• मंसिर ७ २०८१, शुक्रबार

नासाद्वारा सूर्यमा बिस्फोट भएको तस्विर सार्वजनिक

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौं । नासा र युरोपेली स्पेस एजेन्सीले सूर्यमा विस्फोटन भएको अप्रत्याशित तस्विर खिचेका छन् । यसलाई सूर्यको अहिलेसम्मकै सबैभन्दा ठूूलो स्वरुपयुक्त, विस्तृत र स्पष्ट तस्विर भनिएको छ जसमा सूर्यको पूरै गोलाइ आएको छ ।

नासाले यो तस्विर शुक्रबार सार्वजनिक गरेको हो । उक्त सोलार विस्फोटन फेब्रुअरी १५ मा भएको थियो जुन अन्तरिक्षमा लाखौँ माइल्ससम्म पुगेको हो । यसलाई सोलार अर्बिटरमा रहेको ‘एक्सट्रिम अल्ट्राभोइलेट इमेजर’ को ‘फुल सन इमेजर’ले खिचेको थियो ।

फुल सन इमेजरलाई सूर्यको नजिक रहँदा पनि यसको पूरै गोलाइ आउनेगरि फोटो खिच्न सक्ने किसिमले डिजाइन गरिएको थियो । सूर्यभित्र विस्फोटन हुँदा अत्याधिक मात्रामा ऊर्जा, प्रकाश र अन्य सोलार वस्तुहरु उत्सर्जन हुन्छन् । यदि त्यस्ता पदार्थहरु पृथ्वीतर्फ मोडिने हो भने यसले स्याटलाइटहरुमा अवरोध पुर्याउन सक्छन् । त्यसैले यो नयाँ तस्विरले वैज्ञानिकहरुलाई सूर्यमा यस्ता गतिविधि केकसरी हुन्छन् भन्ने बुझ्न मद्दत मिल्ने बताइएको छ ।

२०१९ मा एघारौँ नयाँ साइकल सुरु गरेको सूर्य यतिबेला अत्यन्तै सक्रिय छ । र २०२५ सम्ममा सूर्यको सक्रियता सबैभन्दा उचाइमा पुगिसक्ने प्रक्षेपण गरिएको छ ।

यस प्रकारको सोलार साइकलबारे जानकारी राख्न धेरै महत्वपूर्ण हुन्छ किनकि यसले हामीलाई सूर्यका कारण अन्तरिक्षको मौसममा पर्ने प्रभावलाई बुझ्न मद्दत मिल्छ जसले पृथ्वीको पावर ग्रिड, स्याटलाइट, जीपीएस, एयरलाइन्स, रकेट र आइएसएसका अन्तरिक्षयात्रीमा समेत असर पार्न सक्छ ।

नासा, एसा, सोहो स्याटलाइटका टेलिस्कोपहरुले पनि सूर्यमा हुने गतिविधिको तस्बिर लिइरहेका हुन्छन् तर यतिसम्मको विस्तृत र स्पष्टसँग खिच्न सक्दैनन् ।

विशेषगरी सूर्यको सबैभन्दा बाहिरी सतह, कोरोनाबारे अध्ययन गर्न एकदमै कठिन मानिन्छ किनकि नजिकबाट यसको तस्बिर लिँदा पूरै गोलाइ आउँदैन । गत वर्ष पार्कर यान सूर्यलाई छुन सफल दुनियाँकै पहिलो यन्त्र बन्न सफल भएको थियो ।