• मंसिर ७ २०८१, शुक्रबार

गुगलले रुसमाथी लगायो प्रतिबन्ध

फाल्गुन २१ २०७८, शनिबार

युक्रेनसित लडिरहेको रुसलाई गुगलले प्रतिबन्ध लगाएको छ ।  अमेरिकी कम्पनी गुगलले रुसमाथी विज्ञापनमा प्रतिबन्ध लगाएको हो । युक्रेनमाथि सैन्य हमला गरेपछि रुसमाथि प्रतिबन्ध लगाएको गुगलले विज्ञापन सेवा बन्द गरेको घोषणा गरेको छ ।
रुसमा सबै प्रकारका विज्ञापन बन्द गरेको घोषणा गर्दै कम्पनीले भनेको छ, ‘हामी रुसमा गुगल एड बन्द गर्न गइरहेका छौं । हामी यसपछि हुने आफ्नो निर्णय पनि सबैलाई जानकारी दिने छौं ।’

कम्पनीको यो निर्णयले रुस भित्र बज्ने सम्पूर्ण विज्ञापनलाई समेट्ने छ । युट्युबमार्फत् हुने प्रसारण समेत यही निर्णयबाट रोकिने गुगलले जनाएको छ । गुगलको यो कदमले रुसभित्र रहेका ठूलो प्रविधि प्लेटफर्मले आफ्ना सेवा बन्द गर्ने तयारीमा रहेको समेत देखाएको छ ।

यस्तै, रुसमा सञ्चालनमा रहेका ठूलो प्रविधि कम्पनीले निरन्तर सेवा बन्द गर्दै आइरहेका छन् । यद्यपि रुसी सरकारले यस अघि नै अमेरिकी प्रविधि कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरिसकेको छ ।

रुसले युट्युब, गुगल, फेसबुक र ट्वीटरजस्ता प्रविधि कम्पनीमाथि आफ्नो देशमा प्रतिबन्धको घोषणा गरिसकेको छ ।