• मंसिर १२ २०८१, बुधबार

आज शिवरात्रि : शिवलाई परम तत्व मान्नु पर्ने कारण के छ ?

फाल्गुन १७ २०७८, मंगलवार

देवादिदेव महादेव शिवको बारेमा केही कुरा भन्न खोज्नु वास्तवमा सूर्यलाई दियो देखाउनु जस्तै हुनेछ । तर पनि शिवको अध्ययन, आराधना गर्ने सन्दर्भमा केही कुरा भन्नु पर्दा उहाँ यति व्यापक हुनुहुन्छ कि उहाँको विषयमा हामीले चर्चा गरेर साध्य हुँदैन किनकि उहाँ स्वयम् असाध्य हुनुहुन्छ, अपरम्पार हुनुहुन्छ ।

उहाँको वर्णन हजार जिब्रो भएका शेषनागले समेत गर्न सक्दैन भने हामीजस्ता साधारण मानिसले कसरी गर्न सक्छौं र ? यो विश्व ब्रह्माण्डमा शिव व्याप्त हुनुहुन्छ ।

शिवसम्बन्धी अध्ययन मनन गर्ने सन्दर्भमा धेरै नै विधिहरू छन् जस्तै धर्म, दर्शन, योग, मन्त्र, तन्त्र आदि । त्यस्तै शिवको आराधना गर्ने सन्दर्भमा पनि विविध विधि छन् जस्तैः– पूजा, ध्यान, ज्ञान आदि ।
शिवसम्बन्धी गहिरो अध्ययन चिन्तन मनन गर्न धेरै नै कठीन कार्य हो । तर साधारणतया शिवसम्बन्धी अध्ययन गर्ने हो भने उहाँलाई हामीले दुई किसिमले आराधना गर्न सक्छौं ।

एउटा तत्व र अर्को धर्म पुरुषको रूपमा । वास्तवमा तत्वको हिसाबले शिव निराकार परमात्मा हुन् भने धर्म पुरुषको रूपमा शिव साकार महादेव हुन् ।

तत्व शिव : शिव त्यो परम तत्व हो जसबाट यो संसारको श्रृष्टि भयो र यो विश्व ब्रम्हाण्ड चराचर जीव जगतको बिस्तार भएको छ । यो विश्व ब्रम्हाण्ड चराचर जीव जगतको श्रृष्टिका साथै पालन पनि भैरहेको छ ।

तिनै शिव तत्व बाटै सारा जगतको लय पनि भैरहेको छ अर्थात् संहार भैरहेको छ । त्यसैले तत्वको हिसाबले शिव जगतका परमात्मा हुनु हुन्छ । सारा जगत उनैबाट उत्पन्न हुन्छ, त्यसैमा वृद्धि हुन्छ अनि त्यसैमा लय पनि हुने भएकाले शिव नै जगतको आत्मा हुनुहुन्छ अनि शिवलिङ्ग उनै निराकार परम आत्माका प्रतीक हुन् ।

धर्म पुरुष शिव :

धर्म पुरुषको हिसाबले शिव साकार शिवजी वा महादेव हुनुहुन्छ भने संसारमा प्रादुर्भाव हुनु भएर लोककल्याणका लागि शिवसम्बन्धी ज्ञानको उपदेश दिनु भएर सबैलाई बाटो देखाउनु भयो ।

उनै धर्मपुरुष शिवसम्बन्धी धर्मप्रचार गर्नु भएकाले नै उहाँलाई शिवजी भनिएको हो । त्यसैले शिवलाई कल्याणकारी शिव भनिएको हो । अनि उहाँ विभिन्न देवहरूका पनि देव हुनु भएकाले उहाँलाई महादेव भनिएको हो ।
शिवलाई ॐ को रूपमा लिइन्छ त्यसैले ॐ नमः शिवाय भनेर प्रार्थना गरिन्छ । ॐ अर्थात अ, उ, म, बिन्दु, नादरूपी शिवलाई नमस्कार गर्दै ॐ नमः शिवाय भनिएको हो ।

शिवलाई सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञ, निरञ्जन निराकारको रूपमा आराधना गरिन्छ भने महेश्वर रूप त्रिदेव ब्रह्मा, विष्णु, रुद्र अर्थात् धृष्टि, स्थिति, लय, मोक्षदाता महादेवको रूपमा पनि लिइन्छ ।

त्यसरी नै पञ्चमुखी महादेवको रूपमा सयोजात, बामदेव, तत्पु?ष, अघोर र ईशान रहेका छन् भने अष्ट शिवायको रूपमा शर्व, भव, रुद्र, पशुपति, भीम, उग्र, महादेव, ईशान रहेका छन् । त्यसरी नै अजैकपाद, अहिर्बुध्न्य, कपाली, पिनाकी, पिङ्गल, विरूपाक्ष, विलोहित, शास्ता, शम्भु, हर, त्र्यम्बक एकादश रुद्रायको रूपमा पनि विराजमान रहनु भएको छ ।

शिवजीले आफ्नो साकार रूपमा विचरण गर्नु हुँदा विभिन्न लोक कल्याणकारी कार्य गर्नु भएको र अनेकौं उपदेशहरू दिनु भएको पाइन्छ । एकदिन ब्रह्माले आफैले छोरी जस्तै गरेर पालेका अङ्गजा नामकी युवतीको रूपमा मोहित भई यौन सम्बन्ध राख्न पुगेछन् ।

अनि ब्रह्माले आफैलाई धिक्कार गर्दै शंकर रुद्रलाई भेटेर आफ्नो गल्ती बताएर शोक प्रकट गर्नु भयो । शंकर रुद्रले पनि उपदेश दिनु भयो– ‘नचमन्युस्त्वया कार्यो भावीन्यर्थे कदाचनः’ अर्थात् हुनुपर्ने नभई छोड्दैन भन्ने भावीको अर्थ बुझेर यसमा शोक नगर्नुस् । शिव रुद्रको कुरा सुनेर ब्रह्माको चित्त बुझ्यो अनि शिवलाई श्रद्धा गरे ।

एकपटक देवता र दैत्यहरू मिलेर समुद्र मन्थन गर्दा विष पो निस्केछ, जुन विषले यो संसारकै नाश हुने भएकाले उक्त विषलाई भगवान शिवले पिउने वित्तिकै घाँटी निलो हुनगई उहाँको नाम निलकण्ठ भएको हो ।

त्यही समयमा ऋृषिहरुले यस्तो विष पिएर हजुरलाई कष्ट भएन ? भनी सोधनी गर्दा उहाँले ‘यो विष त्यति कष्टदायक छैन, जति यो संसार कष्टदायक छ, त्यसैले महाविषरूपी यो संसारबाट मुक्त हुनुपर्छ’, भन्नुहुँदै उहाँले सांसारिक दुःखबाट मुक्त हुने उपाय ज्ञानयोगका उपदेश दिनु भयो ।

प्रजापति दक्षले रुद्र शिव र सतीदेवी दुवैलाई नबोलाई ठूलो यज्ञ गरे । शिवलाई नबोलाएको हुँदा दधिची मुनीले दक्षको विरोध गर्दै यज्ञस्थल छाडेर गए । यज्ञको कुरा थाहा पाएर सतीदेवीले साह्रै चित्त दुःखाएर बाबु दक्षकहाँ गएर हामीलाई किन नबोलाउनु भएको भनेर सोध्नुभयो ।

दक्षले शिवलाई निन्दा गरे । सतीदेवीले सहन नसकी यज्ञको ज्वालामा हामफालेर आफ्नो प्राण त्याग्नु भयो । जस्ले गर्दा शिव गण र दक्षका समर्थकहरू बीच ठूलो लडाइँ भयो र दक्षको यज्ञ ध्वंस भयो ।

अन्त्यमा शिवजीले दक्षको पशुत्व मारी दिनु भयो र दक्षले शिवसँग क्षमा मागे । अनि शिवले दक्षलाई अहङ्कारको दुष्परिणामवारे ज्ञान दिनु भयो र दक्षलाई पनि आफ्नो गाणपत्य दिनु भयो ।

यस प्रकार ब्रह्मापछि दक्ष पनि महादेवका समर्थक भए । तर शिवका विरोधी कट्टरपन्थी ब्राह्मणहरु अझै बाँकी रहे । सतीदेवीको अन्त्य भैसकेपछि शोक मत्थर पार्न महादेवले दारुक वनमा नाङ्गै भ्रमण गर्नु भयो अनि त्यहाँका ब्राह्मणले रिसाएर महादेवलाई गाली गरे तर महादेवले वास्ता गरेनन् ।

ती ब्राह्मणहरूले ढुंगाले हानेर, लठ्ठीले हिर्काएर शिवको लिङ्ग पतन गरिदिए । तर शिवले आफ्नो योग बलले ती ब्राह्मणह?लाई तर्साएर पछि ब्राह्मणहरूले पनि माफी मागे । अनि ती ब्राह्मणहरूलाई शिव भगवानले साङख्य योगको उपदेश दिनुभयो र तिनीहरू पनि ज्ञान परायण भएर शिवको समर्थक बने ।

त्यसपछि एक पटक भगवान शिव मानसरोवरमा विचरण गरिरहेको समय पारेर अन्धक (जालन्धर) नामक असुरले कैलाशमा आएर पार्वतीलाई हरण गर्ने प्रयास गरेको थाहा पाएर महादेव फर्कि आए ।

अन्धकलाई ज्ञानको त्रिशुलले मारिदिंदा उनको आत्मा (खराब मन) परिवर्तन भएर उसले पनि महादेवको गाणपात्य प्राप्त  गर्यो। त्यस्तै एकपटक राजा सोम (चन्द्रमा) ले आफ्नो गुरू पत्नीलाई स्वास्नी राखेकाले उहाँले सोमलाई दण्ड दिंदा सोमले महादेवको आराधना गर्ने गरे ।

त्यसपछि एकपटक त्रिपुरासुर दैत्यहरूले देवगणहरूलाई दुःख दिएकाले उहाँले देवगणका तर्फबाट युद्ध गर्दै त्रिपुर दैत्यहरूको अहंकार नाश गरिदिनु भयो । त्यस्तै फेरि देवताहरूका शत्रु शङ्खचूड दैत्यलाई पनि युद्धमा हराएर उसको अहङ्कार पनि नष्ट गरिदिनु भयो ।

तर यस प्रकार महादेवको अनुग्रहबाट देवताहरू विजयी भएको कुरा बिर्सेर हामीले नै दानवहरूलाई हराएको भनी अहङ्कार गरेकाले महादेवले देवताहरूले थाहा नपाउने गरी यक्षको भेष लिएर देवताहरूलाई पनि उनीहरूको अहङ्कार बोध गराउन ब्रह्मशक्तिको बोध गराई अन्तरध्यान हुनुभयो ।

यस प्रकार महादेवले लोकमा प्रादुर्भाव भएर विभिन्न क्रियाकलाप गर्दै शिवत्वको प्रचार प्रसार गर्नु भएको कुरा हामीले थाहा पाउन सक्छौं । खास गरेर महादेवका विभिन्न पक्षमध्ये एउटा महत्वपूर्ण पक्ष समय समयमा उहाँले दिनु भएका उपदेशहरू हुन् ।

उहाँका विभिन्न उपदेशमध्ये पनि एउटा प्रमुख उपदेश अष्टाङ्ग योगको मात्र अनुशरण गर्न सकेमा हाम्रो जीवन सार्थक हुनेछ । अष्टाङ्ग योगलाई पछि ऋषि पतञ्जलिले लोककल्याणका लागि प्रचार प्रसार गरे । आज आएर त्यही अष्टाङ्ग योगलाई पतञ्जलि योग भन्न थालियो ।

अष्टाङ्ग योगको अनुशरण गर्न सकेमा हामीलाई यम, नियम, संयमको ज्ञान भएर आध्यात्मक ज्ञानको बाटोमा जान सकिन्छ जसबाट मोक्षको उद्देश्य सहज हुन सक्छ । किनभने यम भनेको ५ वटा कुरा अहिंसा, सत्य, अस्तेय (चोरेर नलिने), ब्रह्मचर्य र अपरिगृह (चाहिने भन्दा बढी नलिने) हुन् ।

अनि नियम भनेको ५ वटा कुरा शुद्धता, सन्तोष, स्वाध्याय, तप, र ईश्वर प्रणिधान हुन् । त्यस्तै संयम भनेको ध्यान र समाधिको कुरा हो । साधारण मानिसहरू ध्यान र समाधिको बाटोमा जान नसक्लान् तर यम, नियम मात्र पालन गर्न सकेमा हामीले आफ्नो चरित्र निर्माण गर्न सक्छौं ।

यो आजको समयमा राष्ट्रका निम्ति, समाजका निम्ति नभई नहुने भएको छ । त्यसैले यस कुरालाई बुझेर भगवान शिवको अष्टाङ्ग योगको अनुसरण गर्ने तर्फ मन दिएर आफ्नो जीवन सार्थक बनाउनु पर्छ ।

शिवलिङ्ग (निराकार शिवको प्रतीक) वा महादेवको मुहार मात्र संझेर वा उहाँको मूर्तिलाई मात्र नमस्कार गरेर वा अक्षताले पूजा गरेर मात्र शिवलाई संझेको हुन सक्दैन ।

महादेव शिवको उपदेश पालन गर्नु नै उहाँलाई साँच्चिकै सम्झेको वा स्तुति गरेको ठहर्छ । यही शिव संझना हो । यही शिवरात्रीको महत्व हो । अनि यही नै वास्तवमा धर्मको पनि पालन हो ।