• असार २५ २०८१, सोमबार

रोटरी क्लबको पहलमा स्वर्गद्धारीमा पिउने पानीको उपकरण जडान

फाल्गुन २४ २०७८, मंगलवार

घोराही, २४ फागुन ।
प्युठानमा अवस्थित स्वर्गद्धारी मन्दिरमा एक दिनमा पाँच हजार जनालाई शुद्ध पिउने पानी उपलब्ध गराउने क्षमताका आधुनिक फिल्टर जडान गरिएको छ ।

दुईलाख लगानीमा ती उपकरण जोडिएको रोटरी क्लब अफ दाङका अध्यक्ष रजिब उल्लाह खानले जानकारी दिए ।

केही समयअघि रोटरी क्लब अफ दाङका पूर्वअध्यक्ष संकल्प श्रेष्ठ परिवार सहित स्वर्गद्धारी मन्दिर प्युठान जानुभयो । रातको बास उतै भयो । स्वर्गद्वारीमै एक रात बिताएका श्रेष्ठ परिवारलाई त्यहाँको पानी निल्नै मुस्किल परेछ । यसरी पानी पिउन नसक्नुभएका श्रेष्ठले यो ठाउँमा पिउने राम्रो पानीका लागि केहि त गरौं भन्ने प्रस्ताव ल्याएको अध्यक्ष खानको भनाई छ ।

त्यसपछि सहयोग र समन्वयको कामलाई क्लबले तिब्रता दियो । त्यस कार्यक्रमका लागि रोटरीयन डा. सञ्जीव पण्डितलाई जिम्मा दिइयो । उहाँहरुको सकृयताका कारण सहयोग र समर्थन जुट्न थाल्यो ।

प्लान्ट स्थापना गर्ने ठाउँको छनौट, निर्माण कार्य र सामग्री लैजाने लगायतका काममा मिनराज भाट लगायत खट्नुभयो । मन्दिर व्यवस्थापन समितिले फिल्टर राख्ने अनुमति र स्थान दियो ।

मन्दिर परिसरमा शुद्ध पिउने पानीका लागि प्लान्ट निर्माण गरिएको छ । अब भने बजारमा मेसिनको फिल्टर पानी पिउने बानी बसेकालाई सजिलो भएको छ । सुरक्षित पिउने पानीको व्यवस्थाले निर्धक्क बनाएको छ । उक्त तिर्थस्थलमा जाने भक्तजनलाई सेवा दिन प्लान्ट स्थापना गरिएको खानले बताउनुभयो ।

अब तिर्थयात्रीले प्लान्टबाट फिल्टर भएको शुद्ध पानी पिउने छन् । सिधै खोलाबाट आएको अशुद्ध पानी पिउनुपर्ने छैन । यसलाई पुण्यकार्य सम्झिइ विभिन्न व्यक्तिले सहयोग गर्नुभएको अध्यक्ष खानले बताउनुभयो । उपकरणमा समस्या आएका खण्डमा मरमत गर्नुपर्ने काम पनि क्लबले गर्ने अध्यक्ष खानको भनाई छ ।

स्वर्गद्धारी महाप्रभु मन्दिरका गुरु ध्यानन्द गिरीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गरी उपकरण हस्तान्तरण गरिएको थियो ।