• मंसिर ८ २०८१, शनिबार

गणतन्त्रमा दङ्गालीका पीडा : ट्याङ्की छ पानी छैन, पोल छ बत्ती छैन

फाल्गुन २३ २०७८, सोमबार

दाङ, २३ फागुन ।
दाङको घोराही उपमहानगरपालिका वडा नं १ उपल्लो माले निवासी धनी तिवारीको घर आँगन छेउमै खानेपानीको ट्यांकी छ । त्यहीको अर्काे कुनामा विद्युतको पोल गाडिएको छ, तार पनि टाँगिएको छ । खानेपानी ट्याङ्की र पोल घर आँगनको छेउमा भए पनि न उनले पानी खान पाएकी छिन् न त बत्ती बाल्न नै पाएकी छिन् ।

करिब दुई वर्षअघि बनाइएको खानेपानी ट्याङ्की डेढ वर्षदेखि रित्तै छ । गाउँदेखि करिब आधा घण्टा टाढा डाईचिराबाट उपल्लो मालेमा पानी पुर्याउनका लागि राखिएको मोटर बिग्रिएपछि डेढ वर्षदेखि ट्याङ्कीमा पानी छैन भने विद्युत पोल गोडेर तार तानेको एक वर्ष भैसक्दा समेत बत्ती बाल्न नपाएको तिवारीले गुनासो गरीन् ।

“घर छेउमै पानी ट्याङ्की, विद्युतको पोल भएर के गर्नु प्रयोग गर्न नपाएपछि, भएपनि काम छैन” तिवारीले भनिन् । नेपाल विद्युत प्राधिकरणले विद्युतको पोल गाडेर तार समेत तानेको छ तर बत्ती दिएको छैन ।

‘बाहिरवाट हेर्दा सुविधा दिएको जस्तो देखाउने दाँत मात्रै भएको छ, विद्युत र खानेपानीको धारा र ट्याङ्की देखाउनलाई बनाए जस्तै भएको छ’ उनले भनिन् । घरमा विद्युत जडानका लागि वाइरिङ गरे पनि मिटरबक्स पाउन नसक्दा बत्ती दिन नसकेको विद्युत कार्यालयले बताउने गरेको उनले गुनासो गरिन् ।

धनी तिवारीले जस्तै मालेकै मालती पुनमगरले पनि गाउँमा विद्युत पुगेपछि घर वाइरिङ गरेको एक वर्ष भयो । गाउँमा विद्युत पोल गाडेर तार तानेपछि विजुली बत्ती बाल्ने आशामा घरमा वाइरिङ गरेर मिटरबक्सका लागि २५ सय रुपैयाँ दिइसके पनि मिटर बक्स पाउन नसकेको उनले बताइन् ।

बत्ती नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यतासँगै मोबाइल चार्ज गर्नका लागि एक घण्टा हिँड्नुपर्ने बाध्यता रहेको पुनमगरले बताइन् । ‘गाउँमा विद्युत आएपछि खुशी लागेको थियो तर, पोल गाड्न एक वर्ष लाग्यो र गतवर्ष तार तानेपछि बत्ती आयो तर बाल्न पाएका छैनौं’ उनले भनिन् । गाँउघरमा विद्युत नहुँदा मोबाइल चार्ज गर्नसमेत एक घण्टा पैदल हिँडेर सिमलतारा जानुपर्ने बाध्यता रहेको छ ।

गाउँमा खानेपानी ल्याउनका लागि बिग्रिएको मोटर बनाउन वडा कार्यालयले बजेट नदिँदा एक वर्षदेखि एक गाग्री पानी ल्याउनका लागि दैनिक एक घण्टा हिँड्नुपर्ने बाध्यता रहेको उनले बताइन् । ‘पानी तान्ने मोटर बिग्रिएपछि ट्याङ्की रित्तै भएको छ, वडाले बजेट दिंदैन, बनाउन नसकेर टाढाबाट पानी बोक्नु परेको छ’ उनले भनिन् ।

बिग्रिएको मोटर बनाइदिनका लागि पटक–पटक वडा कार्यालयलाई आग्रह गरेपनि सुनुवाई नभएको उनले गुनासो गरिन् । “मोटर नबन्दा करिब आधा घण्टाको दूरीमा रहेको डाईचिरा भन्ने स्थानमा रहेको मुहानको पानी खान बाध्य छौं’ उनले भनिन् ।

डाईचिराको पानी पनि गर्मी दिनमा सुकेपछि करिब दुई घण्टा बढी समय लाग्ने ठाउँमा जानुपर्ने बाध्यता रहेको उनको भनाई छ । लामो समयदेखि धारामा पानी नआउँदा स्थानीयले खानेपानीको समस्या भोग्नका साथै कतिपय ठाउँका धाराहरुमा टुटीहरु हराएको सल्लीकोट माले टोल विकास संस्थाका अध्यक्ष विजय तिवारीले बताए ।

उनले बिग्रिएको खानेपानीको धारा सञ्चालनका लागि वडा कार्यालयदेखि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई गए पनि समस्या समाधान नभएको जानकारी दिए । ‘खानेपानीको धारा एकपटक बिग्रिएपछि बनायौँ तर, त्यो पुनः बिग्रियो, त्यसपछि बनाउनका लागि वडादेखि खानेपानी कार्यालयसम्म गयौं, बिग्रिएको धाराको मोटर बनाउन कसैले ध्यान दिएनन्” टोल विकास संस्थाका अध्यक्ष तिवारीले भने ।

उनले गाउँका करिब ६० घरपरिवारसँगै विद्यालयमा समेत खानेपानीको समस्या भएको बताए । सम्बन्धित निकायको बेवास्ताका कारण स्थानीय खानेपानीदेखि घरमा खाना बनाउने, कपडा धुने, नुहाउने लगायतका समस्याहरु झेल्नुपर्ने बाध्यता रहेको बताए ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एक घर एक धारा पुर्याउने लक्ष्य राखेको भएपनि दाङको घोराही उपमहानगरपालिका–१ मा भने बिग्रिएको मोटर बनाउन ध्यान नदिँदा खानेपानीका धाराहरुमा समेत क्षति पुगिरहेको छ । प्रदेश सरकारको लक्ष्य प्राप्तिकालागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने भएपनि नगरेको स्थानीयहरु बताउँछन् ।