• मंसिर २० २०८१, बिहीबार

साताको साहित्यमा नारी हस्ताक्षर (दुई कविता)

फाल्गुन २१ २०७८, शनिबार

निभा शाह
लालख्वामित

लालख्वामित महाराज कि
जय होस् ख्वामित
लालख्वामित
तिमीलाई लालदेवता बनाउन
थुप्रै लालसीताहरू जले
तब न तिमी
लालदेवता भयौ !
लालख्वामित
तिमीलाई लालमालिक बनाउन
थुप्रै लालदासहरु मरे
तब न तिमी
लालमालिक भयौ
त्यसैले त भनिरहेछौँ
लालख्वामित
तिमी लालदेवता हौ ।
तिम्रो लालदेवत्वमा
कोही मरेर सहिद भए
कोही जिउँदै सहिद भए ।
लालख्वामित
तिम्रो लालदेवत्वमा
जो मरेर सहिद भए
ती तिम्रो
लालदरबारको
लालभित्तामा
कृष्ण सेन बनेर टाँसिएका छन् ।
लालख्वामित
जो तिम्रो लालदेवत्वमा
जिउँदै सहिद भए
ती तिम्रो
लालदरबारको
लालपेटीमा अपाङ्ग बनेर घिस्रिरहेका छन्
हो, लालख्वामित
यस्तै छ
तिम्रो लालदेवत्वकरण ।

तिम्रो लालदेवत्वकरणमा
तोरी छर्ने नरु
तेल खाने अरू
ग्वालो बस्ने नरु
दुध खाने अरु
तिमीले जन्माएका
लालजुकाहरु
कहिले सुखानी चुस्छन्
कहिले थबाङ चुस्छन्
कहिले दोरम्बा चुस्छन् ।
हो लालख्वामित
तिमीले जन्माएका
तिम्रा लालजुकाहरु
ठ्याक्कै तिमीजस्तै अनौठा छन् ।
यी अनौठा प्रजातिका जुकाहरू
घाँटीमा बेरिएर
पैताला चुस्छन्
कम्मरमा बेरिएर
छाती चुस्छन्
छातीमा बेरिएर
नाइँटो चुस्छन् ।
यी कहीँ नदेखिएका
यी कहीँ नभेटिएका
न रुसमा
न चीनमा
न चिलीमा
यी अनौठा प्रजातिका
लालजुकाहरू
ढाडमा टेकेर
टाउकामा चुस्छन् ।
यसरी नै
यी अनौठा लालप्रजातिहरूको
‘बाउटा’ फ्युजनमा
लालख्वामित
तिमीले लगाएको
माओको मुकुन्डो
छिनछिनमा च्यातिएको च्यातियै छ
र, तिमी लुई सोह्रौँ बन्दैछौ ।
लालख्वामित महाराज कि
जय होस् ख्वामित
लाल लुई सोह्रौँ महाराज कि
जय होस् ख्वामित !

डीभी र ग्रिनकार्डको रात्रीभोज
प्रसिद्धा शर्मा
आयो हजुर आयो न्युरोडमै आयो
किन्न नभुल्नुस् मेरो नागरिकता र अस्मिता
एकैसाथ दुवै बिक्रीमा छ,
भूगोलपार्कको पीपलबोटमा
कोही कराइरहेछ
आवाज चर्किलो थियो, चारैतिर आँखा दौडाएँ
घाँटी तन्काई हेरेँ
मान्छे उही थियो
जो, डीभी परी ग्रिनकार्ड पाउने
जसले, हिजो रात्रीभोज खुवाएको थियो
ऊ भन्दै थियो
‘आमा हुन् वा बाबु जन्मभूमि होस् कि मर्ने घाट
सबै छाडी जाने रे

कुन्नि कता हो, अमेरिका हो कि अस्ट्रेलिया अब
त उसलाई
मेरो देश भन्न पनि लाज लाग्छ अरे यहाँ योग्यता र दक्षताको कदर हुन्न रे
बौद्धिक लगानीमा पर्ता परेन रे
देशको नाम लिँदा
शिर झुक्छ रे
जोरीपारीले औँला ठड्याए रे’
ऊ भाषण दिँदै थियो
नेपाल गाभ्नुपर्छ
हिमाल बेच्नुपर्छ

सबैथोक बन्धक राखेर पनि
आफू मस्ती गर्नुपर्छ
ऊ यस्तैयस्तै भन्दै थियो
मेरो धैर्यको बाँध फुट्यो
आँखा बन्द गरी कान थुनेँ सम्झिएँ मातृभूमि समाएँ एक मुठी माटो र अङ्कमाल गर्दै दल्न पुगेँ धरहराको स्तम्भमा
भन्दै गरेँ
तिमी भुटानी शरणार्थी हैनौ जिग्मेसिङ्गे वाङ्चुकले खेदेका तिमी राष्ट्रविहीन नागरिक हैनौ
झापाको बेलडाँगीमा राष्ट्र खोज्दै हिँडेका तिमी त
नेमुनी र मञ्जुश्रीका वंश हौ जसले तिमीलाई नेपाल दिए बचाए भक्ति थापा र अमरसिंहहरूले र हजारौँ दिलबहदुर, दिलमाया र कृष्ण सेन ‘इच्छुक’हरू
आज तिमी लात मार्दैछौ आफ्नै मातृभूमिलाई विश्व मानचित्रबाट
अझै प्रयत्न गर्दैछौ
नेपाललाई हटाउन लामबद्ध हुँदैछौ लेन्डुप दोर्जे बन्न
ग्रिनकार्डको अभिष्ट लिएर डुबुल्की मार्दैछौ
बैतर्नी तर्न
धिक्कार तिम्रो जन्म !
सक्छौ, हिम्मत बटुल कोलम्बस बन्न
सक्दैनौ जोड हिमाल–तराई टिस्टा–काँगडाको भेट गराऊ एकपटक फर्किएर त हेर
नालापानी र काँगडा
सम्झ भक्ति थापा, अमरसिंह अनि
दिलबहादुर, दिलमाया र इच्छुकहरूलाई
सम्झिएर हेर
फोकल्यान्ड र कार्गिलमा रगत पोख्नेलाई जनयुद्धमा सहिद बन्नेहरूलाई ।
धिक्कार छ,
नागरिकतासँग ग्रिनकार्ड बेच्नेलाई
हिमालसँग वासिङ्टन साट्नेलाई
मैले पनि टुकुचाको पुलमा गई
मुखमा औँला हाली छादिदिएँ
बेलुकाको रात्रीभोजलाई
र गर्जिंदै भनेँ उठाऊ झन्डा चन्द्र–सूर्य
र हँसिया हथौडाको ऋण तिर
मातृभूमिको मुहार फेर्नु छ
देशले सत्पुत्र सम्झी हाँस्नेछिन् मातृभूमि नेपाल ।

(अखिल नेपाल लेखक संघको मुखपत्र ‘लेखक’बाट ।)