• फाल्गुन २६ २०८२, मंगलवार

रूसी विदेशमन्त्रीले भने- तेस्रो विश्वयुद्ध विनासकारी र आणविक युद्ध हुनेछ

फाल्गुन १८ २०७८, बुधबार

काठमाडौँ। रूसी विदेश मन्त्री सेर्जेई लाभरोभले तेस्रो विश्वयुद्ध भयो भने त्यो आणविक युद्ध हुने बताएका छन्।

लाभरोभले बुधबार एक सम्बोधनका क्रममा त्यस्तो आणविक युद्ध ध्वंसात्मक हुने बताएका हुन्।

उनले युक्रेनले कुनै आणविक हतियार राखोस् भन्ने रूसले नचाहेको पनि बताएका छन्।

‘युक्रेनले आणविक हतियार राखे त्यो रूसका लागि साँच्चै खतरापूर्ण हुन्छ,’ लाभरोभले भने।

यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका आणविक हतियारसँग सम्बन्धी अधिकारीहरूलाई सतर्क अवस्थामा रहन निर्देशन दिएका थिए।

बुधबार रूसले युक्रेनमाथि आक्रमण गरेको एक साता बितेको छ। रूसी विदेश मन्त्रीले युक्रेनमाथि आक्रमण गर्दा पश्चिमाहरूले आर्थिक प्रतिबन्ध लगाउँछन् भन्ने आफूहरूले पूर्वानुमान गरेको भए पनि आफ्ना खेलाडी र पत्रकारालाई पनि प्रतिबन्ध होला भन्ने नसोचेको बताएका छन्।

उनले युक्रेनसँग दोस्रो चरणको वार्ताका लागि पनि तयारी भइरहेको जानकारी दिएका छन्। -एजेन्सी