• मंसिर ११ २०८१, मंगलवार

यसरी मनाइयो काठमाडौंमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस

फाल्गुन २४ २०७८, मंगलवार

काठमाडौँ । मंगलबार नेपाली मिति अनुसार फागुन २४ गते अर्थात् इस्वी संवत अनुसार मार्च ८ तारिखका दिन संसारभरि अन्तरराष्ट्रिय श्रमिक महिला दिवस भनेर मनाइयो ।

यस वर्षको श्रमिक महिला दिवसलाई ‘सामाजिक न्याय र लैंगिक समानता, दीगो विकासको सुनिश्चिता’ भन्ने नाराका साथ मनाइयो । देश तथा विदेश जताततै यो दिवसलाई भव्य रुपमा मनाइएको छ । नेपालमा विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाएका छन् ।

यसै सिलसिलामा मार्च ८ को अवसर पारेर ६ वटा क्रान्तिकारी कम्युनिष्ट पार्टी र दुईवटा मोर्चा निकटका महिला संघहरुले राजधानी काठमाडौँमा एक सार्वजनिक सभा गरेर सो दिवस मनाएका छन् ।

राजधानीको शान्तिबाटीकामा जम्मा भएका ती पार्टी र मोर्चा निकटका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुले शान्तिबाटीकाबाट जुलुश प्रदर्शन गर्दै भद्रकाली शहीदगेट, सुन्धाराहुँदै फेरि शान्तिबाटीकामै आएर सभा गरेका थिए ।

सो सभालाई सम्बोधन गर्दै देशभक्त जनवादी मोर्चाका केन्द्रिय महासचिव परि थापाले महिलाहरु धार्मिक, सांस्कृतिक, राजनैतिक, सामाजिक र आर्थिक रुपमा थिचोमिचोमा परेको बताए ।

सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले नेपालमा रहेको अहिलेको राज्य व्यवस्था प्रतिक्रियावादी भएकोले सत्ता संचालन गर्ने दलहरु नै विदेशीको दलाल भएको उल्लेख गर्दै यस्तो व्यवस्थामा महिलाहरुले कहिल्यै अधिकार पाउन नसक्ने उनले बताए ।

उनले महिला अधिकार तथा महिला आन्दोलनको ऐतिहासिक पक्षको व्याख्या गर्दै आजको महिला दिवस मूलरुपमा श्रमिक महिला दिवस भएको भएपनि सामन्ती महिलाहरुले पनि यो दिवस मनाउने गरेको उनले बताए । राज्यको नीति निर्माण गर्ने ठाउँमा मात्रै होइन सो नीतिको कार्यान्वयनमा पनि महिला नै हुनुपर्ने धारणा उनले व्यक्त गरे ।

आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य उमा भुजेलले ११२ वर्षसम्म संसारमा महिला अधिकारका कुराहरु सुन्दा सुन्दा कानै थाकिसकेको भएपनि अझै महिलाहरुले समानता प्राप्त गर्न नसकेको बताइन् ।

११२ वर्ष पहिले महिला अधिकारको जति सान्दर्भिकता थियो सो कुरा अहिले पनि उतिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले विगतको जनयुद्धले राज्यमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भएपनि त्यो पूर्ण नरहेको बताइन् ।

एक अर्को प्रसंगमा नेतृ भुजेलले एमसीसी पास गरेर नेपालको संसदबाट देश बेचिएको धारणा व्यक्त गरिन् । नेपालमा रहेको सरकार र राज्य व्यवस्था जनता र राष्ट्रको हितमा नभएको हुनाले जनताको समाजवादी राज्य व्यवस्थाले मात्रै जनता र राष्ट्रको हितमा काम गर्न सक्ने र त्यै राज्य व्यवस्थाले मात्रै महिलालाई पूर्ण अधिकार प्रदान गर्ने समेत उनले बताइन् ।

कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले नेपालको संसदबाट एमसीसी पास गरेर देशको हित विपरितको कार्य भएको बताइन् । देशै नरहे महिलाले अधिकार माग्ने ठाउँ पनि नरहने भन्दै अब आउने निर्वाचनबाट जनताले राष्ट्रघातीहरुलाई हराउनु पर्ने धारणा उनले व्यक्त गरिन् ।

कार्यक्रममा वैज्ञानिक समाजवादी महिला संगठनकी अध्यक्ष धनकुमारी सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष धनकुमारी मगर, अखिल नेपाल महिला युनियनकी सीता सुवेदी र शारदा श्रेष्ठ लगायतकी महिला नेतृहरुले सम्बोधन गरेकी थिइन् ।

अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सो सभा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्ष बन्धु चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन अम्बिका मुडभरीले गरेकी थिइन् ।

ऋतु केसीले स्वागत मन्तव्य दिएको सो सभामा सामाना सांस्कृतिक परिवारका महिला कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिएभने विष्णु न्यौपाने, प्रजिना दर्नाल, शोभा दुलाल, फूलमती, यात्री बोगटी, सुशिला बन्जाडे र भोला बराल लगायत कवि तथा कवयित्रीहरुले नारीवादी कविता प्रस्तुत गरेका थिए ।