• असार २३ २०८१, शनिबार

सुख दुःख रेलिमै : खुकुरीमा धार लगाउँदै बित्छन् ९३ वर्षीय खड्कबहादुरका दिन

फाल्गुन १७ २०७८, मंगलवार

दाङ, १६ फागुन ।
यी हुन् खड्कबहादुर आलेमगर, जसको जीवन सताब्दी पुग्न अब एक दशक पनि बाँकी छैन । तर साँझ र बिहानको हातमुख जोर्न कै लागि अहिले पनि श्रम गरिरहेका छन् ।

उनी अहिले ९३ वर्ष पुगे । कपाल फुलेर सेतै भएको धेरै भइसक्यो तर जीवनसंगीनी र आफ्नो पेट पाल्नका लागि दिनहुँ काम गरिरहेका हुन्छन् ।

आँखा कमजोर भइसके, चस्मा बिना बाहिरी संसार धमिलो देख्छन् उनी । गाला मुजा परिसकेका छन् । जिन्दगी साँझ विहान औषधी भरमा चलेको छ । नियमित औषधि सेवनले उनलाई तागत मिलेको छ र काम गर्ने जोस पनि उस्तै छ ।

यो उमेर पुगेका धेरै बृद्धहरु अर्काको साहारामा बाँचेका हुन्छन् तर उनी अहिले पनि साँझ बिहानको चुलो बाल्नका लागि दिनभर काममा खटिरहेका भेटिन्छन् ।

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित वडा प्रहरी कार्यालय नजिकै बसाइ छ खड्कबहादुरको । भाडामा बस्ने घर नजिकै ठूलो वरपिपलको बोट छ ।

तिनै वर र पिपल मुनीको खाली ठाउँ नै खड्कबहादुरको काम गर्ने थलो बनेको छ भने उनलाई बस्नका लागि छहारी दिने चौतारी पनि । त्यहि छहारीमा बसेर दिनभर काम व्यस्त हुन्छन् उनी ।

हिंड्डुल गर्न उमेरले नदिएपनि हातले गर्न सक्ने, बोक्न नपर्ने काम खुकुरीमा धार लगाउने, खुकुरी, चक्कुमा बिंड राखिदिने, बिग्रिएका प्रेसर कुकर बनाउने या यस्तै हल्का काम गरेर अहिले उनको दैनिकी चलेको छ ।

उनको काममा सघाउने उनकी श्रीमति पनि सँगै हुन्छिन् । श्रीमतिको उम्मेर पनि उस्तै हो । “छोरा–छोरी छैनन्, घरबास छैन, अहिले कोठा भाडामा बसेर दुईजनाको जिन्दगी चलिरहेको छ, साँझ विहान खान र लाउन पुगेकै छ” उनले भने ।

विहेगरे पनि सन्तान नभएका खड्गबहादुरको जिन्दगीको सहारा कोही छैन सन्तान नभएपनि दुःख मानेका छैनन् उनले । “जीवन यस्तै हो बाबु, जे भगवानले दिएका छन् त्यहि हुन्छ, त्यहि गर्नु पर्छ” खुशी अनुहारमा उनले भने ।

साविकको फुलबारी गाविस हाल तुलसीपुर उपमहानगरपालिका अन्तरगत उनको स्थायी ठेगाना हो । तर घरमा गर्ने कोही नभएपछि अलि–अलि भएको घरबास पनि बेचेर घोराही आएको उनले बताए ।

“कृषि काम गर्न शरीरले दिएन, घरमा काम गर्ने कोही भएनन्, छोराछोरी छैनन्, फुलबारीमा अलि–अलि भएको घरबास पनि बचेर आएको हामी” उनले भने ।

२०७० सालतिर घोराही आएका उनीहरुले कोठा भाडादेखि औषधि खर्चसम्म आफैले जोहो गर्ने गरेको बताउँछन् । “काम गरेको पैसाले कोठाभाडा, दाल, चामल, तरकारी, औषधि खर्च जसोतसो भएको छ” उनले भने ।

उनले महिनामा दम र सुगरको नियमित खाँदै गरेको औषधि र कोठाभाडा मात्र ४ हजार बढी खर्च हुने गरेको बताउँछन् । खड्कहादुरले अझैसम्म सामाजिक सुरक्षा अन्तरगत बृद्ध भत्ता नलिएको र अब आउने महिनादेखि आफूले पनि बृद्ध भत्ता लिनका लागि दर्ता गराएको बताउँछन् ।

कागजपत्र नमिलेकाले आजसम्म बृद्धाभत्ता नपाएको सरहरले बताएको उनले जानकारी दिए । जीवनमा उनले उमेर र शरीरले सके अनुसार काम गरेको बताउँछन् खड्कबहादुर आले मगर । काम गर्नकै लागि भारतको कलकत्तासम्म पुगेका उनले सेक्युरिटी गार्डदेखि अहिले सामान्य खुकुरीमा धार लगाउने काम गर्ने अवस्थामा आइपुगेका छन् ।

“जब उमेर थियो नि त्यस समयमा भारतको कलकत्तामा सेक्युरिटी गार्डको काम गरे, त्यसपछि उमेर अलि बढी भयो नेपालका विभिन्न ठाउँमा फर्निचरको काम गरे, अब बुढो भए त्यस काम पनि सकेन, के गर्ने जे सक्यो त्यहि गर्नु पर्यो, अहिले यहि हो बसेर हातले गर्ने काम गर्छु” खड्गबहादुरले भने ।

काम गर्न नसकेपछि घरबास पनि बेचेको बताउने उनले अरुलाई जीवनको  उत्तरार्द्वमा पनि अझै कसैको सहयोग आवश्यक नपरेको आभास दिलाउँछन् ।

“भोलीको दिन के हुन्छ बाबु, कसलाई के थाह भयो र ? तर आज सक्ने काम गर्नु त पर्यो नि” अहिले पनि उस्तै जोसजाँगरका साथ उनले भने ।