काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका लागि ८० दलले निवेदन दिएका छन् । निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका दलले स्थानीय पालिकाहरुमा भाग लिनेगरी निवेदन दिएका हुन् ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५ देखि १५ सम्म निवेदन दिन आग्रह गरेको थियो ।
आयोगमा निवेदन दिएका ८० दलले मात्रै देशैभरिका वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा निर्वाचन लड्न सक्नेछन् ।
आयोगमा दर्ता भएका राष्ट्रिय दलको मान्यता प्राप्त ६ पार्टीसँगै अन्य साना दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि निवेदन दिएका हुन् । आयोगमा ११० वटा राजनीतिक दल दर्तामा थिए । एउटा थपिएपछि दलको संख्या १११ पुगेको छ ।
निर्वाचन आयोगमा २०७८ साउन १९ को निर्णयअनुसार दर्ता रहेको नेपाः राष्ट्रिय पार्टी नामक राजनीतिक दल आयोगले दर्ता खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
सर्वोच्चले गत पुस २१ मा दल खारेज नगर्न अन्तरिम आदेश दिएको थियो । योसँगै साबिककै दल दर्ता कायम भएपछि दलको संख्या १११ पुगेको हो ।
स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्न खरिद सम्झौतासमेत भएको छ । आयोगबाट फागुन १६ मा चुनावका लागि तयारी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लेखिपठाउने निर्णय गरेको छ ।
२०७९ वैशाख १० सम्म कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । त्यसैगरी स्थानीय तह सदस्य निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।