• मंसिर ११ २०८१, मंगलवार

ॐ नम शिवाय : महाशिवरात्रि विशेष

फाल्गुन १६ २०७८, सोमबार

यसपालिको महाशिवरात्रि पर्व भोली फागुन १७ गते परेको छ । यसै फागुन १० गतेदेखि वृहस्पति अस्त भएकाले पहिलोपल्ट पशुपतिनाथको दर्शन गर्न आउने भक्तहरुको भने कमी हुन सक्छ । ॐ नम : शिवाय यो मन्त्र वेदान्तको सार हो । मानव सर्वस्व हो । यसले मानिसका सबै किसिमका पापहरु नाश गर्दछ । मानवमात्रको उद्धारक हो यो !

यसले कलिको कल्मषलाई हटाउँछ । आचारहीन मनुष्यलाई पनि सद्गति प्रदान गर्छ । धर्म, अर्थ, काम र मोक्ष चाहनेले शिव तत्वमा प्रवेश गर्नुपर्ने हुन्छ । ४ किसिमका पुरुषार्थ शिवतत्ववाट प्राप्त हुन्छ । शिव पुराणले यसको चर्चा बढी गरेको छ । यो वेदस्वरुप हो, शिवपुराणमा १२ संहिताहरु छन् । (१) विद्येश्वर संहिता (२) रुद्र संहिता (३) विनायक संहिता (४) उमा संहिता (५) मातृ संहिता (६) एकादशरुद्र संहिता (७) शतरुद्र संहिता (८) कैलाश संहिता (९) कोटीरुद संहिता (१०) सहश्रकोटीरुद्र संहिता (११) वायवीय संहिता (१२) धर्म सहिता । यसरी मूल शिवपुराण १२ खण्डमा विभाजित छ । १२ वटै संहिताहरु अत्यन्त पावन र पुण्यमय छन् ।

विधेश्वर संहिता–१० हजार श्लोक, रुद्रसंहिता– ८ हजार श्लोक, विनायकसंहिता–८ हजार श्लोक, उमा संहिता ८ हजार श्लोक, मातृसंहिता–८ हजार श्लोक, एकादशरुद्र संहिता १३ हजार श्लोक, कैलाश संहिता ६ हजार श्लोक, शतरुद्र संहिता–३ हजार श्लोक, सहश्रकोटी रुद्र संहिता–११ हजार श्लोक, वायवीय संहिता–४ हजार श्लोक, धर्म संहिता १२ हजार श्लोक, कोटीरुद्र संहितामा–९ हजार श्लोकहरु छन् । मूलशिवपुराणको श्लोक संख्या १ लाखको छ ।

व्यासजीले यसलाई २४ हजार श्लोकमा संक्षेपीकरण गरिदिनुभयो । पुराणको क्रमसंख्यामा यो चौथो हो, यसमा ७ संहिताहरु छन् । पूर्व कालमा पुररण एक सय करोडको एउटै थियो । शिवजीले प्रतिपादन गर्नु भएको ! सृष्टिको उषाकालमा यो एउटा विशाल साहित्यको भण्डार थियो । साह्रै विस्तृत पनि थियो । द्वापरयुगमा व्यासजीले यो विशालतम साहित्य ग्रन्थलाई १८ भागमा विभाजित गरिदिनुभयो । अव पुराणहरुको श्लोक संख्या ४ लाखमा सीमित हुन पुग्यो । यस मध्ये शिवपुराणको श्लोक संख्या केवल २४ हजार मात्र रह्यो । ७ वटा संहिताहरु यसप्रकार छन् ।

विधेश्वर संहिता, रुद्र  संहिता, शतरुद्र संहिता, कोटीरुद्र संहिता, उमा संहिता, कैलाश संहिता, वायवीय संहिता । अन्य पुराणभन्दा शिवपुराण उत्कृष्ट गतिदाता हो । जीवमात्रको उपकारक, त्रिविध तापनाशक, तुलना रहित अतुलनीय छ यो ! सत्पुरुषलाई यसले कल्याण दिन्छ, वेदान्त र विज्ञानमय छ यो पुराण, निश्काम भावयुक्त छ । इष्यारहित बनाउँछ व्यक्तिलाई यसले ! शिव तत्व, शिव मर्म, शिव धर्म, प्रणव मन्त्रको संकलन हो यो । धर्म, अर्थ, काम, मोक्षको साधन हो । जो आदरपूर्वक पढ्छ जो आदरपूर्वक सुन्दछ ऊ परमगतिमा प्राप्त हुन्छ । शिवपुराण भक्ति, ज्ञान र वैराग्यको त्रिवेणी हो ।

ऋषि महर्षिहरुलाई प्रयोगमा सुतजी शिवतत्व सुनाउनु हुन्छ । संपूर्णरोग, राग, शोकबाट टाढा राख्ने शिव महिमा, शिव पुराण, सद्वस्तु हो । सदगति दिने सर्वस्व नै हो । हामीलाई कुनै वस्तु साह्रै प्यारो लाग्छ कुनै पटकै प्यारो लाग्दैन । अमुक वस्तु एउटालाई प्यारो लाग्छ अर्कोलाई नलाग्न सक्छ । सवव्यक्तिहरु शंकालु हुन्छन् । शंका समाधान गर्न विद्धुतसभाको आवश्यकता पर्छ । ऋषिमहर्षि, पथप्रदर्शकहरु मिलेर एकपटक ब्रह्माजी गए । सबैले मिलेर प्रार्थना गर्दै भने–कि हे बहमन् हजूर सर्वज्ञ हुनुहुन्छ । जगत्को धारणा र पोषण गर्नु हुन्छ । परात्पर पुराणपुरुष के हो ? को हो ? कस्तो होला ?

व्रह्माजी भन्नुहुन्छः– जसवाट व्रह्मा, विष्णु, रुद्र, इन्द्र प्रकट भए, संपूर्ण व्रहमाण्डको रचना भयो । संपूर्ण प्राणीहरु सृष्टि भए, त्यस्ता देव, आदिदेव, परमदेव महादेव सर्वज्ञ हुनुहुन्छ, सर्वेत्कृष्ट हुनुहुन्छ, भक्तिवाट उहाँलाई साक्षात्कार र एकाकार गर्न सकिन्छ । रुद्र, हरि, हर र अन्य देवेश्वरहरु जसलाई भक्तिभावले जसको दर्शन गर्न चाहनुहुन्छ भगवान शिवसँग प्रीति राख्नाले व्यक्ति भव बन्धनवाट छुट्छ । देवताका कृपा प्रसाद प्राप्त भएपछि यस्तो परमभक्ति भक्तलाई प्राप्त हुन्छ ।

जसरी एउटा बीजबाट अंकुर पैदा हुन्छ । अंकुरबाट बीज पैदा हुन्छ ठीक त्यस्तै देवताका प्रसादले भक्ति प्राप्त हुन्छ र भक्तिले देवता प्राप्त हुन्छ । भगवान शिव यज्ञपुरुष हुनुहुन्छ । यज्ञपुरुषको कृपाबाट साध्य र साधनको ज्ञान हुन्छ । साध्यका लागि साधनभक्ति प्राप्त भई मनुष्यलाई परमगति प्राप्त हुन्छ । शिवतत्ववाट शिवपद प्राप्ति गुर्न मानिसको साध्य हो ।

उहाँको सेवा गर्नु साधन हो, साधनाद्वारा साधकले साध्य प्राप्ति गर्न सक्छ । अनुष्ठानको फल व्यक्तिले शिव पादमा अर्पण गर्नुपर्ने हुन्छ । समर्पण गर्नुपर्ने हुन्छ । परमेश्वर पद प्राप्तिको सरल मार्ग यही नै हो । यस कर्मबाट सालोक्य मुक्ति प्राप्ति हुन्छ । भक्तिका साधन धेरैवटा छन् । मूलरुपमा भक्तिको साधन हो कान । कानबाट भगवानका नाम, गुण, लीला, अवतार कथा श्रवण गरिन्छ । बाणीद्वारा नामोच्चारण हुन्छ, भजन हुन्छ, किर्तन हुन्छ, मनद्वारा चिन्तन हुन्छ, मनन हुन्छ, मनोमथन हुन्छ ।
श्रोत्रेण श्रवणं तस्य वचसा कीर्तनं तथा ।
मनसा मननंं तस्य महासाधनमुच्यते (शि.पु.विधे.३÷२१–२२)

प्रत्यक्ष देख्ने काम आँखाबाट हुन्छ, देखेपछि प्रमाण हुन्छ, भरपर्दो हुन्छ, विश्वसनीय हुन्छ । वाह्य आँखा भन्दा पनि दिव्य आँखाले यथार्थ भेटिन्छ, देखिन्छ । मानिस बुझेर, देखेर त्यसको प्राप्ति तर्फ उन्मुख हुन्छ । पैले साधन श्रवण नै हो, नवधा भक्तिमा प्रवेश गर्दा सुरुमा श्रवण मै जानुपर्ने हुन्छ । गुरु मुखबाट तत्वज्ञान श्रवण गरिन्छ । श्रवणपछि व्यक्ति साधनतिर उन्मुख हुन्छ, साधन किर्तन हुन सक्छ, चिन्तन र मनन हुन सक्छ । विस्तारै व्यक्तिलाई यसपछि शिवको संयोग हुन जान्छ, लौकिक आनन्ददेखि माथि उठेर अलौकिक आनन्दको अनुभूति गर्न थाल्छ व्यक्ति !

शिवको पूजा गर्नु, उनको नाम जप्नु, उनको गुण, रुप चित्रमा प्रवृत्त गराउनु चिन्तन हो, मनन हो, महेश्वरको कृपा दृष्टिले जीवले शिवत्व प्राप्ति गर्छ । शिव प्राप्ति जीवको उद्देश्य हो, आकांक्षा वा साध्य हो । हामीले सत्यवस्तुको चिन्तन गर्नु वेस हुन्छ । सत्य वस्तु भनेको शिव हो, जोसँग साक्षात्कार गर्न सकेमा सर्वकल्याण हुन्छ । सर्व रुद्र कल्याणका लागि भक्ति साधना श्रवण, कीर्तन र मनन् जरुरी छ ।

शिव शंकरको बारेमा श्रवण, कीर्तन र मनन गर्नाले महत्तम साधना सिद्धि हुन्छ । भगवान शिवका आज्ञाले सन्तकुमारलाई नन्दीश्वरले शक्ति दिनुभयो । सबैका स्वामी शिव गणका स्वामी भगवान नन्दीश्वर हुनुहुन्छ । मुक्तिको उत्तम साधन उहाँले नै बताउनु भयो । मुक्तिको साक्षात् कारण, श्रवण, कीर्तन र मनन नै हो, वेद सम्मभत छ यो ! मुक्तिको उपाय भक्ति हो भक्ति को स्वरुप श्रवण हो, कीर्तन हो र मनन हो ।

यी ३ साधनमा रत हुन नसक्नेका लागि अर्को उपाय छ, भगवानको साकार विग्रहको साधना गर्ने अर्थात् पूजा गर्ने, शिव लिंग स्थापना गर्ने, मुर्तिको नित्य पूजा गर्ने, नित्य पूजा गर्नाले संसार सागरबाट पार हुन सकिन्छ । गच्छे अनुसार, शक्ति अनुसार आफ्नो धनराशि शिव मूर्तिमा सुम्पिनु पर्ने हुन्छ, अर्पण गर्नुपर्ने हुन्छ । शिव लिंग एवं शिव मूर्तिको पूजा गर्नुपर्ने हुन्छ । भक्ति भावले मण्डप निर्माण गर्ने, तीर्थ स्थापना, मठ निर्माण, क्षेत्र स्थापना, उत्सवको आयोजना गर्नुपर्ने हुन्छ ।

वस्त्र, गन्ध फूल, दिप, नैवेध समर्पित गर्नुपर्ने हुन्छ । छत्र, ध्वजा, व्यञ्जन, चामर, सम्पूर्ण साधनले राजोपचारले पूजा गर्नुपर्ने हुन्छ । प्रदक्षिणा, नमस्कार, यथा शक्ति जप गर्नुपर्ने हुन्छ । आवाहनदेखि विसर्जनसम्म प्रतिदिन भक्तिभावले गर्नुपर्ने हुन्छ । यसरी अनुष्ठान पूजा गर्नाले, श्रवण, कीर्तन, मनन गर्न नसक्नेहरुलाई पनि सोको फल प्राप्ति हुन्छ । धेरै ऋषि, महर्षि, व्रह्मज्ञानीहरु शिवजीको पूजा आराधना गरेर उनीहरु भवबन्धनवाट छुटे ।

सबै देवताहरुको मूर्तिमा पूजा हुन्छ । परन्तु शिवजीको मूर्ति वा लिंगमा पूजा हुन्छ । यो शंका भने महादेव भन्दा अरुले निवारण गर्न सक्तैनन् । शिवजीलाई २ रुपबाट चिन्तन गर्न सकिन्छ । सगुण साकार रुप र निर्गुण निराकार रुप ! निराकार भएकाले शिवजीको शिव लिंगमा पूजा हुन्छ । शिव लिंग शिवको निराकार स्वरुप हो ।

शिवको साकार स्वरुप उनको स्वरुप मूर्ति हो । अंग आकारले युक्त साकार हो भने अंग आकारले रहित निराकार हो । यसै कारणले मानिसहरु निर्गुण वा सगुणको स्वरुप पूजा गर्छन् । शिव बराबरका आत्मदेवता अर्का छ्रैनन् । अघि सनतकुमार र भगवान नन्दीश्वरका बिच यस्तै वार्ता भएको थियो । निस्पाप सनतकुमारलाई नन्दीश्वरले भन्नु भएको थियो । शिव लिंग स्वय व्रह्म स्वरुप हो, यो गोपनीय विषय हो । परन्तु शिव भक्त भएकाले मैले यहाँलाई श्रवण गराएको हुँ भन्नुभएको छ नन्दीश्वरले !

नन्दीकेश्वर भगवानले सनतकुमारको प्रश्नमा महादेवको निराकार स्वरुप शिव लिंगको प्रादुर्भावको प्रसङ्ग सुनाउनु भएको होे । शिव लिंगको शिर भाग र फेद भाग पत्ता लगाउने बारे ब्रम्हा र विष्णुका बिच विवाद भएछ । यो विवादवाट देवताहरुमा ब्याकुलता छाएछ, चिन्ता भएछ, देवताहरुले किन कैलाशमा गएर चन्द्रशेखर भोलेनाथ शिवजीको स्तुति विन्ती गरेछन् ।

महादेव भोलेबाबा, ब्र्रह्मा र विष्णुको विवाद भएका ठाउँमा आइपुग्नु भएछ । भीषण शिव लिंग अग्नि स्तम्भका रुपमा प्रकट भएछ त्यहाँ र यसको शिर भाग र फेद भागको पत्ता लगाउनु भन्ने आदेश भएछ । शिवबाट ! शिवजीको त्यो अग्नि स्तम्भको गहिराइ र उचाइ नाप गर्न अर्थात् यो पत्ता लगाउन ब्रह्मा र विष्णु हिंड्नु भएछ, यसै प्रसङ्गमा केतकी पुष्पलाई श्राप एवम् वरदान समेतको कथा प्रसंग विद्येश्वर संहिताको अध्याय ५ देखि ८ सम्ममा वर्णन गरिएको पाइन्छ ।

तत्पश्चात् ब्रह्मा र विष्णुले मिलेर शिवलिंगको पूजा गर्नुभयो । दुवै हात जोडेर शिवजीको निराकार रुपलाई दायाबायाँ भागमा राखी चूपचाप खडा भैरहनुभयो । प्राकृत वस्तु र पुरुष वस्तुमा फरक के छ भने दीर्घकालसम्म स्थिर भएर रहनेलाई पुरुष वस्तु भनिन्छ । अल्पकाल मात्र रहनेलाई प्राकृत वस्तु भनिन्छ । यसै क्रममा पुरुष वस्तु शिव लिंगमा ब्रह्मा, विष्णु दुवैले विभिन्न साधनहरुद्वारा पूजा गर्नुभयो । हार, नुपुर, केयुर, कीरिट, मणिमय कुन्डल, जनै, उत्तरीया वस्तु, पुष्पमाला, रेशमी वस्तु, हार मुद्रिका, पुष्प, ताम्वुल, कपुर, चन्दन, धुप, दीप, स्वेतछत्र, ध्वजा, चामार अन्यान्य दिव्य उपहार अर्पण गरी पूजन गर्नुभयो ।

बद्धजीवलाई पशु भनिन्छ । पशुको मालिकलाई पशुपति भनिन्छ । ब्रह्मा विष्णु दुवैले सर्वप्रथम शिव लिंगको पूजा गर्नु भएकोले शिवजी प्रसन्न भई भन्न लाग्नु भयो । तपाईंले आज मेरो पूजन गर्नुभयो, सर्वप्रथम ! तपाईंहरुबाट म निकै प्रसन्न भएँ । आजको दिन महान दिन हो, आजको तिथि शिवरात्रीको नामले विख्यात भएर सवैका लागि प्यारो हुन्छ । जसले आजको दिन पर्व पारेर मेरो पूजा विशेष किसिमले गर्छ उसले सिद्धि प्राप्त गर्छ ।

सृष्टिदेखि पालन गर्नेसम्मको काम अब तपाईंरु ब्रह्मा र विष्णुले गर्न सक्नुहुन्छ । शिवरात्रीमा निराहार ब्रत राख्नाले जितेन्द्रीय भएर शक्ति अनुसार पूजा गर्नाले, निश्चल भावले भजन पूजन स्तुति बन्दना गर्नाले के फल प्राप्ति हुन्छ त्यो म बताउँछु भनी स्वयम् शिवजी भन्नुहुन्छ । शिवरात्रीमा मेरो पूजा गर्नेले मलाई प्राप्ति गर्छ । धर्मको वृद्धि गर्ने दिन भनेको शिवरात्री नै हो ।

ज्योतिर्मय ढंगले म जहिले प्रकट भएँ त्यो समय भनेको मंसीर महिना शुक्लपक्ष, पूर्णिमा तिथि, आद्रा नक्षत्र हो । जसले मंसीर महिनामा आद्रा नक्षत्रले युक्त दिनमा पार्वती सहित मेरो दर्शन गर्छ वा मेरो मूर्तिमा, लिंगमा पूजा गर्छ, विशेष यजन पूजन गर्छ त्यो मेरो लागि मेरो पुत्र गणेश, कुमार भन्दा पनि प्यारो हुन्छ । यो शुभ दिन पूजा गर्न नसक्नेले मेरो दर्शन गर्नाले मात्रै पनि पुण्य प्राप्ति गर्न सक्छ । दर्शनका साथमा पूजा पनि गर्नेलाई अक्षय फल प्राप्ति हुन्छ ।

शिव लिंग भोग, सुख र यस दिनेवाला हुन्छ । दर्शन, स्पर्शन, ध्यानले प्राणीको जन्म जन्म सम्मको पाप नास हुन्छ । मृत्यु सरल र बिना कष्ट अनि अभय समेत प्राप्ति हुने साधन हो यो ! जहाँ शिव लिंग प्राकाट्य भयो त्यो क्षेत्रलाई अरुणाचल भनिन्छ । अन्य तीर्थहरु यहिँबाट प्रकट हुन्छन् । अरुणाचलमा मानिसको प्रवेश वा त्यहाँवाट विदाइ हुनाले व्यक्तिले मोक्ष प्राप्ति गर्नसक्छ । भगवान भन्नुहुन्छ मेरा दुई रुप छन् निराकार रुप व्रम्ह भाव हो भने साकार रुप महेश्वर भाव हो ।

दुवै मेरो सिद्ध रुप हो । परब्रह्म परमात्मा भनेको मै हुँ । जीवात्माहरु सबैमा अनुग्रह गर्ने मेरो काम हो । सबै भन्दा वृहत् हुनाले जगतको वृद्धि म स्वयम् गर्छु–यो मेरो कार्य हो, यसैले मलाई ब्रह्म भन्दछन् । सर्वत्र छु, सर्वव्यापी छु, सवैका आत्मामा छु, म सबैको ईश्वर हुँ, परमेश्वर मेरो नाम हो । मैले मेरो ब्र्रह्ममय दर्शाउन लिंग स्वरुप प्रकट भएको छु पछि अज्ञात ईश्वरको साक्षात्कार गर्न जगदीश्वरका रुपमा साकार रुप लिएको हुँ । ममा जे ईश्वर रुप छ त्यही सगुण÷साकार रुप हो । भगवान भन्नुहुन्छ अरु मेरो यो दुवै रुपमा हे ब्रम्ह, हे विष्णु तपाईंहरु पूजा गर्नुहोस् ।

संसारमा ५ मुख्य तत्व छन् । सृष्टि, स्थिति, संहार, तिरोभाव, र अनुग्रह ! यी ५ तत्व नै ब्रह्माण्ड सम्वन्धी कार्य हुन् । संसारको रचनालाई आरम भनौं या सर्ग या सृष्टि भनिन्छ । सृष्टिलाई संरक्षण गर्नु स्थिति हो, संरक्षण गर्ने कार्य शिवको पालन स्वरुप कार्य हो । सृष्टिपछि बिनास पनि हुन्छ जसलाई संहार भनिन्छ । जीव प्राण संचालन तिरोभाव हो, यी सबैबाट छुट्कारा मिल्नु भनेको अनुग्रह हो । यसलाई मोक्ष भनिन्छ, भक्तहरु यसलाई पंच महाभूत भन्दछन् ।

सृष्टि पृथ्वीमा हुन्छ, स्थिति जलमा हुन्छ, संहार अग्निमा हुन्छ । तिरोभाव वायुमा हुन्छ । अनुग्रह आकाशमा हुन्छ । पृथ्वी तत्ववाट सृष्टि संभव हुन्छ । स्थिति या जीवन रक्षा जलद्वारा हुन्छ । अग्निले सबैलाई संहार गरिदिन्छ । वायुले प्राण संचालन गराइरहेको हुन्छ । यी ४ तत्वलाई शव्द ब्रम्ह आकाश रुपले अनुगृहित गराइ रहेको हुन्छ । यी ५ मुख्य कार्य संचालनका लागि शिवजीका ५ मुख भएका हुन् । ४ दिशामा ४ मुख स्थित छन्, पाँचौ मुख यी सबैका बिचमा छन् ।

पंचमुखी शिवजीको प्रार्थना गरेर ब्रह्मा र विष्णुले सृष्टि र पालनको अभिभारा लिएका हुन् । रुद्र र महेश्वर शिवको २ विभूति स्वरुप हो । पन्चमुखी शिवको स्वरुप नेपालको काठमाडौँमा मात्र छ । त्यसैले विश्वका सबै हिन्दु धर्मालम्वीहरु यहाँ आउने गर्छन् । यसपालि यहाँ १० लाख भक्तहरु आउने भनिएको छ । वृहस्पतिको उदय भने चैत्र ९ मा मात्र हुनेछ । समयको अन्तरालमा यसक्षेत्रमा व्यापक विकृति छ, हरेक विषयमा व्यापारीकरण भएको छ । धर्मको नाममा भएको विकृतिलाई कसैले राक्न सकेको छैन ।