• मंसिर २० २०८१, बिहीबार

म मरे पनि मेरो देश बाँचिरहोस्

फाल्गुन १४ २०७८, शनिबार

आत्मपरक निबन्ध । 
एक शब्दको यो ‘म’ वास्तवमा केही पनि होइन । आफ्नो राष्ट्रका अगाडि त झन् कुनै पनि ‘म’ केही होइन । ‘म’ भन्दा मेरो राष्ट्र ठूलो हो, महत्वपूर्ण हो भन्ने धारणा लिनु नितान्त आवश्यक छ । यस्तो धारणा वास्तवमा राष्ट्रभक्तले नै लिन सक्छ ।

भीमसेन थापा, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवर जस्ता सपूतहरूले कहिल्यै पनि आफूलाई हेरेर ‘म’ शब्दलाई महत्व दिएनन् र आफ्नो राष्ट्रलाई शत्रुहरूको आक्रमणबाट जोगाएर राखे । आज तिनका नाउँ स्वर्णाक्षरले लेखिएका छन् । बीचमा केही स्वार्थी प्रवृत्तिका नेपालीहरूले म ठूलो हो भन्ने ठानेर राष्ट्रलाई महत्त्व दिएनन् । जसले गर्दा राष्ट्रमा भ्रष्टाचारी, चोरी, ठगी, अनैतिकताको बिगबिगी हुन पुगेको हो ।

अब वर्तमान समयमा हामी नागरिकले नै आफ्नो राष्ट्र बनाउन पाउने अधिकार र स्वतन्त्रता पाएका छौं । त्यसैले नेपालभन्दा म केही होइन भन्ने धारणाको लिनु र यस धारण जततातै फैलाउन नितान्त आवश्यक छ । यसो हुन सकेमा नै हाम्रो नेपाल नयाँ भएर विश्वमा फरफराउन सक्छ, अन्यथा बदमासहरूको घेरामा नेपाल फसेको भन्ने विश्वले ठान्ने छन् । म चाहन्छु, यस्तो धारणा मेरो नेपालमा सबैले लिइदिऊन् ।

चढ्दो उमेरमा सबैलाई बढी जोस चढ्छ । म पनि त्यसै जोसमा सोच्ने गर्थे, यस देशले मलाई के दियो र म यसको बारे सोचूँ ! जता हेर्यो अभावैअभाव । नमिल्दा कुराहरू । यातायातले जोडिनै गाह्रो पर्ने गाउँहरू । सानासाना कुरा पनि सम्झाइरहनुपर्ने गाउँलेहरू ।

चट्टाने युग व्याप्त सहरहरू । सिमेन्टै सिमेन्टका जङ्गल । सरसहयोगको अपेक्षा राख्नु अपराधै गरेसरह हुने समाज । खाल्टाखुल्टीले भरिपूर्ण सडकहरू । धुँवैधुँवा र धूलैधूलाको एकछत्र राज । खाना खाऊँ भने मिसावटयुक्त अन्नपातलाई आत्मसात् गर्नैपर्ने बाध्यता । औसर र सुविधा खोजे केही नपाइने देश । यहाँ त नेताहरू मात्र नभई जोकोही भ्रष्टाचार गर्न अग्रसर देखिन्छन् । अनि यस्तो देशमा किन बस्ने ? यही प्रश्नहरू मेरा साथीहरू पनि गर्थे ।

साथीहरूले जे सोचून, मैले भने सोचाइमा जोस हैन, होस ल्याउन थालेँ । होस आउने बित्तिकै मलाई पहिला त आफ्नै अघिको सोचमा लाज लाग्यो । जोकोही आफ्नो देशले आफूलाई के दियो भन्दै पलायन हुन थाले देशको अवस्था के होला ? संसारमा कतै पनि र कुनै देश पनि त्यसै विकसित भएको हैन भनेर देशका विकास भएको छ, त्यो त्यहीका जनताले गरेर भएको हो ।

कोही पनि अरूको देशमा गएर विकास गर्न गइदिँदैन म देखिरहेछु, मेरा देशका दाजुभाई तथा दिदीबहिनीहरू भने आत्मविश्वासको कमीले हो कि बाध्यतामा परेर अर्काको देशको विक अर्काको देशको विकास कार्यक्रममा सहभागी भइरहेछन् । वर्षौंसम्म यस्तै भइरहने हो र मलगायत शिक्षित व्यक्तिहरूले पनि स्वार्थपूर्ण रूपमा त्यस्तो सोचाइ लिने हो भने त कसले बनाउने नि मेरो देशलाई ?

यदि इमानदार छ भने अशिक्षित व्यक्तिको मनमा त आफ्ना देशका लागि केही गर्नुपर्छ भन्ने सोचाइ आउँछ भने हामी त शिक्षित युवा हौं । हामीले नै देश पहिलै बन्नुपर्छ र हामी जस्ता नवपुस्ताका लागि सुविधाहरू दर्साइरहनुपर्छ भन्ने सोचाइ राख्नु हामीले लिएको शिक्षाकै बेइज्जवत हो ।

हामीले शिक्षा पाएका छौं, कसका लागि हैन भने विदेशमा राम्रो काम पाउन सकौँ । हामीले शिक्षा लिनु भनेको आफ्नै देशका समस्याहरू बुझ्न सक्नु र तिनको समाधान निकाल्न सक्नका लागि हो । मेरो यो सोच सबैलाई बुझाउँदै हिँडेको छु । सबैले एकैचोटि मान्छन् भन्ने त छैन, तर कलममा तरबारमा भन्दा ठूलो शक्ति हुन्छ भन्ने पनि जानेको छु ।

मैले आफ्नो देशका लागि जे पनि गर्न तयार छु भन्दै हिँड्नु भन्दा पहिला आफ्नै क्षमता नियाल्नु बेस सम्झेको छु । जादुगर नै नभए पनि प्रधानमन्त्री पनि बनिहालेको छैन । त्यसो हुने हो भने कतिपय समस्या तुरुन्तै समाधान गर्न पनि सकिन्थ्यो होला । म जे छु, त्यसको आधारमा देशका लागि जे गर्न सकिन्छ, त्यो म गर्दै रहने छु । मलाई लाग्छ, काममा सफलता पाऊँ वा नपाऊँ, त्यो त्यति ठूलो कुरा होइन, जति ठूलो कुरा देशका लागि राम्रो गनैपर्छ भन्ने सोच लिनु ।

म जस्ता लाखौं जना युवा सकिए पनि मेरो देश बन्नैपर्छ । यो सोच मेरो अन्तआत्मामा छ । यसै भएर देशको हितविपरीत हुने कुरालाई रोक्न सचेतता फैलाउँदै गइरहेछु । ‘म यस्तो गर्छु र त्यस्तो गर्छुु भन्ने गफको पहाड थुपार्नुभन्दा सबैले आफ्नोआफ्नो ठाउँबाट आफ्नो कर्तव्य पूरा गर्दै गयो भने पनि देशले विकासमा राम्रो गति लिनेछ ।

अनि हेरूँ, कसरी मेरो देश बन्दो रहेनछ ? मेरो देश अवश्य बन्नेछ । त्यति बेला कुनै पनि युवा निराश भएर विदेश पलायन हुने छैन । जति पनि शिक्षित उत्पादन हुन्छन्, तिनले मेरो देशको विकासमा सघाउ पुर्याउने छन् । त्यसैले म आफ्नो ठाउँबाट प्रयास गर्दै छु ।

किशन थापा ।