• मंसिर ९ २०८१, आईतवार

क्रान्तिकारी शक्तिका बिचमा ध्रुवीकरणको खाँचो परिसक्यो

फाल्गुन २६ २०७८, बिहीबार

अहिले नेपालमा सच्चा कम्युनिस्ट पार्टीहरुको एकीकरण, क्रान्तिकारी कम्युनिस्टहरुको ध्रुवीकरण र त्यस्ता शक्ति, व्यक्ति, संघ–संस्था र समूहहरुको मोर्चाबन्दीकरणको कुरा उठिरहेको छ । एकथरी देश, जनता र क्रान्तिका पक्षपातीहरु तथा मुक्ति, प्रगति र समृद्धिका सच्चा हिमायतीहरुले त देशमा स्वतन्त्रता, समानता र स्वाभिमानको प्राप्ति, संरक्षण र  सम्वर्द्धन् गर्दै क्रान्तिकारी निकास र विकासको निम्ति यो कुरा गरिरहेका छन् भन्ने स्पष्ट छ ।

तर यसरी नै अर्काथरी दलाल, गद्दार, तस्कर, माफिया र भ्रष्ट–दुष्ट तत्वहरुले आसन्न चुनाव र त्यसमार्फत् प्राप्त हुने सत्ता र भत्तालाई केन्द्रमा राखेर विगतमा गरेका अपराध कर्महरुबाट बच्न र देश र जनतामा थप ब्रह्मलुट मच्चाउनको लागि कलुषित विचार र कुनियत लिएर यसो भनिरहेका छन् । जसले जे कुरा जुन उद्धेश्य र नियतले भनेको भए पनि अहिलेको वस्तुवादी, वैज्ञानिक र वास्तविक आवश्यकता अनुसार भनिएको कुरा नै सही, सुन्दर र क्रान्तिकारी हुन्छ ।

यसरी वा यही दृष्टिले नै आज देशमा भैरहेका विभिन्न पार्टी र समूहहरु बीचमा एकता, ध्रुवीकरण र गठबन्धनहरु वा नयाँ र वैकल्पिक पार्टी निर्माणका परिघटनाहरुलाई हेर्नु पर्छ र सही ठम्याइमा पुग्न सकिन्छ ।

आज एकथरीले ‘बृहद् माओवादी एकताः आजको अनिवार्य आवश्यकता’को नारा लगाइरहेका छन् भने अर्काथरीले यस्तो आवश्यकता र सम्भाव्यता नदेखेर वा देखेपनि त्यसको औचित्य नदेखेर होला ‘वाम–लोकतान्त्रिक गठबन्धन’को नारामा जोड दिइरहेका छन् । यी दुवै नाराको वैचारिक र राजनीतिक सार, सन्दर्भ र परिणाम एउटै हो ।

त्यो हो : वर्तमान असफल र अफापसिद्ध भइसकेको संसदीय दलाल पुँजीवादी व्यवस्थाको रक्षा र सुदृढ गर्दै आसन्न चुनावमा बर्चस्व कायम गर्ने र सत्तामा पुगेर हालीमुहाली र हैकम चलाउने । माओवादी एकताको नाउँमा पहिलो थरीमा पर्नेहरु शान्ति प्रकृयामा प्रवेस गरेदेखि निरन्तर सरकार र सदनमा बसेर र मारिरहेका तरमाराहरु छन् जो माओवादीमा आएको टुटफुट, विभाजन, विघटन र विसर्जन भएको आजको अवस्थामा आफ्नो लूटको स्वर्ग भत्किने डरले आक्रान्त छन् ।

यसैगरी दोस्रो थरी त झन जनयुद्धदेखि शान्तिप्रकृया हुँदै आजसम्म आउँदा आफ्ना इमान्दार क्रान्तिकारी सहयोद्धा र सहयोगीहरुलाई अविश्वास र अपमानित गर्दै, किनारा लगाउँदै, अयोग्य र असक्षम घोषित गर्दै, जेल र हिरासतमा कोचाउँदै भयभीत र आतङ्कित पार्दै साम्राज्यवादी, विस्तारवादी, संसदवादी र तिनका दास र दलालहरुको विश्वास र दलाली गर्दै र उनीहरुलाई रिझाउँदै आएका दलाल र गद्दारहरु छन् ।

यहाँसम्म कि यो श्रेणीमा पर्नेहरु राज्यसत्तामा बसेर भ्रष्टाचार, दलाली, कमिसनखोरी र अनियमितता गरी वर्तमानका आफ्ना दश पुस्ता परसम्मका सम्बन्धितहरुलाई र भविष्यका दब पुस्तासम्मका आफ्ना सन्ततीहरुलाई कुनै काम नगरेर आरामले भोज खाँदै मोज गरेर बाँच्न पुग्ने सम्पत्ति थुपारेकाहरु पर्दछन् । तर तेस्रोथरीमा भने नितान्त भिन्न विचार र आचारका शक्ति र व्यक्तिहरु छन् ।

आज झन् पछि झन् राष्ट्रिय स्वाधीनता, स्वत्व र अस्तित्व संकटमा परेको र जनताका जीविकाका सवालहरु पनि निकै जटिल र गम्भीर हुँदै गएकाले नयाँ जनवादी र वैज्ञानिक समाजवादी व्यवस्था, जहाँ राष्ट्रियता र जनजीविकालाई अर्थात् देश र तल्लो वर्गका जनताको संरक्षण र सम्बद्र्धनको प्रश्नलाई बढी जोड दिइएको हुन्छ, लाई केन्द्रमा राखेर आन्दोलन अघि बढाउने उद्देश्यले क्रान्तिको लागि आधारभूत रुपमा जीवन र व्यवहारमा समेत मालेमावाद मानेर लागू गर्ने इमान्दार, स्वच्छ, स्वाभिमानी र आलोचनात्मक चेत भएका क्रान्तिकारी भन्ने मात्र होइन, क्रान्ति गर्ने शक्ति, व्यक्ति र समूहहरुसँगको एकीकरण र ध्रुवीकरणसँगै रणनीतिक र कार्यनीतिक क्रान्तिकारी मोर्चा निर्माण गर्ने कुरा गरिरहेछन् ।

उनीहरुको प्रथम जोड सिद्धान्तनिष्ठ कम्युनिस्ट क्रान्तिकारीहरु बिच व्यापक छलफल भै बुझाइमा र व्यवहारमा मूलतः समानता भएमा एकता नै गर्ने र बाँकी भिन्न मत बुझाइ भएकाहरुसँग पनि छलफल गर्दै, निष्कर्ष निकाल्दै निरन्तर एकीकरण र ध्रुवीकरण गर्दै जानेमा रहेको छ ।

वास्तवमा सच्चा भनिएका कम्युनिस्टहरुको एकीकरण र ध्रुवीकरणसँगै शुद्धीकरण, सर्वहाराकरण र क्रान्तिकारीकरण गर्नु जरुरी छ । क्रान्तिकारीकरण गर्ने भनेको क्रान्तिकारी सिद्धान्तलाई दस्तावेजीकरण र कोरा प्रशिक्षण मात्र होइन । क्रान्तिकारीकरण भनेको त सिद्धान्तको आत्मसातीकरण र त्यसको व्यवहारमा दृढतापूर्वक कार्यान्वयन हो । आज कम्युनिस्ट भनिएका पार्टीहरुमा मात्र होइन, लोकतान्त्रिक भनिने पार्टीहरुमा समेत तानाशाहीकरणको मात्रा र प्रकृया निरन्तर बढिरहेको छ ।

यो अवस्थामा गैरकम्युनिष्ट पार्टीहरुलाई समेत जनवादीकरण र कम्युनिस्ट पार्टीहरुलाई त झन् सामूहिकीकरण र कम्युनीकरण नै गर्नु अत्यावश्यक छ । अन्यथा कम्युनिस्ट पार्टीहरुको पनि बुर्जुवाकरण र प्रतिक्रियावादीकरण हुने खतरा छ । तसर्थ क्रान्तिकारीहरुको एकीकरण र ध्रुवीकरणका सन्दर्भमा यी विविध पक्षमा विशेष ध्यान दिनु जरुरी छ ।

एकीकरण र ध्रुवीकरण तत्काल हुन नसक्ने शक्ति र समूहहरुका बिचमा पनि एकीकरण हुने उद्देश्य राखेर तत्काललाई मुद्दा विशेषमा संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्यात्मक गठबन्धन बनाएर जानु आवश्यक छ । यसक्रममा एकले अर्काका विचार र बुझाइका साथै व्यवहारलाई समेत बुझ्ने, भावनात्मक एकता बढ्ने र प्राप्त सफलताबाट एकताको औचित्य पुष्टि भै उत्साह र प्रेरणा मिल्ने हुन्छ ।

त्यसैले गठबन्धन निर्माण र परिचालनको प्रश्नमा कम्युनिस्ट पार्टी र नेताहरुबाट हाल देखाइएको उदासीनता र संकीर्णतालाई पूरै खारेज गरेमात्र एकीकरणको उद्देश्यले गरिने गठबन्धन सार्थक र सफल हुन्छ भन्ने देखिन्छ ।

हुन त अन्तरविरोध सार्वभौम हुछ । त्यसो हुनाले अलग अलग वा विपरीत शक्ति, व्यक्ति र प्रवृत्तिहरुका बीचमा संघर्ष अनिवार्य र अपरिहार्य पनि हुन्छ । यसरी नै समाजमा समेत हुने र नहुने वर्गहरु भएको र पार्टी र मोर्चावा कुनै संघसंस्थाहरु समाजका विभिन्न समुदायहरुबाटै बनेका हुनाले पार्टी र मोर्चाहरुमा हुने र नहुने, शक्तिशाली र कमजोर जस्ता दुई विपरीत शक्ति, व्यक्ति र प्रवृत्तिबिचमा अन्तरविरोध हुनु स्वाभाविक हुन्छ ।

साथै न्याय, समानता, सम्मान, स्वतन्त्रता र समृद्धिको अभावले हरेक व्यक्ति–शक्ति, संघ–संस्था, समूह–समुदाय, समाज, राज्य र विश्व–ब्रह्माण्ड जताततै वादविवाद र संवादका अर्थात् एकता–संघर्ष र रुपान्तरण र नयाँ आधारमा नयाँ एकता गर्ने प्रकृयाहरु सल्बलाएका हुन्छन् । यति मात्र होइन, एउटै पार्टीमा पनि विभिन्न पृष्ठभूमि, परिवेश र स्कूलिङबाट आएका हुनाले पनि तिनले आआफ्ना क्षेत्र, स्वरुप र स्तरमा बहस सिर्जना गर्दै कतिपय बेला त बेदखली, वैमनस्य र विभाजन पनि बढाउँछन् ।

यस प्रकृयाबाट हाम्रो देस नेपाल, हामी नेपाली, हाम्रो राजनीति र हाम्रा नेता–कार्यकर्ताहरु अछुतो रहने त कुरै भएन, बरु अलि बढी नै प्रभावित भएर स्थिति पनि बढी नै संवेदनशील, गम्भीर र विष्फोटक भएको सत्य हो । आज नेपालजस्ता गरीब, पिछडिएका र शोषित–पीडित राष्ट्रहरु सामन्तवाद र साम्राज्यवादबाट उन्मुक्ति पाउने भीषण आन्दोलनको सन्दर्भसँगै मूल नेतृत्वको वैचारिक विचलन, राजनीतिक आत्मसमर्पण र साँस्कृतिक विकृतिकरणका कारण धोका र धक्का खाएर सिङ्गो देश र जनता जीवन र मरणको संघर्षका क्रममा छट्पटाइरहेको अवस्था छ ।

द्वन्द्वोत्तरकालीन संक्रमणको चरणबाट गुज्रीरहेका हाम्रो जस्ता राष्ट्रहरुमा कुनै पनि पार्टी वा नेताको, राज्य वा शासकको अथवा समाज वा अगुवाको देश र जनतालाई परिवर्तन र अग्रगमनको प्रकृयामा लाने कुनै निश्चित लक्ष–उद्देश्य वा स्पष्ट मिसन–भिजन र जिम्मेवारी बोध–बहन भएको पाइएन । जे जति र जस्तो भएको मानेपनि त्यसप्रति उनीहरु पूर्ण इमान्दार र प्रयत्नशील नभएका कारणले नै आज नेपालको यस्तो दर्दनाक, संवेदनशील, गम्भीर र विष्फोटक अवस्था बन्न गएको हो ।

जे होस्, कुनै वस्तु, व्यक्ति, विधि, विधान, व्यवस्था, विचार र विश्व नै अत्यन्त संवेदनशील, गम्भीर र विष्फोटक अवस्थामा पुग्ने कुरा एक प्रकारले राम्रो हो भने अर्को प्रकारले नराम्रो पनि । यदी यो विष्फोटबाट विद्रोह हुन्छ र क्रान्तिको जन्म हुन्छ अनि जनता र राष्ट्र स्वतन्त्र र स्वाधीन भै विकसित र समृद्ध बन्छन् भने त्यो सकारात्मक र स्वागतयोग्य विष्फोट हो । यसरी नै कुनै विष्फोटबाट प्रतिक्रान्ति र प्रतिगमन भै देश र जनतामाथि दमन र दासताको प्रक्रियामा तीव्रता र गुणात्मकता आउँछ भने त्यो नितान्त नकारात्मक र निषेधयोग्य विष्फोट हो ।

हुन त जुन कुरा कुनै एक वर्ग वा पक्षलाई नराम्रो, खराब र विकर्षक लाग्छ, त्यही कुरा कुनै अर्को वर्ग वा पक्षलाई राम्रो, असल र आकर्षक लाग्ने गर्दछ । यो कुरा सम्बन्धित व्यक्ति, वर्ग वा पक्षको सिद्धान्त, सोंच, शैली, संस्कार र संस्कृतिमा भर पर्दछ । फेरिपनि के कुरा त्यत्तिकै सत्य, अनिवार्य र अपरिहार्य छ भने अन्ततः त्यो प्रतिक्रान्ति र प्रतिगमनका कारण जनतामा उत्पन्न आम असन्तुष्टि, आक्रोश र आक्रमणबाट वा विरोध, अवरोध र प्रतिरोधबाट निश्चित रुपमा पुनः क्रान्ति, झन् ठूलो क्रान्ति र महाक्रान्ति हुँदै विश्व क्रान्तिसम्म पुग्ने हुन्छ ।

त्यसैले अहिले नेपालमा चलिरहेको क्रान्तिकारी एकता, ध्रुवीकरण र गठबन्धनको चर्चा र प्रयासलाई सफल पार्नु र सार्थक निष्कर्षमा पुराउनु नै पर्दछ । यो अहिले इतिहासले सच्चा क्रान्तिकारीहरुलाई सुम्पेको ऐतिहासिक जिम्मेवारी हो । नेपाली क्रान्तिकारी कम्युनिस्टहरुले यस्लाई तीव्रता र तदारुकताका साथ अविलम्ब सम्पन्न गर्नु जरुरी छ ।