आशा, जनशक्ति व्यवस्थापन र कानुन निर्माणको चुनौतीका बीच गाउँपालिकालाई खरका छानामुक्त गर्न सकिएकोमा खुशी व्यक्त गरे ।
उनले स्थानीय तह एक औद्योगिक ग्राम स्थापना कार्यक्रमअन्तर्गत मदाने २ र ४ मा औद्योगिक ग्राम स्थापना, भनभने बडाचौर बृहत सिञ्चाइ आयोजना निर्माण, कङ्के देउराली पर्यटन पूर्वाधार विकास योजना कार्यान्वयन, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, बाख्रा विकास कार्यक्रम, खानेपानी, सडक, शिक्षा र स्वास्थमा महत्वपूर्ण काम गरिएको केसीले बताए ।
मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काका अनुसार विपन्न परिवारहरुको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने क्रममा गाउँपालिकाभित्र ७२९ घरमा खरका छाना विस्थापन गरिएको छ । भूकम्प र पहिरोका कारण विस्थापित ४७ घर परिवारका लागि एकीकृत वस्ती निर्माण गरिएको छ ।
त्यस्तै भूकम्पपश्चात् पुनर्निर्माण भएका निजी आवासको घरधुरी संख्या १४१ रहेको खड्काले बताइन् । सुरक्षित नागरिक आवासअन्तर्गत निर्माण गरिएका घरधुरी १२८, जनता आवास कार्यक्रमअन्तर्गत ७ घर निर्माण गरिएको छ ।