आज मार्च ८, दिगो विकासका लागि लैंगिक समानता भन्दै संसारभरि अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ भने हाम्रो राष्ट्रिय नारा भने सामाजिक न्याय र लैंगिक समानता भन्ने रहेको छ । यसै सन्दर्भमा छोटो चर्चा गर्ने यो लेखको अभिप्राय रहेको छ ।
पृष्ठभूमि र पूर्वीय मान्यता
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता । यो भनाइ मनुस्मृतिकोे हो । अर्थात् जहाँ नारीको पूजा भनौं सम्मान हुन्छ त्यहाँ देवताहरु खुशी रह्न्छन्, न अरि नारी ! अर्थात् जसले कसैप्रति वैरभाव, शत्रुता गर्दैन र जसको कोही शत्रु हुँदैन उसको नाम नारी हो ! पुरुष दिवस मनाउने परम्परा अहिलेसम्म कतै छैन तर नारीको सम्मान गर्ने पर्व नारी दिवसलाई संसारले चिनेको छ । सिर्जनाकी स्रोत नारी पृथ्वी हुन्, स्तुत्या छिन्, वन्दनिया र पूजनीया पनि । पूर्वीय दर्शनमा नारीलाई धरणी, धर्ती र माताको रुपमा स्वीकार गरिएको छ ।
पूजा, वन्दना, आराधनामा सर्वप्रथम “त्वमेव माता” भनी सम्बोधन गरिन्छ । त्यस्तै औपचारिक सम्बोधनमा पहिले लेडिज् एण्ड.. । बच्चाको पहिलो खानामा आमा, भान्साको कुशल व्यवस्थापनमा नारी, पतिको सेवा सुश्रुषामा पहिलो प्राथमिकता, पुत्र, पुत्री स्नेहमा पहिलो वात्सल्यता, दिएर मात्रै आफू अघाउने मातृवत्सला देवी स्वरुपिणी नारीको जति स्तुति गरे पनि कम हुन्छ ।
नारीलाई भोग्या, बजारकी खेलौना, सौन्दर्य र कामुकताको व्यापारमा राख्ने आधुनिक शैलीलाई पूर्वीय वाङ्गमयका धरोहरहरुले चोटिलो प्रहार गरेका छन् । नर संहारकारी रावण, कंश, दुस्शासन जस्ता दुष्टहरुलाई क्षणभरमै सिध्याउन सक्ने नारीमा दैवी सत्ता हुन्छ जसलाई ठाडो नजरले कुनै दुष्टले आँखा लाउन सक्तैन ।
महिषासुर, चण्ड, मुण्ड, रक्तबिजदेखि तमाम असत्यको विनाश गर्ने स्त्री नारी नै हुन्–द्रौपदी, सीता, अहिल्या, अरुन्धती यशोदा, देवकी, कुन्ती सबै नारी पात्र हुन् जसले पौराणिक साहित्यमा अनुपम उदाहरण पेश गरेका छन् । सृष्टिकर्ता ब्रह्माजी, पालनकर्ता श्रीविष्णु र संहारकर्ता श्रीशिव सबै नारीका उपासक थिए र नारीबाटै शक्ति एवं सामथ्र्य पाएर नै आफ्नो कार्य कुशलतापूर्वक सम्पन्न गरेका थिए । किल्लाको रक्षक नारीलाई सीमानाको रक्षक दुर्ग अर्थात् “दुर्गा” को रुपमा चिनिन्छ ।
भय, त्रास, सन्त्रास, दूर्भिक्ष रोक्ने नारी पतिव्रता धर्म पालन गर्ने नारीमा वायुको गति रोक्ने सामथ्र्य हुन्छ । वासनापूर्तिको रुपमा ग्रहण गर्न लागेको रावणको विध्वंश गर्ने नारी सीता कंसको काल वनेर विन्ध्यवासिनीको रुपमा आएकी हुन्, उनी परेका वखत “रणचण्डिका” पनि हुन्छिन् । ब्राह्मी, बाराही, बंगलामुखी, त्रिपुरादेवी, इन्द्राक्षी, वैष्णवी, कौमारी, माहेश्वरी आदि नामले चिनिने नारी भोगवती र रुपमती मात्रै होइन मायावती पनि हुन् ।
जुन घरमा नारीको सम्मान हुन्न, जुन समूहमा नारीको आदर हुन्न, जुन मन्दिरमा देवीको प्रसाद हुन्न–कुनै दृष्टिले पनि त्यसले सार्थकता पाउँदैन । कुलधर्मकी रक्षिका कुलदेवी नारी कन्या हुन् । पूजा गरिइन्छिन्, वधु हुन्, कुलवधु हुन्छिन्, आमा हुन्छिन् र सम्मानित सासुसमेत । पूर्वीयदर्शन, हिन्दुपरम्पराले देखाएको नारी सम्मान सायदै अन्य संस्कृति, धर्मदर्शनले देखाएको होला । आद्यगुरु शङ्कराचार्य त्रिपुरादेवीका उपासक थिए । धर्मराज युधिष्ठिर दुर्गाका उपासक थिए ।
सर्वेश्वर श्रीकृष्ण हराएका वखत उनको प्राप्तिका लागि वावु वसुदेवले देवीकै उपासना गरेका थिए । स्वामी रामकृष्ण परमहंस देवी कालीका उपासक थिए । स्वामी विवेकानन्द देवी नारीका उपासक थिए । जगत् संचालक नारयणकी प्रिया देवी नारीको नाम नारायणी हो । पृथ्वीमा रहेका सम्पूर्ण नदी तीर्थ क्षेत्रलाई देवी संरक्षिकाको रुपमा हेर्ने गरिन्छ । शिवकी शक्ति उमा ब्रह्माकी शक्ति सरस्वती नारी नै हुन् । दुर्गा, सुभद्रा शाम्भवीदेखि रोहिणी भद्रा, जया, विजया सवै नारी नाम हुन् ।
दिवसको कुरो र हाम्रो परिवेश
मार्च ८ अन्तर्राष्टिृय नारी दिवस, नारी आन्दोलको झल्को दिने दिन, नारी अधिकारको खोजीको दिन र अन्तराष्ट्रियस्तरमै ध्यानाकर्षण गर्ने उद्धेश्यले सगरमाथाको आधार शिविरमा यसपालि महिला दिवस मनाइँदै छ र यसका लागि काठमाडौँदेखि कालापत्थरसम्म पदयात्रा पनि शुरु भइसकेको छ । जलवायु परिवर्तन र महिला न्यायका लागि यसो गरिएको भनिएको छ । नेपालको संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशतको सुनिश्चित गरेको छ ।
अर्थात् संघीय एवं प्रदेश संसदमा एक तिहाईको परिकल्पना गरेको छ । ठूला पद राष्ट्रपति, प्रधान न्यायाधीशसम्म महिला भएकै हुन् । स्थानीय तहमा झण्डै ४१ प्रतिशत महिलाहरु नै छन् । पार्टीहरुले पालिकाहरुका लागि प्रमुख वा उप प्रमुखको उम्मेदवारी दिँदा १ महिला नै हुनुपर्ने प्रावधान छ ।
निजामती सेवाको ४५ प्रतिशत आरक्षणामा ३३ प्रतिशत महिलाकै लागि छुट्याइएको छ । स्थानीय तहमा संख्यात्मक परिमाण उच्च छ नारीहरुको । तर सार्थक र नेतृत्वदायी परिमाण कम भनिएको छ । ७५३ मा १८ वटा स्थानीय पालिकामा महिला प्रमुख छन् । ६ हजार ७४३ मध्ये ६२ वडामा महिला वडा अध्यक्ष छन् ।
एक सर्भेक्षणले सातै प्रदेशको २० पालिकाको अध्ययन गर्दा मुस्लिम १ प्रतिशत, मधेशी ब्राह्मण, क्षेत्री १, मधेशी जनजाती ६, मधेशी दलित ८, अन्य मधेशी १, पहाडी ब्राह्मणक्षेत्री २७, पहाडी जनजाती १७, पहाडी दलित ३८ प्रतिशतको प्रतिनिधित्व भएको बताएको छ ।
अझ भन्नु पर्दा संसारभरिमा महिला प्रतिनिधित्व हामीकहाँ अग्रणी स्थानमा छ । प्रजातन्त्रको जननी देश बेलायत, अमेरिका, विकसित देश अष्ट्रेलिया, स्वीट्जरलैण्ड, जर्मनी, क्यानडा, नेदरलैण्डकै तुलना गर्दा पनि नेपालका नारीहरुले जनप्रतिनिधित्वका दृष्टिले अग्रणी स्थान ओगटेका छन् ।
विश्वको १९२ देशको पछिल्लोे तथ्यांक अनुसार महिलाको प्रतिनिधित्वकै हिसावले नेपाल ३७ औँ स्थानमा छ । देशको संविधानले लैंगिक भेदभाव नगर्ने भन्दै समान वंशीहरु, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धित हकको व्यवस्था, राज्यमा सबै निकायमा समानुपातिक, समावेशी सिद्धान्तका आधारमा जाति, धर्म, लिंगमा कुनै भेदभाव नगर्ने भनेको छ । अन्य नियम प्रावधानहरु पनि धेरै छन् ।
घरेलु हिंसा, कसुर र सजाय ऐन २०६६, त्यसको नियमावली २०६७, कार्यस्थलमा हुने यौनजन्य दूव्र्यवहार निवारण ऐन २०७१, बोक्सी आरोप कसूर सजाय ऐन २०७२, लैंगिक हिंसा कोष सञ्चालन नियमावली २०६७, एकल महिला कोष सञ्चालन मापदण्ड २०७१, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण आचार संहिता २०७४, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ र त्यसको नियमावली २०६५ आदि ऐन नियमहरु कार्यान्वयनमा छन् । निजामती सेवामा पनि हाल उल्लेखनीय महिला प्रतिनिधित्व भएको छ, प्रशासन हाँक्ने प्रमुखहरु महिला निकैजना भइसकेको अवस्था छ ।
र अन्त्यमा
नारीको वकालत गर्नेहरुबाटै नारीको सम्मान र नभएको पाइएको छ । नारीमा भएको शक्तिको पहिचान हुन बाँकी नै छ । संसार हाँक्ने नारी मुलुकका राष्ट्रपतिदेखि कार्यकारी प्रमुख प्रधानमन्त्रीसम्म राष्ट्रपति सम्म पनि बनेका छन् । नारीलाई अवसरको आवश्यकता छ, उनीहरु आफै योग्य छन्, हिजोआज सूचना, संचार, आर्थिक क्षेत्र, औद्योगिक कल कारखाना, सेना, प्रहरी, क्षेत्रमा पनि नारी सहभागिताबाट उनीहरुको सामथ्र्य कम छैन भन्ने पुष्टि भएको छ ।
नारी अस्मिताको रक्षा नारीबाट र पुरुषजातिले उनीहरुको सम्मान गर्न सके समाज सुधारका संभावना बढ्छन् । तर पनि हामीकहाँ महिलाको स्थान साह्रै उच्च छ भन्ने चाहिँ होइन । बोक्सी भनी सताइने, कम दाइजो भनी सताइने, छाउपडीको सकस, लगभग १ दिनमा ६ जनासम्म बलात्कृत हुने अवस्था, महिलाकै कारण सभामुख पदको धराप यी यस्ता घटना हामीकहाँ बग्रेल्ती छन् । आज देशमा धर्म हराएको छ ।
बालिकाहरु बलात्कारमा परेका छन् । निर्मला पन्तको घटना, बझाङकी सम्झनाको मुद्दा, बर्दिया राजापुरकी १९ वर्षीय किशोरीको मुद्दा, भरखरैको दमौलीको एक वर्षपछिको उजुरी धेरै छन् हामी कहाँ । प्रहरी भन्छ दिनमै ६.७ जना छोरी, बहिनीहरु बलात्कारको शिकार भएका छन् । समस्या थपिएपछि मात्र घटना बाहिर आउने हुन्, नभए घरभित्रै सेलाउँछन् । प्रहरीको सूचनामा आएका मुद्दाहरु आ.व ०७५/०७६ मा २ हजार ५ सय ७० जना, आ.व ०७६/०७७ मा २ हजार ४ सय ४९ जना बलात्कारमा परेका थिए ।
किशोरीहरुलाई यौन पिपासुहरुले आँखा लाउने गर्छन् । दिदी, बहिनी आप्mनै हाड नातामा करणीमा पर्ने गरेका छन्, बाबु, काका, दाजु, मामा, ससुरा, छिमेकी, नचिनेका व्यक्ति, पारपाचुके भइसकेका श्रीमान्, घर मालिक, शिक्षक, केटा साथी, आप्mनै भिनाजुबाट पनि संरक्षित नभएको स्पष्ट छ । कुरा मिलुन्जेल केही नभन्ने, कुरा बाहिर फुस्केमा घटना बाहिर आउने गरेको पाइन्छ । धर्म र दर्शनले यौन बारे सिमा तोकेको छ, तर अहिले धर्म र दर्शन, सामाजिक मूल्य मान्यतालाई गिजोलिएको छ, नारी आफू खुल्ला भइदिने र पुरुषलाई दोष दिने राम्रो होइन, किन कि आफूले मन नदिँदा कसैले आँखा लाउन सक्दैन ।