काठमाडौं । स्थानीय व्यवसायीको पहलमा नागदहको सरसफाइ सुरु भएको छ । जलकुम्भी झारले दह कुरुप बन्दै गएपछि स्थानीय व्यवसायी सफाइ अभियानमा जुटेका हुन् ।
स्थानीय व्यवसायी उमेश केसी नागदह सफाइ गरेर आन्तरिक पर्यटकको चलहपहल बढाउन सकिने कुरा बताउँछन् । उनले भने, ‘नागदहको सफाइ लामो समयसम्म भएन, जलकुम्भीका कारण नागदहको सौन्दर्यमा असर पर्न थालेपछि हामी जुटेका हौं ।’
व्यवसायीले नागदहको जलकुम्भी चार दिनदेखि निकालिरहेका छन् । २ जना मजदुरले डुंगाको सहायताले जलकुम्भी झार निकाल्न लगाइएको छ । उनका अनुसार नागदहको जलकुम्भी झार निकाल्न एक महिनाभन्दा बढी लाग्ने देखिन्छ ।
नागदह ढुंगा तथा स्थानीय पर्यटन व्यावसायी र नागदह सुधार समितिको संयोजनमा सरसफाइ सुरु भएको हो । नागदहको सरसफाइका लागि बजेट नआएपछि आफूले जिम्मा लिएर सफाइ थालेको केसीले बताए ।
केसी भन्छन्, ‘नजिकै सीजी हाउजिङले प्लटिङ गर्दा आएको माटोले नागदह पुरिने अवस्थामा पुगेको छ ।’ ललितपुर महानगर २४ का वडा अध्यक्ष दिनेश कार्कीले सहरी विकासको बजेटमा नागदह वरपर पर्खाल लगाउने काम भइरहेको पनि बताए ।
उनले भने, ‘नागदहको प्रर्वद्धनमा हामीले काम गरेका छौं ।’ केही समयअघि नागदहमा ढुंगा दुर्घटनापछि यस क्षेत्रमा पर्यटकीय गतिविधिमा कमी आएको छ ।