• मंसिर ११ २०८१, मंगलवार

‘पात गाँसे टपरी’ले यसरी मच्चायो तहल्का

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौँ । नयाँ लोकदोहोरी गीत ‘पात गाँसे टपरी’ को म्यूजिक भिडियो सहित बजारमा आएको छ । देवजंग बस्नेतको सो गीतलाई चर्चित लोकदोहोरी गायक शक्ति चन्द र गायिका शान्तिश्री परियारको साथमा गायक गायिका सुनिता बुढाक्षेत्री र देवजंग बस्नेतले आवाज दिएरका छन् । कृष्ण मल्लठकुरीले गीतका शब्द सिर्जना गरेका हुन् भने ध्रुवराज धितालले शब्दहरुमा संगीत भरेका छन् । एचबिएन किस्मतले संगीत संयोजन गरेको सो गीतलाई बिमल छिनालले रेकर्ड गरेका छन् ।

गीतमा केटाले ‘तिमी मेरै हौ भनेर अन्त माया लाइन, तिम्रो दिलको साम्राज्यमा पाइलै टेक्न पाइन’ भन्दै ओइ सुन न भनेर, ‘फूल गाँसे माला हुन्छ पात गाँसे टपरी, के माया लाम भनम खै तिमीलाई मन नपरी’ भन्दै गीत गाउन सुरु गर्छन् भने केटीले पनि, ‘मुटुभरि तिम्रै झल्को मडारिन थाल्यो, महाराजको मर्जीबिनै माया बसिहाल्यो’ भन्दै ओइ सुन न भनेर, ‘फूल गाँसे माला हुन्छ पात गाँसे टपरी, के माया लाम भनम खै तिमीलाई मन नपरी’ भन्दै जवाफ दिंदै गीतमा दोहोरी खेल्न सुरु गर्छिन् ।

बडो रोमान्टिक बनेको सो गीतको भिडियोमा सुधिर श्रेष्ठ र लोसिना लामिछानेले साथीहरुको साथमा नृत्य तथा स्क्रिन रोमान्स गरेका छन् । उक्त गीतको भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका छन् भने अमर सुनारले त्यसमा नृत्य निर्देशन गरेका छन् । गीतको भिडियोका दृश्यहरुलाई प्रकाश खड्काले क्यामरामा कैद गरेका छन् भने सुरेश काफ्लेको ड्रोनले पनि भिडियोका दृश्यहरुलाई आकाशबाट क्यामरामा कैद गरेको छ । भिडियोको सम्पादन निर्देशक राजकुमार मगर आफैले गरेको करिब १० मिनेटको सो भिडियो हेर्दाहेर्दै समय बितेको दर्शकलाई पत्तै हुँदैन ।

हेरौं भिडियो ⇓