प्रतिनिधि सभाको अवरोध हटाउने र एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन ।
सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसीसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको साथ लिएर नेपाली काँग्रेस अघि बढ्ने कसरतमा जुटेको छ ।
त्यसका लागि एमालेका शीर्ष नेताहरूसँग निरन्तर छलफलमा जुटे पनि शुक्रबार साँझसम्म दुई दलबीच ठोस सहमति बनेको छैन ।
बिहीबार एमसीसी सम्झौताको विपक्षमा उभिने स्पष्ट संकेत गरेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भने शुक्रबार आफ्नो अडानबाट केही लचिलो देखिएका छन् ।
सत्ता गठबन्धन पनि नटुट्ने र एमसिसी सम्झौता पनि अनुमोदन हुनेगरी उनीहरूले प्रधानमन्त्री देउवालाई विभिन्न विकल्प सुझाएका छन् ।
तर प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्न शुक्रबार साँझ पनि अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए ।
पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएर उनी ओली निवास पुगेका थिए ।
संसद्को जारी अवरोध हटाउन र एमसिसी सहमतिबाट अनुमोदन गर्न देउवाले एमालेसँग सहयोग मागेका छन् । एमाले अध्यक्ष ओलीले कांग्रेससहितका लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्न आफ्नो दल तयार रहेको दोहोऱ्याएका छन् ।
तर त्यसका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पदमुक्त गर्नुपर्ने र आफ्नो दलबाट बाहिरिएका १४ सांसदलाई कारबाही गर्नुपर्ने अडान दोहोऱ्याएको स्रोतको दाबी छ । यो समाचार नागरिक दैनिकमा छ ।