• मंसिर ११ २०८१, मंगलवार

महिला राष्ट्रपति भएको देशका महिला नै काम खोज्न संसार चाहार्नु पर्ने !

फाल्गुन २४ २०७८, मंगलवार

महिला र पुरुषका बिचको सम्बन्धको सवाल आज निकै बहसको विषय बनेको छ । जब पुरुषको सवालको कुरा आउँछ भने त्यो सँगै जोडिएको महिलाको सवाल पनि आउनु स्वभाविकै हो । महिला र परुषको जीवन नै आपसमा जोडिएको छ भने हरेक कुरामा यी दुवैको जीवनमा पनि बहस हुनुलाई अन्यथा मानिनु हुँदैन । योसँगै महिलाको अधिकारको कुरा पनि जोडिएर आउँछ ।

महिलाहरुमाथि लामो समयदेखि समाज र खासगरी पुरुषले अन्याय गर्ने गरेका कारण उनीहरुलाई अन्याय नहुनु पर्ने र हालसम्म भएका थिचोमिचोको क्षतिपूर्तीका लागि केही समयसम्म राज्यले विशेष अधिकार दिनु पर्ने मागहरु उठिरहेका छन् र केही मात्रामा ती मागहरु पूरा हुँदै गइरहेको अवस्था पनि हो तर पूरा भइसकेको भने होइन ।

नेपालकै अवस्था हेर्दा पनि १०० वर्षअघि भन्दा आजका महिलाहरु शिक्षित र आफ्नो खुट्टामा उभिनसक्ने भएका छन् तर सबै भने होइन । पूरै अधिकार पाइसकेको भए आन्दोलनको आवश्यकता पर्ने थिएन । किन कि संसारमा अधिकारका लागि आज पनि आन्दोलनहरु चलिरहेका छन् ।

हिजो श्रीमानको, मालिकको र सिंगो सामाजिक परिपाटीकै दास बनाइएका महिलाहरु आज यस्ता जंजीरहरुबाट केहीहदसम्म मुक्त भएका छन् र शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता कुराहरुमा उनीहरु आत्मनिर्भर बन्दै गइरहेका छन् तर  पूराका पूरा भने होइनन् । यस अर्थमा नारी दिवस मनाइनुको अर्थ अझै पनि छ भन्ने नै हुन्छ । यो दिवस नेपालमा मात्रै होइन, संसारका धेरै देशहरुमा मनाइने भएकोले यसको महत्व ठूलो छ भन्ने बुझ्नु जरुरी छ ।

आज अर्थात् मार्च ८ तारिख । संसारभर आजको दिनमा नारी दिवस मनाइन्छ । यो दिवसलाई नारी दिवस मात्रै भनेर यसको महत्व सिमित गरिनु हुँदैन । किन कि यो अन्तराष्ट्रिय मान्यता पाइसकेको दिवस भएकोले यसलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस भनेर भनिनु पर्छ र लेखिनु पर्छ । खासगरी आज पनि संसारमा नारी दिवस २ किसिमबाट मनाउने गरेको पाइन्छ ।

एकखाले महिलाहरु अधिकार पाइसकेको खुशियालीमा रमाइलो गरेर मनाउँछन् भने अर्काथरी महिलाहरु अधिकार पाउन नसकेको र अधिकार पाउनका लागि संघर्ष र आन्दोलनका रुपमा मनाउने गर्दछन् । आज नेपालमा पछिल्लो तरिकाले नारी दिवस मनाउने क्रम जारी नै छ ।

किन कि यहाँ गणतन्त्र व्यवस्था आयो, अब सबै पुगयो भन्ने अवस्था नभएकोले पाएको अधिकार सुरक्षित गर्न तथा थप अधिकारका लागि आन्दोलन गर्नैपर्ने अवस्था छ । किन कि आन्दोलन गरेर अलि चर्को स्वरमा नकराउँदासम्म राज्यले सुन्दैन । नसुन्ने मात्रै होइन अधिकारका लागि गरिएका आन्दोलनहरुलाई प्रहरी लगाएर दमन पनि गर्ने गरेको छ । यसै सन्दर्भमा यो सानो लेखमार्फत् केही आफ्ना धारणा राख्न खोजिएको हो ।

अन्तरराष्ट्रिय नारी दिवस मनाइनुको अर्थ महिलाहरुमा हिजो भन्दा आज र भोली पनि चेतना र जागरूकता आवस् वा पैदा गर्न सकियोस् भनेर नै यो दिवस मनाउन थालिएको हो । उसो भए नारी दिवस भनेको के हो र किन मनाउन थालिएको हो भन्ने बारेमा पनि थोरै जानकारी राखौं ।

यो दिवस ८ मार्चमा विश्वभरी नै मनाउने गरिन्छ । यसको इतिहास हेर्दा नारी दिवस सबभन्दा पहिला सन् १९०९ फेब्रुअरी २८ मा मनाइएको पाइन्छ । सन् १९१० मा महिलाले पनि निर्वाचनमा मत हाल्ने अधिकार दिने उद्देश्यले यसलाई अन्तरराष्ट्रिय मान्यता दिइएको पाइन्छ । सन् २०२२ सम्म आउँदा संसारभर ११२औँ अन्तरराष्ट्रिय नारी दिवस मनाएको छ ।

‘सामाजिक न्याय र लैंगिक समानता, दीगो विकासको सुनिश्चता’ भन्ने मूल नारा सहित यस वर्षको नारी दिवस मनाइँदै छ । सुरुमा महिलाहरूलाई पनि भोट हाल्ने अधिकार दिलाउनका लागि आन्दोलन चलेका थिए । मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालेको एक शताब्दीभन्दा धेरै भइसकेको छ ।

बीसौं शताब्दीको पहिलो दशकमा सक्रिय समाजवादी आन्दोलनले अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवधारणा जन्माएको थियो । महिलाहरूको सामाजिक योगदानप्रति सम्मान गर्न र कामदार महिलाका मागलाई लिएर थालनी भएका आन्दोलनलाई अझ उचाइमा पुर्याउन जर्मनको सामाजिक प्रजातान्त्रिक पार्टीको महिला विभाग प्रमुख क्लारा जेटकिनले अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् ।

श्रमिक महिला दिवसको अवसर पारेर मजदुर संगठनभित्र महिलाहरू, महिला संगठनहरू र समाजवादी पार्टीहरूबीच एकता र सहकार्य विस्तार गर्न सकिने र त्यही शक्तिले प्रगतिशील समाज निर्माणका लागि वर्ग संघर्षलाई अघि बढाउन सकिने तत्कालीन नेतृत्वको विश्वास थियो ।

सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको श्रमिक महिलाहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनले श्रमिक महिला दिवस मनाउने प्रस्ताव एक मतले पारित गर्यो । तर, सो सम्मेलनबाट कुन दिन मनाउने भनी दिन भने किटान गरेको थिएन । कोपनहेगन सम्मेलनमा १७ देशका १ सयभन्दा बढी महिला प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

उनीहरू विभिन्न मजदुर संगठन, समाजवादी पार्टी, श्रमिक महिला क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी बनेका थिए । सन् १९११ को मार्च १७ का दिन युरोपका केही देशहरू अस्ट्रिया, डेनमार्क र स्विजरल्यान्डले पहिलो पटक अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो । सो अवसरमा आयोजित र्यालीमा दसौं लाख मानिस सहभागी थिए । र्यालीमा सहभागी बन्नेहरूमा महिलामात्र थिएनन्, कामदार वर्गका पुरुष पनि थिए ।

महिलाले काम गर्न पाउने अधिकार, समान ज्याला, मताधिकार, सार्वजनिक पद धारण गर्न पाउने अधिकार र सबैथरीका पक्षपात अन्त्य गर्न उनीहरूले माग गरेका थिए । रुसी क्रान्तिकारी अलेक्सान्द्र कोलोन्ताईले महिला दिवसको अवसरमा आयोजित एक जुलुसको व्याख्या गर्दै भनेकी थिइन्, ‘खँदिलो आक्रोशले भरिएको महिलाहरूको हिलहिलाउँदो समुद्र ।

त्यतिबेला उठेका माग आजपनि संसारका सबै देशमा भएका महिला आन्दोलनमा पनि त्यतिकै जायज छन् । उता अमेरिकामा सन् १९०८ को ८ मार्चमा समाजवादी महिला र कपडा कारखानामा काम गर्ने महिला मजदुरले ८ घन्टा कार्यदिनको माग गर्दै ठूलो प्रदर्शन र सभा आयोजना गरियो ।

उनीहरूले महिला माथिको दासताको पनि विरोध गरे । सन् १९११ मा युरोपका विभिन्न देशमा पहिलो पटक अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाएको १ साता पनि नबित्दै मार्च २५ मा अमेरिकाको न्युयोर्क सहरमा आगलागी हुँदा १ सय ४० भन्दा बढी महिला मजदुरको मृत्यु भयो ।

तीमध्ये अधिकांश महिला केही समयअघि मात्र अमेरिकामा आएका आप्रवासी महिला मजदुर थिए । सो घटनाले अमेरिका र अन्य विकसित देशमा महिला मजदुरको काम गर्ने भयावह अवस्था अझ प्रकाशमा ल्याइदियो । त्यसपछिका वर्षमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उठेका मागको सान्दर्भिकता अझै चुलियो ।

नेपालको सन्दर्भ :

महिला अधिकारका लागि विश्वभर नै आन्दोलन चलिरहेका बेला त्यसको प्रभाव नेपालमा पनि पर्नु स्वभाविकै थियो । यसकै फलस्वरुप जहानीयाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउनका लागि गरिएको आन्दोलनमा पनि महिलाको सहभागिता थियो । राणा शासनका बेला महिलाले पढ्ने, लेख्ने मात्र होइन, पुरुषलाई ठाडो नजरले हेर्न पनि पाउँदैनथे ।

श्रीमानको मृत्यु भएपछि श्रीमती सति जाने प्रथा पनि राणा शासनको समयसम्म थियो । ठूलो दबावका कारण यस्ता अमानवीय कामलाई राणाहरुकै पालामा हटाइएको थियो । प्रजातन्त्र आएपछि पनि महिलाहरुलाई पढाउने र लेखाउने काममा खासै ध्यान दिइएको पाइएन ।

शिक्षाको विकासको कमी रहेको अवस्था पुरुषले नै पढ्न नपाएको अवस्थामा महिलाले पढ्न पाउने त कुरै भएन । २०४६ सालपछि केही मात्रामा महिलाले पनि पढ्न थालेको इतिहास छ । ४६ सालमा प्रजातन्त्र स्थापना गर्ने आन्दोलनमा महिलाले पनि राम्रो भूमिका निएका थिए ।

अहिले पनि हाम्रो घरमा आमाहरु अनपढ हुनुहुन्छ भने दिदीहरु केही साक्षर हुनुहुन्छ । हाम्रो पालासम्म आइपुग्दा धेरै छोरीहरुले पढ्ना पाइरहेका छन् । यसलाई पनि यसभन्दा अघि अधिकारका लागि भए गरेका आन्दोलन र युद्धकै कारण मान्नु पर्दछ । मानिसहरु युद्ध भन्ने शब्दबाट डराउँछन् तर युद्धले नै मानिसहरुलाई अधिकार दिलाएको कुराप्रति खास चासो राख्दैनन् । त्यो गलत कुरा हो ।

नेपालमा अधिकारका लागि भएका आन्दोलनहरुले जे जति अधिकारहरु प्राप्त भए, ती भन्दा बढी अधिकार माओवादी जनयुद्ध र यसको परिणामले दिलायो । हो यसबाट प्राप्त भएका अधिकारहरु गुम्ने खतराका कारण केहीपनि प्राप्त नभएको जस्तो छ भएको छ तर पनि केही पनि पाइएको छैन भनेर भन्न भने मिल्दैन ।

उसो भए के बोल्न पाउनु, औपचारिक शिक्षा पाउनु र कमाउनका लागि विदेश जान पाउनु मात्रै महिला अधिकार हो त ? यसका बारेमा पनि बहस हुन जरुरी छ ।

हिजो घरभित्रको काममा सिमित राखेर पुरुषका सहयोगी मात्रै जस्ता देखिने महिलाहरु आज देश तथा परदेशमा गएर काम गर्ने, कमाउने र धनको मालिक समेत हुन पाउने अधिकार त पाएका छन् तर महिलाका लागि राज्यले महिला र पुरुषकै लागि पनि स्वदेशमै रहेर रोजगारीको सिर्जना गरिदिने र नयाँ जीवनको सुरुवात गर्नुपर्ने हो त्यो भने भएको छैन । फलस्वरुप आज नेपालका महिला तथा पुरुषहरु रोजगारीका लागि संसारभर भौंतारिनु पर्ने अवस्था छ ।

रोजगारीका लागि भौंतारिइरहेकै अवस्थामा यो पंक्तिकारले पनि यो सानो आफ्नो धारणा वा बुझाई सञ्चारमाध्यम मार्फत् राखिरहेको छ ।

सन्दर्भ नारी दिवस भएपनि जीवन जीउनका लागि पुरुषले समेत गरेका दुःखका कथाहरु भनिसाध्यै छैन । यसको अर्थ पुरुषहरु पूराका पूरा अधिकार सम्पन्न भइसकेका छन् भन्ने पनि छैन । तसर्थ, आज परेको नारी दिवसको अवसरमा सबै नारी तथा पुरुष सबैले बुझ्नु पर्ने कुरा के छन् भने आज मनाइएका जस्ता दिवसहरु मनाउँदैमा महिला अधिकार पाएको मानिँदैन ।

दिवस मनाउनु भनेको मेलामा रमाउनका लागि गएजस्तो होइन । त्यसकारण यसको महत्वलाई बुझेर पाउन बाँकी अधिकार के-के हुन् भन्ने कुराको निश्चित गर्ने र थप अधिकारका लागि आन्दोलनका कार्यक्रमहरु बनाएर अघि बढ्नु नै आजको आवस्यकता हो । नेपालमा महिला नै राष्ट्रपति हुनुहुन्छ तर आज पनि लाखौं महिलाहरु विदेशी भूमीमा रोजगारीका लागि भौंतारिइरहेका छन् र छौं ।

राष्ट्र प्रमुख नै महिला भएको देशका महिला आज किन कामका लागि संसारभर भौंतारिएर हिंड्नु पर्ने अवस्था आयो ? यो प्रश्नको जवाफ के राज्यले वा राष्ट्रपति महोदयले दिन सक्नु हुन्छ ? पक्कैपनि सक्नु हुन्न । नेपालमा आज पनि महिलाहरु हिंसामा परेका छन् । मारिएका छन् । तर उनीहरुले न्याय पाएका छैनन् ।

त्यसको लागि निर्मला पन्तको मात्रै उदाहरण दिए पुग्छ । त्यसकारण यी र यस्ता कुराहरुलाई देशमा कस्तो आर्थिक प्रणाली लागू गरिएको छ भन्ने कुराले प्रभाव पार्ने कुरा हो । सायद यसैकारणले होला आज पनि नेपालमा विभिन्न किसिमका आन्दोलनहरु चलिरहेका छन् ।

त्यसैले अहिले भइरहेका आन्दोलनहरु नेताका लागि सत्ता परिवर्तनमा मात्रै र मन्त्री तथा अन्य सेवा, सुविधा प्राप्त गर्ने खेलमा सिमित नराखी सबै पिछडिएका जनताको अधिकार ल्याउनका लागि हुनुपर्दछ । आज हामी परदेशमा जे जति संख्यामा महिलाहरु छौं, हामी सबैको माग यही नै हुनुपर्दछ र नेपालमै रहेका महिलाहरुले पनि यही कुरामा जोड दिएर संगठित हुनुपर्दछ । यति गर्न सके मात्रै आजको नारी दिवस मनाएको अर्थ रहनेछ ।

हाल : दक्षिण कोरिया ।