• मंसिर ११ २०८१, मंगलवार

अब नेपालबाट भारत हुँदै गाडीमा बंगलादेश सरर…

फाल्गुन २६ २०७८, बिहीबार

काठमाडौँ । अब नेपालबाट तेस्रो छिमेकी मुलुक बंगलादेशसम्म सिधा सवारी साधनहरु संचालन हुने भएका छन् । विभिन्न तयारी गर्दा अबको केहि महिनामा त्रिदेशीय (नेपालल-भारत-बंगलादेश) रुपमा बिना रोकटोक सार्वजनिक यातायातका साधनहरु संचालन गर्न सकिने कुरामा नेपाल भारत र बंगलादेशका अहिकारीहरु सहमत भएका छन् । भारतको राजधानी नयाँदिल्लीमा यसै साता सम्पन्न भएको एक बैठकमा सहभागी भएका ती देशका अधिकारीहरु यस विषयमा सहमत भएका हुन् ।

नेपालबाट बंगलादेशसम्म निर्वाध रुपमा सवारी साधन संचालनका लागि तयार गरिएको मोटर भेहिकल एग्रिमेन्ट (एमभिए) अघि बढाउनका लागि समझादारी पत्र (एमओयु)मा छिट्टै हस्ताक्षर गर्ने इच्छा तीनै देशका सरकारले व्यक्त गरेको भारतको विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हुन त यस्तो खालको मोटर भेहिकल एग्रिमेन्टलाई सन् २०१४ मा काठमाडौँमा सम्पन्न दक्षिण एशियाली सहयोग संगठन (सार्क) बैठकको बेला पनि एजेण्डाको रुपमा उठाइएको थियो । त्यसपछि सन् २०१५ को जुन महिनामा सो सम्झौता कार्यान्वयनमा ल्याउन अर्को एउटा सहमतीमा बंगलादेश, भुटान, नेपाल र भारतबीच हस्ताक्षर भएको थियो । भुटान यस कार्यक्रमबाट पछि हटिसकेको भएपनि अब तीन देशको सहकार्यमा यो कार्यक्रम अगाडि जाने भएको छ ।

अहिलेको कुरा तीन देश कसरी अगाडि जाने, एमभिए लागु गर्दा बीमाका कुरा, दुर्घटना भए कसरी समधान गर्ने भन्ने कुरा अनि गाडी बिग्रिएको अवस्थामा, प्रवेशाज्ञा वा ओभरटेक जस्ता कुराहरु हुन सक्छन् र रुट परमिट आदि कुराबारे यातायातको, अध्यागमनको उपसमिति बनाउने जस्ता प्राविधिक विषयमा छलफल भएको दिल्ली बैठकमा नेपाली समुहको नेतृत्व गरेका सहसचिव केशवकुमार शर्माले जानकारी दिए । उनले भने, ‘यसलाई अब सबै सरकारले स्वीकृत गरेपछि अघि बढछ । संसदबाट अनुमोदन भइसकेको छ । प्रोटोकलहरु चाहिँ उपसमितिहरुको सिफारिसलाई राजनीतिक तह तथा सरकारको तहबाट स्वीकृत भइसकेपछि सेवा सुरु गर्न थालौं भन्न सकिन्छ ।’

यो त्रिदेशीय यातायात कार्यक्रमको पाइलट चरणमा सुरुमा एउटा रुट प्रयोगमा ल्याइने भनेर छलफल भएको बताइएको छ । सुरुको चरणमा उत्पन्न हुने समस्याबाट अनुभव सँगालेर आम रुपमा सहमति कार्यान्वयन अघि बढ्ने बताइएको छ । सुरुमा थोरै मोटरबाट सो कार्यक्रम सुरु गर्न आगामी चार-पाँच महिना लाग्न सक्ने शर्माले बताए । हाल तीन देशका अधिकारीहरुबीचमा यात्रु बोक्ने सवारी साधन संचालनबारे छलफल भएको तर मालवाहक सवारीका लागि निकै धेरै गृहकार्य गर्न बाँकी रहेको र यो क्रमिक रुपमा अगाडि बढाइने बताइएको छ ।