• असार २५ २०८१, सोमबार

ढिलो बाईक चलाउने प्रतियोगितामा झन् धेरै फेल

फाल्गुन १६ २०७८, सोमबार

घोराही, १६ फागुन ।
दाङको घोराहीमा आयोजना गरिएको स्लो बाईक प्रतियोगितामा ४० जनाले भाग लिएका थिए । त्यसमा १६ जना उत्तिर्ण भए । बाँकी २४ जना फेल भए । यसलाई बाईक चालकले खास स्पिडमा प्रतिस्पर्धा गराउनुपर्ने सुझाव दिए । अति स्लो र स्पिड दुवैले उपलब्धि दिँदैनन् । उचित गति कति हो त्यसमै प्रतिस्पर्धा गराउन दर्शकले सुझाव दिए ।

वाईक स्टार्ट गरेको एक मिनेट ५० सेकेन्डमा मिनराज महराले शनिवार ५० मिटर दुरी पार गर्नुभयो । उहाँलाई ४० प्रतिस्पर्धी उछिन्दै सबैभन्दा स्लो चलाएकोले प्रथम घोषणा गर्दै पुरुस्कार दिइयो । नगद दुईहजार र सम्मानपत्रले डिएसपी मुकुन्द रिजालले सम्मान गर्नुभएको थियोे ।

यसैगरी महरालाई पच्छ्याउँदै सुनिल पुरीले एक मिनेट ४८ सेकेन्डमा त्यहि दुरी पार गर्नुभयो । उहाँलाई सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका अध्यक्ष विष्णु पुनले एक हजार पाँच सय रुपैयाँ नगद सहित सम्मान पत्रले सम्मान गर्नुभयो । उहाँहरु दुवैजनाका ग्रुप फरक थिए । एक पटकमा तिन जनाले प्रतियोगितामा भाग लिन्थे । फरक गु्रप भए पनि टाइमले कडा टक्कर थियो ।

तेस्रो स्थान हासिल गर्ने सुनिल चौधरीले एक मिनेट ३८ सकेन्डमा सोहि दुरी पार गर्नुभयो । उहाँलाई सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार एवम् राप्ती अटो इन्जिनियरिङ बजाज शोरुम घोराहीका सञ्चालक बलदेव योगीले एक हजार नगद सहित कदरपत्रले सम्मान गर्नुभयो ।

अलिक फराकिलो समय अन्तर एक मिनेट २७ सेकेन्डमा लुमबहादुर केसीले त्यो दुरी पार गर्नुभयो । उहाँलाई पाँच सय नगद सहित सम्मान पत्रले वडा प्रहरी कार्यालयका प्रमुख हृदेश सापकोटाले गर्नुभयो । उहाँहरु सहित १६ जना प्रतिस्पर्धी उत्तिर्ण गर्न सफल हुनुभएको थियो ।

चालकको सजकता भन्दा बढि मोटर साइकलको हालतमा दर्शकहरुको भ्यान गएको थियो । कतिपयले यो दुरी एक सय मिटर राख्यो भने मोटरसाइकलको इन्जिनै नरहन सक्ने चिन्ता व्यक्त गरे । उनीहरुले भने जस्तै भित्र कुनै समस्या पैदा गरेको संकेत गर्ने धुवाँ फ्याँकीरहेका थिए । कतिपय बाईकहरुले निकै असर परेको जस्तो डरलाग्दो आवाज निकालेका थिए ।
‘तिब्र गति जीवन क्षति विस्तारै जाऔँ जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ भएको स्लो बाईक प्रतियोगितामा पचास प्रतिशत पनि उत्तिर्ण हुन सकेनन् । यसले अति स्लो गर्दा आफै ढलिन्छ भन्ने बुझाउँथ्यो । तिब्र गतिले अरुलाई नोक्सान गर्छ अति स्लो गरे आफैलाई अड्याउन सकिन्न । त्यसैले आफू बाँच्ने र अरुलाई बचाउँदै गन्तव्यमा पुग्नुपर्छ भन्ने सन्देश दिन्थ्यो ।

बर्दी सहितका एकजना ट्राफिक प्रहरी पनि प्रतियोगितामा सहभागी भएका थिए । घोराही कर्मचारी मिलन केन्द्र अगाडिको सडकमा चुना हालेर बनाइएको घेरामा स्लो बाईक चलाउनु पर्दथ्यो । कतिपय स्टार्ट गर्ने बित्तिकै हुत्तिंदै घेरा नाघ्थे, धेरैले बिच बिचमा पुग्दा खुट्टा टेके र केहि अन्तिम बिन्दु पुग्दा रेखा पार गरी फेल भए । फेल भएको झोँकमा केहिले तिब्र गतिमै हुँइक्याए । उनीहरुको चाल हेर्दा सांकेतिक सचेतनाले खास्सै प्रभाव पार्ला जस्तो लागेन ।

सबैभन्दा ढिलो चलाउनेले जित्ने भनिएकाले अधिकतम प्रयास गरे । जसले सबैभन्दा ढिलो चल्ने प्रयास गरे उनीहरु नै सबैभन्दा चाँडो फेल भएको देखिन्थ्यो । खुट्टा टेक्ने अधिंकाश अति स्लो चालक थिए । ढिलो चलाउनेको मोटरसाईकल पुत्ताउँथ्यो, असहज भएको जस्तो घ्यार घ्यार आवाज निकाल्थे, तिनको मोटरसाइकललाई निकै बाधा पुगेको दर्शकहरुले प्रतिकृया दिन्थे । ‘योङ जेनेरेशन अनावश्यक प्रतिस्पर्धा गर्नाले क्षति भएका छन्’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डिएसपी रिजालले भन्नुभयो, ‘दुर्घटनाले मृत्यु, घाइते, अंगभंग अपाङ्गता हुनेको दर बढिरहेको बेला यसले चेतना फैलाउन सक्छ ।’

डरलाग्दा दुर्घटना बढिरहेको बेला संयमित भएर स्लो चलाउँदा गन्तव्यमा पुगिन्छ भन्ने सन्देश दिन खोजेको कार्यक्रमका प्रायोजक समेत रहनुभएका बजाज शोरुम घोराहीका सञ्चालक योगीको भनाई थियो । उहाँका अनुसार कति स्पिडमा चलाउँदा कन्टोल गर्न सकिन्छ भन्ने सिकाउने उद्देश्य हो । त्यसो त अति स्लो चलाउन खोज्नेले पनि बाइक अड्याउन सकेनन् ।
चालकले सवारी कन्टोल गर्न र दुरुस्त अवस्थामा राख्न सक्यो भनेपनि दुर्घटना न्युनिकरण गर्न सजिलो हुन्छ । सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष कैलाश रोकाले उचित गतिमा चलाउने प्रतिस्पर्धा गराउनुपर्ने धारणा राख्नुभयो । अति स्लो चलाउने तरीका जीवन व्यवहारमा कामै लाग्दैन ।

त्यस्तो उपयोग विहीन सिपमा प्रतिस्पर्धा गराउनु प्रहरीको गलत कोशिस हो । जति स्लो उति सुरक्षित हुँदैन । त्यसले आफैलाई ढालेर दुर्घटनामा पार्छ र आफ्नो बाईकलाई इन्जिन खराब गर्छ । त्यसैले सवारी दुर्घटना न्युनिकरणका नाममा स्लोलाई सम्मान अव्यवहारिक छ । यस्ता अव्यवहारिक सवालमा राज्यले प्रतिस्पर्धा गराउनु हुँदैन ।

स्लो बाईक चलाउँदा पालना गर्नुपर्ने नियम जिल्ला टाफिक प्रहरी कार्यालयका असई ओमप्रकाश कुर्मीले जानकारी गराउनुभएको थियो । दुवै तर्फका घेरा नछुने र जस्ले सबैभन्दा ढिलो दुरी पार गर्छ उसले पुरस्कार पाउने भनिएको थियो । त्यसै अनुसार सम्मान गरिएको हो ।

राप्ती अटो इन्जिनियरीङ घोराही र त्रिसिद्धेश्वरी राप्ती यातायात प्राली प्रयोजक रहेको उक्त कार्यक्रम सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आरके सितलले गर्नुभएको थियो ।