काठमाडौं । रूस र युक्रेन बीचको युद्ध सुरु भएको आज १० दिन भएको छ । यसबीचमा गत २४ घण्टामा के के भयो भन्ने जानकारीका लागि केही तथ्य प्रस्तुत गरेका छौं ।
ब्रसेल्समा नेटो देशका विदेश मन्त्रीहरूसँग भेट गरेपछि गठबन्धनका महासचिव येन्स स्टोल्टेनबर्गले गठबन्धनले युक्रेनमाथि उडान प्रतिबन्ध क्षेत्र स्थापना नगर्ने बताएका छन् ।
उक्त निर्णयबाट आक्रोशित युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वक्तव्य जारी गरेर पश्चिमी देशहरुको आलोचना गर्दै नेटो नेतृत्वले युक्रेनका शहर र गाउँको विनासलाई अनुमोदन गरेको बताएका छन् ।
युक्रेनका जनतालाई टेलिभिजन सन्देशमा जेलेन्स्कीले पश्चिमी नेताहरूलाई युक्रेन विरुद्ध रूसको आक्रमकता बढ्ने बताएका छन् । रुसले फेसबुकमाथि प्रतिबन्ध लगाउनुका साथै ट्वीटर र युट्युबमा रोक लगाएको छ ।
फेसबुकले धेरै रुसी मिडिया आउटलेटहरुमा प्रतिबन्ध लगाएपछि यो कारबाही गरिएको रुसले बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्यसम्बन्धी झुठो समाचार प्रसारण गरेको आरोपमा १५ वर्षसम्म जेल सजाय हुनसक्ने नयाँ कानूनमा हस्ताक्षर गरेका छन् ।
युक्रेनको उत्तर, दक्षिण र पूर्वी क्षेत्रमा नवौं दिनमा दिनभरि भीषण भिडन्त भयो । राजधानी कीभमा रुसको नयाँ मिसाइल आक्रमण भएको छ भने शहरभरि विष्फोटको आवाज सुनिएको छ । साथै, रूसी घेराबन्दीमा रहेको दक्षिणपूर्वी तटीय शहर मारियुटोलमा पनि बम विस्फोट जारी छ ।
उत्तरपूर्वी शहरहरू खारकीभ र चर्निहिभमा समेत बम विस्फोटनको क्रम जारी छ । बिहीबार राति युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्रमा रुसको आक्रमणको आलोचना गर्दै अमेरिकाले विश्व ठूलो त्रासदीबाट बचेको जनाएको छ ।
अन्तरराष्ट्रिय अनुगमन टोलीले आणविक संयन्त्रमा कुनै विकिरण नभएको र सो संयन्त्र सुरक्षित रहेको बताएको थियो । युक्रेनबाट थुप्रै मानिसहरू भागिरहेका छन् । रातोपाटीबाट ।