• मंसिर ११ २०८१, मंगलवार

महाशक्तिहरुको मुर्खताले संसार खरानी नबनोस् !

फाल्गुन १६ २०७८, सोमबार

संसार यतिबेला रुस–युक्रेन युद्धका बारेमा चर्चा गर्दै गुज्रिरहेको छ । मिडियाहरुमा खासगरी २ खाले धारणाहरु आएका पाउन सकिन्छ । १) रुसले युक्रेनमाथी आक्रमण गरेर विश्वमा अशान्ति फैलाएको छ । २) अमेरिका र युरोपले रुसमाथी गरेको शत्रुतापूर्ण व्यवहारको रुसी जवाफ । यी २ थरी बहस आआफ्ना ठाउँमा सही होलान् । किन कि विविध खाले विश्व विचारमा बाँडिएको आजको विश्वमा विश्वको कुनैपनि स्थानमा विश्वलाई नै प्रभावित पार्नेगरी हुने यस्ता घटनाहरुले धेरैलाई केही न केही बोल्न वा पक्षधरता देखाउन बाध्य पार्दछन् ।

यसपटकको रुस–युक्रेन युद्धमा पनि विचार र व्यवहारका हिसावले विश्व २ ध्रुबमा विभक्त भएकै छ । संसारमा आफूलाई शक्तिशाली देखाउन विभिन्न देशहरुले गरेका हतियार उत्पादनमा जुन प्रतिष्पर्धा छ, यसले दुनियाँलाई एकदिन रुवाउने त छ नै र यसबाट बच्नका लागि आजैबाट विश्व महाशक्तिहरुलाई सचेत नगराउने हने विश्वले धेरै ठूलो मानवीय क्षति व्यहोर्नु पर्ने हुनसक्छ ।

विश्लेषकहरु विश्वको राजनीति, अर्थनीति र सामरिक महत्वका हिसाबले ३ थरी विचारबाट चलिरहेको बताउँछन् । पहिलो, अमेरिका लगायत पश्चिमा मुलुकहरुले लिएको विचार जसले आज विश्वमा राज गरिरहेको दावी गरिन्छ । अर्को हो कम्युनिस्ट विचार सहितका विचार, जसको अगुवाई रुस, चीन र उत्तर कोरियाले गरेका छन् । अर्को हो, मुस्लिम जगत, जसले बिसौं वर्षदेखि अमेरिकाको दमनका विरुद्ध प्रतिवाद गरिरहेको छ ।

एक्काइसौं सताव्दीको विज्ञान र प्रविधिको उच्च विकास भइरहेको हाजको समयमा बिसौं सताव्दीमा जस्तो एउटैथरी विचार, नीतिले आजको विभाजित विश्व चल्दैन । फलस्वरुप आज संसारभर विविध विचारहरुको जन्म भइरहेका छन् । त्यसकारण यसरी विकास भएर आएका विचारहरुलाई सबैले स्वीकार्नु पर्दछ । जब विचारमा निषेध गर्न खोजिन्छ, तब द्वन्द्व शुरु हुन्छ । एकले अर्कोको अस्तित्व स्वीकार नगर्दा नै विश्वमा हिजो र आज पनि विवाद र युद्धहरु भइरहेका छन् ।

एकले अर्काको अस्तित्व स्वीकार गर्नु भनेको कसैको दासत्व स्वीकार गर्नु होइन । ‘विचारमा प्रतिष्पर्धा गर्न देऊ तर प्रतिबन्ध नलगाऊ’ भन्ने नारा अब विश्वभर लगाउनु पर्दछ । आज संसारमा पुँजिपतिहरुले राजगर्ने र गरिबलाई दमन गर्ने वा लुट्ने नीति लिएकै कारण अमेरिका र युरोप मातिरहेका छन् । र उनीहरुले पूर्वीय विचारमाथी प्रतिबन्ध पनि लगाइरहेका छन् । उनीहरु ‘अमेरिका फर्स्ट’ भन्दै कुर्लिरहेका छन् र अरुमाथी दमन गरिरहेका छन् र अरुलाई तुच्छ देखिरहेका छन् । घृणा गरिरहेका छन् । यो सर्वथा गलत छ ।

युद्धबाटै सबै चीजको फैसला गर्न खोज्नु रुसको मनसाय हो भने त्यो गल्ती हुनेछ तर उसलाई जसरी घेराबन्दी गरेर सिध्याउन उसका वरपरका छिमेकीलाई प्रयोग गरिएको थियो । त्यसको दरिलो जवाफ भने रुसले दिनै पनै थियो तर यसको भन्दैगर्दा हामीले युद्धको समर्थन गर्न हुँदैन ।

अबको विश्वले यस्तो खाले विचारलाई गलत हो भन्न सक्नु पर्दछ । पश्चिमाहरु आज पनि युरोपमा भएको विकास नै अन्तिम विकास हो र त्यसको प्रतिष्पर्धी विचार बोक्नेलाई राक्षसको संज्ञा दिइरहेका छन् । आज रुसले उनीहरुको यस्तोखाले नीतिको जवाफ दिइरहेको धेरैको बुझाइपनि रहेको पाइन्छ । यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी नै छ । मै खाऊँ….. भन्ने नीति लिएका कारण जब कसैको अस्तित्व स्वीकार नगरी अर्कोमाथी दमनका चक्रहरु चलाइन्छन् नी, त्यसको उपयुक्त समयमा जवाफ विश्वले दिइहाल्छ ।

आज रुसले युक्रेनमाथी जुन किसिमको र जुन स्तरको हमला गरिरहेको छ, यसबाट युक्रेनको अस्तित्व बच्छ की बच्दैन त्यो हेर्न बाँकी नै छ तर अमेरिका लगायतका विश्वका देशहरुले युक्रेनलाई प्रयोग गरेर रुसमाथी जुन किसिमका षडयन्त्रहरु रचिरहेका थिए, त्यसको जवाफ भने रुसले दिएकै छ । किन कि युक्रेन हिजो रुसकै अंग हो । जब कमजोर अवस्थामा रहेको रुसलाई दमनकारी सन्धि र सम्झौताहरु लादियो र उसमाथी अमानवीय व्यवहार गरियो, आज त्यो अपमानको जवाफ रुसले दिइरहेको छ ।

हिजोसम्म रुस विरुद्ध लडाउनका लागि उसले युक्रेनलाई जसरी मोहडाको रुपमा प्रयोग गर्यो तर जब स्थिति कि वार कि पारको अवस्थामा आइसकेको थियो ठिक त्यति नै बेला अमेरिका र पश्चिमा देशहरुले युक्रेनको साथ छोडेका छन् । यसले दुश्मनका विरुद्ध दुश्मनकै भाईबन्धुको प्रयोग गर्ने तर अन्तिममा खुट्टा छोडेर भाग्ने स्वार्थी प्रवृति जुन देखिएको यो पक्कै पनि बेइमानी र छलछामको गलत कुटनीति हो भन्ने स्पष्ट भएको छ ।

यस्तो स्वार्थी प्रवृतिले कसैको पनि हित गर्दैन । यस्तै गर्दैगर्दै जाने र विवादको चरम उत्कर्षतिर पुग्दा विश्वलाई युद्धको भुमरीमा धकेल्ने दुष्प्रयास भएमा त्यसको जिम्मेवारी कसले लिन्छ ? यसको जिम्मा उसैले लिनु पर्दछ, जसले आफ्नो स्वार्थ पूरा गर्नका लागि अर्कोलाई मोहडा बनाएर प्रयोग गर्दछ ।

त्यसकारण एकले अर्कोको अस्तित्व स्वीकार नगर्ने स्वार्थी, गलत र अपराधि मनोवृत्ति नरोक्ने हो भने भोलीका दिनमा मान्छेले मान्छे मार्नकै लागि बनाएका आणविक हतियारको दुरुपयोग भयो भने त्यो महागल्तीको भागिदार, सजायको कारण र परिणाम हो हुने ? यस्ता गम्भीर प्रश्नको जवाफ अबको मानिसले खोज्नै पर्दछ । रुस, अमेरिका, चीन, युरोप र उत्तर कोरिया जस्ता आणविक अस्त्र निर्माणमा लागेका देशहरुले यी र यस्ता प्रश्नको जवाफ दिनै पर्दछ ।

युक्रेनमाथी रुसी हमला भइरहेको यो समयमा जापानका पूर्वप्रधानमन्त्रीले एक सन्देश जारी गर्दै विश्वलाई एकचोटी झस्काएका छन् । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेले आइतबार उनको देशमा लामो समयदेखि जारी एक प्रतिबन्धलाई तोड्नुपर्ने बेला आएको र परमाणु हतियारमाथि सक्रिय बहस सुरु गर्नुपर्ने समय आएको बताएका हुन् । युक्रेनमाथि रुसी हमला भइरहेका बेला आबेको यो टिप्पणी निकै महत्वपूर्ण मानिएको छ ।

आबेले एक टिभी प्रोग्राममा भनेका छन् ‘जापानले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेको छ र यसमा तीन गैरपरमाणु सिद्धान्त छन् तर संसारलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्नका लागि केही प्रतिबन्ध लगाइएको छैन ।’ जापान टाइम्सका अनुसार युक्रेनले सोभियत युनियनबाट अलग्गिने बेला सुरक्षाको प्रत्याभूतिका लागि केही परमाणु हतियार राखेको भए सायद उसले रुसी हमलाको सामना गर्नुपर्ने हुने थिएन भनेर आबेले बताएका छन् ।

आबेले भने, ‘जापानले लगातार भन्दै आएको छ कि एशियाको सुरक्षाको वातावरण लगातार खराब भइरहेको छ । यसमा चीनको बढ्दो आक्रामक र उत्तर कोरियाको परमाणु कार्यक्रम पनि समावेश छन् । जापानले ती खतरालाई कसरी कम गर्न सक्छ भनेर नेटोको न्यूक्लियर–शेयररिङ व्यवस्था एउटा उदाहरण हो ।’

उनको यो भनाइको धेरै महत्व रहेको छ । आर्थिक, साँस्कृति तथा सामरिक महत्वका हिसाले जसरी विश्व विभाजित भएको छ, त्यसैगरी र त्यही स्तरमा विश्वका मानिसको चिन्ता नलिने तर शक्ति आर्जनका लागि हतियार उत्पादनमा होडबाजी  गर्ने हो भने यति सुन्दर मानववस्ती तथा चराचर जगत नै नष्ट हुनेगरी बनाइने आणविक हतियारले कसैको हित गर्दैन ।

यसको अन्त्य गर्दै विश्वमा शान्ति र मैत्रिभाव स्थापना गर्ने हो भने विश्वका महाशक्ति देशहरु र अन्य देशहरुले समेत आणविक हतियार नष्ट गर्ने र आगामी दिनमा तयस्ता घातक हतियार उतपादन नगर्ने प्रतिवद्धता गर्नै पर्दछ । नत्र ‘लगन पछिको पोते के काम’ भनेझैं विश्व ध्वस्त भइसकेपछिको निर्णयले कुनै अर्थ राख्ने छैन ।