• मंसिर १७ २०८१, सोमबार

बैंकको जागिर छाडेर कालिजपालन

फाल्गुन १४ २०७८, शनिबार

म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोजेका छन् । आचार्यले बैंकको जागिर छाडेर सबैलाई आश्चर्यमा पारेका थिए ।

तर उनी जागिर छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेपछि स्थानीय जनता झन् अर्को आश्चर्यमा परेका थिए । तर आचार्य अहिले ‘लस्ती कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालनमा लागेका छन् ।

३५ लाख रुपैयाँ लगानीबाट ‘जङ्गली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिकपालन सुरु गरेका आचार्यले यस पेसामा धेरै सम्भावना रहेको बुझेपछि यो व्यवसायलाई अबलम्बन गर्न पुगेको बताएका छन् ।

हाल यसलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याएपछि कालिजको मासु र अण्डा बिक्रीबितरण सुरु गरिसकेका छन् ।

गाउँमा पालिने अरू पन्छीभन्दा महँगोमा बिक्री हुन थालेपछि कालिजपालनमा लगानी थपेर अझ थप व्यवस्थित बनाएका छन् । उनले अहिलेसम्म ३०० भन्दा बढी कालिज बिक्री गरिसकेका छन् । उनको फार्ममा अहिले बिक्री भएर बाँकी रहेका १०० भन्दा बढी कालिज छन् ।

पौने दुई किलोसम्मको वयस्क कालिज ३ हजार ५०० रुपैयाँदेखि ४ हजार रुपैयाँसम्ममा बिक्री हुनेगरेको छ । कालिज प्रजातिका चरामा रोगप्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उनी स्वीकार गर्छन् ।

कालिजका लागि उनले रैथाने आहारा मकै, गहुँ, कोदोका साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन् । हरियो भुइँघाँस तथा डालेघाँस पनि कालिजको आहाराका रुपमा प्रयोग गर्ने गरेका छन् । हाल उनको फार्ममा ३ जनाले रोजगारी पाएका छन् ।

निकट भविष्यमै ‘ह्याचिङ मेसिन’ राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको संख्या बढाउने उनको योजना छ । बच्चा निस्किएपछि ५ महिनामा करिब दुई किलो तौल हुने हुँदा त्यति बेलामात्र ती कालिज मासु खानका लागि योग्य हुन्छन् ।

कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरीका लागि बढी हितकारक हुने आचार्यको दाबी छ । कालिजलाई दाना र घाँस दुबै दिएर पाल्न सकिन्छ ।

घाँस दिंदा आहारामा समेत कम खर्च लाग्छ । यद्यपि कालिज आकाशमै उड्न सक्ने भएकाले सबैतिर जालीले छेक्नुपर्छ । कालिजका लागि खोर बनाउन भने खर्चिलो हुन्छ । उनले अहिले बाख्रा तथा कालिजपालनका लागि आफ्नै जग्गामा पूर्वाधार बिस्तारको काम गरिरहेका छन् ।

उनकोे फार्ममा कालिज, टर्की र बाख्रा हुर्किइरहेका छन् । ३ वटा पोखरीमा माछापालन पनि सुरु गरेका छन् । जलजला गाउँपालिकाले व्यावसायिक कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहित गरिरहेकाले उनमा पालिकाको सहयोग रहने आशाा पलाएको देखिन्छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा यसकै लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचीमा राखेको छ । यद्यपि यहाँ पछिल्लो समय विदेशी प्रजातिका कालिजको व्यावसायिक पालन भने निकै फस्टाउँदै गैरहेको छ ।