अस्पताल बेच, लागू औषध खरिद गर
विद्यालय बेच, जोकशास्त्र खरिद गर
खोला बेच र सोलार खरिद गर
तिम्रै छ देश
तिम्रै हातमा छ ढुकुटी
तिमी जेसुकै गर
मान्छे बेचेर, कठपुतली किन्ने
तिम्रै छ योजना
आकाशमा धान रोप्ने
धर्तीलाई बाँझो राख्ने
तिम्रै छ सपना
तिमी मन लागेको गर
हात्ती छाप चप्पल लगाएर आएकाहरु
हात्ती मालिक भएका छन्
जनताको आस्थालाई बलात्कार नगर्ने सपथहरु
टुकुचामा बगाएर
बागमती नुहाउनेहरुको लाम देखिएकै छ
कृष्ण सेन ‘इच्छुक’का कविता पढेर आएकाहरु
इच्छुककै हत्यारालाई डियर कमरेड भनिरहेकै छन्
आधार इलाकामा चपाएका सागहरु
अझैसम्म देखिन्छ तिमीहरूका दाँतहरुमा
आधार इलाकामा खेलेको परेड
फेरि खेल्नुपर्ने बेला आएको छ
आधार इलाकालाई
फेरि पनि रक्षा गर्ने समय आएको छ
तिमी क्रान्ति भन कि प्रतिक्रान्ति
तिमी दक्षिणपन्थ भन कि अग्रगामी छलाङ
तिमी स्वायत्तता भन कि उग्र जातिवाद
तिमी पार्टी भन कि एमसीसी भन
अब तिम्रा दिक्दारीहरुलाई
पत्याउन जरुर छैन
आँसु पिइरहेकाहरुले
धोकामा बाँचेकाहरुले
तिमी सपना बेच
तर सपना बेच्नेहरु विरुद्ध
उठिरहेछ प्रतिकारमा मुठीहरु ।