• मंसिर १२ २०८१, बुधबार

पशुपति क्षेत्र ५० लाख बराबरको बिजुली बत्ती र फूलले सजाइँदै

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौं ।  महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा चहलपहल बढेको छ । पशुपति क्षेत्र बिजुली बत्ती र फूलले सजाइँदै छ ।

यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरुप झिलिमिली बनाउन थालिएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार दाताको सहयोगमा पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती बाल्न थालिएको हो ।

पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र १६ गते गरिने प्रवक्ता अधिकारीले बताए । फूल बाँदरले चुँड्ने भएकाले एक दिनअघिमात्र सजाउने तयारी कोषले गरेको हो । बिजुली बत्ती र फूलले सजाउन दाताले नै सहयोग गरेका छन् । दाताको करिब ५० लाख बराबरको सहयोगले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाउन लागिएको हो ।

यसका लागि कोषले समन्वय र सहजीकरण मात्र गरेको छ । दाताले आफैँ कामदार लगाएर बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेका छन् । पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखन भने कोषकै खर्चमा भइरहेको छ ।