• मंसिर १२ २०८१, बुधबार

९२ वर्षीय साहित्यकार शर्मालाई चार घण्टा खुशी दिएको साहित्यिक महोत्सव

फाल्गुन २२ २०७८, आईतवार

घोराही, २२ फागुन ।
दर्शकदिर्घाको अघिल्लो रोह, एकजना पाका मानिस बेला-बेला हाँसेको अनि मुन्टो ढक्काएको देखिन्थ्यो । राप्ती साहित्य परिषद दाङ शाखाले शनिबार ‘दाङ साहित्य उत्सव २०७८’ गरेको थियो । त्यसकै प्रमुख अतिथि वरिष्ठ साहित्यकार,  प्रेस काउन्सील नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा हुनुहुन्थ्यो । उहाँ लगातार त्यस कार्यक्रमा चार घण्टा कृयाशील रहनुभयो ।

उहाँ गत १७ गते मंगलबार ९२ वर्षमा प्रवेश गर्नुभएको छ । त्यसदिन उहाँकै नेतृत्वमा स्थापना भएको विपश्यना ध्यानकेन्द्र धम्मपराग घोराही १३ तुरुन्तपुर पुग्नुभयो ।

त्यहाँ परिवारका सदस्य र केही निकटस्थ व्यक्तिको मात्रै उपस्थिति थियो । उहाँलाई केही मन्तव्य राख्नुस् भनेर आग्रह गरियो । ‘सबैलाई मेरो हार्दिक नमन, शुभ मंगल’ ९२औँ वर्षमा प्रवेशका अवसरमा यति नै बोल्नुभयो ।

दुई हात जोडेर सबैलाई नमन गर्दाको दृश्य बडो उर्जावान देखिन्थ्यो । चहकिलो मुहार, उपस्थित सबैतिर डुलाउँदै गरेको बुझिनेगरी घुमाएको मुन्टो, उत्सुक र गहिरो ढंगको हेराई गजबको थियो । उहाँ बोल्दा हाउभाउमा उत्साह थियो । वचनमा दृढता झल्किन्थ्यो । मुहारमा ऊर्जाको भाव दौडिरहेको थियो । जन्मोत्सव मनाइदिनेहरुप्रति स्नेह प्रकट गर्नुभयो ।

थोरै जनाका बिचमा सामान्य तरिकाले, शान्त भावमा मनाउन शर्मा ध्यानकेन्द्र पुग्नुभएको थियो । आत्मप्रशंसामा कत्तिपनि रुची नभएका शर्माले फुर्सद नभएकालाई आफ्नो काममा लाग्न आग्रह गरिरहनुहुन्थ्यो । आफू पुगेदेखि नै अघि-अघि हिंडेर अवस्थाको जानकारी गराउन थाल्नुभयो । लगत्तै आधा घण्टा विपश्यना ध्यान गर्नुभयो । त्यहाँ अत्यन्तै ध्यान मग्न भएर बस्नुभयो ।

‘उहाँको यो रुप देख्छु जिल्ल पर्छु’ नेपाल विपेश्यना केन्द्र धम्मश्रृग काठमाण्डौको पूर्व कार्यसमिति सदस्य (टस्टी मेम्बर) ध्यान केन्द्रका दिपेन्द्र पुरुष ढकालले भन्नुभयो, ‘लाठी पनि टेक्नुहुँदो रहेनछ । यो उमेरलाई दिर्घजीवी भन्छ ।’ यतिकै हुन पाइने भए सबै यस्तै उमेरसम्म बाचौँ । उहाँले छोरा बुहारीलाई यस्तो पिता पाउने तपाईंहरु भाग्यमानी हो भन्नुभयो । ‘यो गौरवको कुरा हो’ टस्टी मेम्बर ढकालले भन्नुभयो ‘यस्तो समारोहमा पटकैपिच्छे भाग लिन पाऊँ बधाई छ ।’

त्यस कार्यक्रममा साइँला छोरा नयाँ युगवोध राष्ट्रिय दैनिकका अध्यक्ष तथा प्रवन्धक प्रताप रेग्मी, सम्पादक लक्ष्मी आचार्य सहित आफन्तहरु हुनुहुन्थ्यो । त्यहि कार्यक्रममा प्रमुख अतिथि ढकालले आफूले निचोरेर दिसा निकाल्दिनु पर्ने आफ्नी आमाको व्यथा सुनाउनु भयो ।

निकै कष्टका साथ आमाले दिन बिताएको ढकालको भनाई थियो । शर्मालाई भने सहारा पनि चाहिंदैन । आफै तरङ्तरङ हिंड्नु हुन्छ । पत्रिकामा साप्ताहिक रुपमा नियमित लेख लेख्नुहुन्छ । शानिबारको साहित्यमा पनि कविता आइरहन्छन् । कान्तिपुर राष्ट्रिय दैनिक नियमत पढ्नुहुन्छ । मोबाइलमा तत्कालका घटनाहरुका बारेमा उत्तिकै चासो छ । ध्यान केन्द्र गइराख्नुहुन्छ ।

त्यस दिन शर्माले ‘यो क्षेत्र तपाईंहरुको हो’ ध्यान केन्द्र आसपासका बासिन्दातर्फ औल्याउँदै भन्नुभयो, ‘हामीले त स्थापना गरिदियौँ । सबैको शुभ मंगलमय होस् ।’ ध्यान केन्द्र शर्माकै नेतृत्वमा स्थापनाका भएको हो । हरियाली, सुन्दर र शान्त ठाउँ अति उत्तम क्षेत्र भनेर ढकालले प्रशंसा गर्नुभयो । यसरी उपयुक्त मानिने स्थान छनौट गर्नेदेखि स्थापना र संरक्षणमा शर्माको ठूलो भूमिका छ । त्यसैले त मायापनि छ र आफ्नो जन्मदिनमा त्यहिँ जाने रुचि देखाउनुभयो ।

धेरैले पुस्तकमा भूमिका लेखिदिन आग्रह गर्छन् । लगभग अधिकांशका पुस्तकका भूमिकामा शर्माका शब्द छन् । आफूले स्थापना गरेको पत्रिका नयाँ युगवोध राष्ट्रिय दैनिक मिहीन ढंगले हेर्नुहुन्छ । समाचार र लेखमा त्रुटी भए वा पश्चगामी लागे भने सुधार गर्न सुझाव दिने गर्नुहुन्छ । दिनमा एक दुईपटक पत्रकारहरुसँग गफ नगरे चित्त नबुझ्ने बानी छ उहाँको । यद्यपी कोरोना कालमा निकै सकस परेको थियो । ‘मानिससित भेट्यो कि कोरोनाको डर, नभेट्यो मनको छटपटी तिमाल्न धौ ।’

उहाँलाई प्रमुख अतिथि बनाउन पाउँदा यस क्षेत्रका साहित्यिक संस्थाहरु औधी खुशी हुन्छन् । त्यसैले महोत्सवमा पनि आयोजकले उहाँलाई निम्त्याएका थिए । जति काम गर्यो त्यति फुर्तिलो महशुस गर्ने शर्मा ठिक समयमा पुग्नुभयो । उहाँको स्वाथ्यलाई ख्याल गर्दै आयोजकले कार्यक्रम मिलाएको थियो । राप्ती साहित्य सम्मान २०७८ बाट वरिष्ठ साहित्यकार गिरीराज शर्मा र डा.अमर गिरीलाई सम्मान गर्नुभयो । यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार डा.गोविन्द आचार्यलाई पुरस्कृत गर्नुभयो । त्यसै पुरस्कारबाट डा.भिमार्जनु आचार्य (अर्जुन मिलन) पनि पुरस्कृत हुनुभयो ।

त्यस लगतै प्रमुख अतिथि शर्माको मन्तव्यको पालो राखिएको थियो । कार्यक्रमका अध्यक्ष आयोजक राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङल शाखा अध्यक्ष दीपक शर्मा (समीर) का अनुसार आफूलाई चित्त बुझ्दासम्म बस्ने गरी व्यवस्था मिलाइएको हो । अरुलाई जस्तो कार्यक्रमको अन्तमा प्रमुख अतिथि बसाल्दा अन्याए हुन्छ । जति चाहनुहुन्छ त्यति समय बस्नुहुन्छ ।

‘चिया खुवाउन नसकेपनि साहित्यिक कार्यक्रम गर्थिम्’ प्रमुख अतिथि शर्माले नयाँ र पुरानो परिवेशको तुलना गर्दै भन्नुभयो ‘आजको धुमधाम हेर्दा परिवर्तन के रहेछ भन्ने बुझ्न सकिन्छ ।’ उहाँले देखेको दृश्यवाचक तथा गायक साहित्यकाररुलाई हजारीका माला र खादाले सम्मान गरिएको थियो । सुन्दर ढंगले सजाइएको होटल मालाईनको भव्य हलमा कार्यक्रम थियो ।

पहिलो राउण्डमा डा.अमर गिरी, डा.कृष्णराज डिसी, हरि पोख्रेल, घनश्याम अस्तित्व, रीतु खनाल र संगीता मगरले दुई दुईटा कविता बाचन गर्नुभयो । उहाँहरुको उत्कृष्ट प्रस्तुतिले हलको बसाई हलनचल नगरी शान्त बन्यो । धेरैले रुचाएका थिए । आयोजकले पलेटी कसेर बस्ने व्यवस्था मिलाउँदै थियो । हाउभाउ हेर्न मिल्दैन भनेपछि वाचकलाई कुर्सीमै आसन गराइयो । वाचक मञ्चमा प्रतिस्पर्धी जस्तै बसेका थिए । बसाईले पालोपालो जाने आउने क्रमभंग गरेको थियो । अरु कार्यक्रम जस्तो एउटा एउटा मञ्चमा जाने वाचन गरेर फर्किनु परेन । कतिपय कार्यक्रममा सबै वाचक सबै आयोजक पनि हुन्छन् ।

साहित्यिक कार्यक्रममा त्यति आकर्षण देखिन्नथ्यो । त्यहाँ भने कतिपय लजाउने र धकाउने गरेको पनि देखिन्थ्यो । वाचन गर्दा गर्दै दुईतिन चोटी खाक्कखुक्क गरेर कतिपयले गला सफा गरेका थिए । भव्य उपस्थितिलाई सहभागि धेरैले नौलो महशुस गरेका थिए । रमाइलो मानेकै कारण पछिसम्म हल भरिभराउ थियो ।

त्यसपछि तिन–तिन वटा गजल सहित शशी शर्मा मज्गैयाँ, ऋषि शर्मा सुदाम, वसन्त वली ‘वसन्ती’, दिलकुमारी बुढामगर, सानु कार्की, जमुना गौतम ‘जानु’ मञ्चमा आउनुभयो । उहाँहरुले गजल वाचन गर्दा हुटिङ भयो । कतिपय प्रंसगमा अलि उत्ताउले देखिएपछि हलुक्किएको भनेका थिए । भद्धापन बढ्दै जान्छ कि भन्ने चिन्ता गरिरहेकै बेला गजलको पालै सकियो ।
दर्शकदिर्घाको अघिल्लो रोहमा बस्नुभएका प्रमुख अतिथि शर्मा, सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यकार गिरीराज शर्मा, विशिष्ट अतिथि राप्ति साहित्य परिषदका निवर्तमान केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, परिषद केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त र सिस्नो पानी नेपाल दाङका डा.लोकराज पराजुली लगायत हलका सबै स्रोताहरुले हाँस्दै, मुन्टो ढक्काउँदै चित्त बुझेको संकेत गर्नुहुन्थ्यो ।

साहित्य उत्सव रोचकहुँदै गएपछि ९२ वर्षीय प्रमुख अतिथि शर्माले हलमै चार घण्टा समय बिताउनुभयो । अन्तमा बाहिरींदै गर्दा शर्माले ‘मलाई चार घण्टा बसाल्न सफल हुनुभयो, साह्रै राम्रो है’ भनेर खुशी व्यक्त गर्नुभएको थियो । लामो समय बस्ने त्यति धेरै उपस्थिति महत्वकै थियो ।

यसैगरी गजल गायनमा डा.गोविन्द आचार्य, गोविन्दमधुर आचार्य र विपिन घिमिरे हुनुहुन्थ्यो । उहाँहरुलाई राजेन्द्र दाहाल, राजेश क्षेत्री र एमबी समर्पणले गाजाबाजा बजाउनु भएको थियो । त्यस अवसरमा अनेकौं भिडियो तथा तस्विर खिचिए । सहभागिता उल्लेखनीय थियो ।

नयाँ राजा भनेर तुलना गर्दा घोराही उपमहानगरपालिकाको प्रतिनिधित्व गरेर अतिथि बन्नुभएका सरसफाइ वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक एवम् घोराही–१४ का अध्यक्ष शक्तिराम डाँगी निकै गम्भिर देखिनुभएको थियो । स्थानीय सरकारका काम गराइका शैली साहित्यकारले दुरुस्तै उतारे ।

उनीहरुले अफगान र युक्रेन युद्धका प्रंसग पनि व्याख्या गरेका थिए । नैतिकता र अनुशासनका धेरै सवालमा गहकिला शब्द तथा भाव साहित्यमा समेटिएका थिए । दिनभरी चलेको कार्यक्रममा परिषदका सचिव प्रकाश केसीले एक्लै भ्याउनुभयो । उहाँलाई पनि रसिलो लागेको थियो । सबै भन्दा धेरै मुख मिठ्याउने भने शर्मा लगायत पाका साहित्यकारको जमात थियो । साहित्यमै जीवन गुजारेका उनीहरुलाई समेत नौलो लाग्यो ।