• मंसिर ९ २०८१, आईतवार

दक्षिण कोरियामा चुनिए नयाँ राष्ट्रपति

फाल्गुन २६ २०७८, बिहीबार

काठमाडौं । दक्षिण कोरियामा बिहीबार नयाँ राष्ट्रपति चुनिएका छन् । बुधबार भएको राष्ट्रपतीय चुनावको अन्तिम मत परिणाम अनुसार सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङ्गलाई झिनो मतान्तरले हराएर पिपल पावर पार्टीका युन सुक यओल निर्वाचित भएका हुन् ।

योनहाप न्युज एजेन्सीका अनुसार यओलले ४८.५६ प्रतिशत मत ल्याए भने म्योङ्गले ४७.८३ प्रतिशत मत ल्याए ।

६१ वर्षीय यओलको पार्टीले कन्जरभेटिभ विचारधारामा विश्वास गर्छ । कानुनी पृष्ठभूमिका यओल दक्षिण कोरियाका पूर्वमहान्यायाधिवक्ता हुन् ।

उनले राष्ट्रिय एकतालाई आफूले प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताए । वर्तमान राष्ट्रपति मुन जाइ इनको कार्यकाल आगामी मेमा सकिएपछि यओलले कार्यभार सम्हाल्नेछन् ।

मुनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग संवादलाई बढाएका थिए । पछिल्लो समय क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिइरहेको उत्तरसँग आफूले राष्ट्रपति मुनको भन्दा फरक नीति लिने यओलले बताए ।