काठमाडौँ। राजधानीको दहचोकमा एकघरको कुखुराको खोरमा चितुवा पासोमा परेको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका ०३ मा रहेको बलबहादुर बुढामगरले भाडामा लिएर तरकारी खेती गरिरहेको स्थानमा चितुवा पासोमा परेको हो।
तरकारी खेती गरिएको टहराको छेउमा सानो कुखुराको खोरमा वन बिरालोलाई थापेको पासोमा चितुवा परेको बल बहादुरले बताए। उनले भने, ‘ तरकारीको टहराको छेउमा कुखुराको सानो खोर रहेको छ, वन बिरालोले दुइवटा कुखुरा खाइदिएपछि हिजो बेलुकी पासो थापेको थिए, वन बिरालोलाई थापेको पासो चितुवा पो परेछ।’
कुखुराको खोरको बाहिरपट्टी प्वालमा थापेको पासोमा चितुवा परेको बलबहादुर ले गएराती मध्यरात १२ बजे नै थाहा पाएका हुन्। पासोमा चितुवा परेको देखेर उनले प्रहरीलाई खबर गरेका थिए। कुखुराको खोरमा प्रवेश गर्नुभन्दा पहिले नै चितुवा पासोमा परेकोले कुखुरा खान नपाएको बलबहादुरले जानकारी दिए।
नेपाल प्रहरी र वन कार्यालयको समुहले बिहान ९ बजेतिर चितुवालाई बेहोस बनाएर उद्धार गरिसकेको छ। करिव १० घण्टासम्म पासोमा अल्झिएको चितुता उद्धार गरेर सदर चिडियाखाना पठाइएको बलम्बु प्रहरीले बताएको छ।