• मंसिर ११ २०८१, मंगलवार

एमसीसी विरुद्ध नारा घन्काउदै कलाकारहरु (यस्तो छ भिडियो)

फाल्गुन १७ २०७८, मंगलवार

काठमाडौँ । ‘नो नो एमसीसी, एमसीसी हामीलाई चाहिँदैन देश बेच्न पाइँदैन’ भन्दै संगीतकार रामु खड्काले एमसीसी विरोधी गीत सार्वजनिक गरेका छन् । नेपाली जनजीवनका विभिन्न अवयवहरुका विभिन्न दृश्यहरु समेटेर सो गीतको भिडियो नै तयार पारेर खड्काले सार्वजनिक गरेका हुन् । गीतको सुरुमै एमसीसी हामीलाई चाहिँदैन, देशबेच्न पाइँदैन भन्दै नारा लगाएर सुरु गरिएको सो गीतमा अमेरिकी साम्राज्यवादी योजना एमसीसी पास गर्नेलाई राष्ट्रघाती भनिएको छ ।

विदेशीले हाम्रो छातीमाथि कुल्चन लागेको कुरा उल्लेख गर्दै गीतमा राष्ट्रघाती एमसीसी हाम्रो देशलाई नचाहिने बरु एकछाक खाएर देशको लागि लडेर मर्न सकिने कुरा बताइएको छ । एमसीसीको वास्तविकता जनतालाई बताउन आव्हान गर्दै गीतमा पुर्खाले बचाएको देश, नेपालीको स्वाभिमान नवेच्न नेताहरुलाई भनिएको छ । गीतमा देश विकाश गर्ने तथा गाउँको विकास गर्नेहरुलाई अब जनताले भोट हाल्नुपर्ने उल्लेख गर्दै परदेशमा भएका युवाहरुलाई यो देशको माया लाग्ने गरेको कुरा देखाइएको छ ।

नेपालमा चोर, अपराधी, बलात्कारी तथा राष्ट्रघातीहरुले जनताको शिरमा टेकेको भन्दै गीतमा व्यंग्य गरेर ती भ्रष्टाचारी राष्ट्रघातीहरुलाई ‘जति सक्छौं खाऊ भनेर सात पुस्तालाई पुग्ने जुटाउ र दश लुटेर आफ्नै साखा सन्तानहरुलाई धनी बनाऊ भनेर समेत बताइएको छ ।’ देशभित्र भाईभाई लड्दा बाहिरकालाई हाँसो भएको भन्दै गीतमा राष्ट्रियता बचाउन सबैले चासो दिनुपर्ने भनिएको छ । विदेशमा पलपल मरेर पसिनाले पैसा साट्नु भन्दा आफ्नै पाखोबारी खनेर काउली र बन्दा लगाउनु पर्ने भनेर युवाहरुलाई भनिएको छ ।

देशमा घटेका हत्याकाण्डहरु गुपचुप भएको भन्दै आक्रोश पोखिएको गीतमा सोझासाझा जनता देशमा फस्ने मात्रै होइन पावर र पैसा हुनेले नेपालको कानुन नै किनेको सन्दर्भ व्यक्त गरिएको छ । नेपालका नेताहरुले देशको माया नगरेर आफ्नो व्यक्तिगत स्वार्थमा कहिले पार्टी फुटाउने त कहिले जुटाउने नाटक गर्ने गरेको सन्दर्भलाई गीतको भाकामा व्यक्त गरिएको छ । नेपालको भन्सार, यातायात लगायत चारैतिर भ्रष्टाचार भएर जनता लुट्ने मति भएको भन्दै जनताले स्वतन्त्र भएर आफ्नो देशमा बाँच्न समेत नपाएको बताइएको छ । एमसीसी मार्फत् विदेशीले हाम्रो छातीमाथि टेकेको भावना व्यक्त गरिएको सो गीतमा उच्च राष्ट्रवाद अभिव्यक्त भएको देखिन्छ ।

चर्चित लोक गायक बद्री पंगेनी,रामु खड्का,तिलक परियार,शेर संगीत बिक र संगीतले गाएको सो एमसीसी विरुद्धको गीतका शब्द शेर संगीत बिकले सिर्जना गरेका हुन्। रामु खड्काको संगीत सिर्जना रहेको सो गीतमा संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्। मालश्री डिजिटलको प्रस्तुती रहेको सो गीतको भिडियो रामु खड्काको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।

हेरौँ गीतको भिडियो ⇓