• मंसिर १२ २०८१, बुधबार

कोरोना हटेसँगै पार्कहरुमा वनभोज जानेहरुको संख्या बढ्दै (फोटो फिचर)

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौँ । कोरोना भाइरसको त्रास कम भएको जस्तो देखिएसँगै सामाजिक जनजीवन अलि सक्रिय भएको जस्तो देखिन लागेको छ । विद्यालय, महाविद्यालय र विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरु नियमित भएका छन् भने यातायात तथा व्यापारले पनि गति लिन लागेको जस्तो देखिन्छ । विस्तारै वैदेशिक रोजगार खुल्दैछ भने मनोरञ्जन क्षेत्र समेत सक्रिय हुन लागेको जस्तो देखिन्छ ।

आजैबाट करिव तीन वर्षदेखि निष्क्रिय जस्तो रहेको चलचित्र क्षेत्र पनि सक्रिय हुन गएको छ । आजैबाट हालै अत्यन्त धेरै चर्चा र विवादमा आएका चलचित्र अभिनेता पल शाह अभिनित नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउछु-२’ प्रदर्शनमा आएको छ भने अरु मनोरञ्जनका क्षेत्रहरु पनि विस्तारै सक्रिय हुन लागेको जस्तो देखिएको छ ।

सामान्य अवस्थामा आराम गर्ने, मुडफ्रेस गर्ने तथा रमाइलो गर्ने राजधानीका पार्क र उद्यानहरुमा पनि मानिसहरुको बाक्लो उपस्थिति देखिन लागेको छ । जनजीवन सामान्य हुन लागेसँगै राजधानीका घुमफिर गर्ने, वनभोज गर्ने उद्यान तथा पार्कहरुमा मानिसहरुको भीड भाड बढ्न थालेको छ । मानिसहरुले भेटघाट गरेर रमाइलो गर्ने ती पार्कहरुमध्ये बालाजुको बाइसधारा उद्यान र गोकर्णमा रहेको राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) मा रमाइलो गर्ने तथा वनभोज गर्नेहरुको बाक्लो उपस्थिति हुन लागेको छ ।

बिहीबार बालाजु बाइसधारा उद्यानमा करिव ३ सयले टिकट काटेर नै भ्रमण गरेका छन् भने शुक्रबार गोकर्णमा रहेको राष्ट्रिय शहीद तथा शान्ति पार्कमा ४५० भन्दा बढीले भ्रमण तथा वनभोज गरेका छन्। बालाजु बाइसधारा उद्यानमा हालै वनभोज कार्यक्रम हुन नसकेको भएपनि गोकर्णमा भने वनभोज गरेर रमाइलो तथा भ्रमण गर्न मानिसहरु आउन लागेको यज्ञडोल जगडोल सामुदायिक वन उपभोक्ता समितिका सह-कोषाध्यक्ष तथा राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) संचालक समितिका सदस्य सुमन थापाले बताए ।

कोरोना महामारीपछि शुक्रबार नै सबैभन्दा बढी मानिसले सो पार्क भ्रमण गरेर वनभोज गरेको र शनिबार करिव ५ सय जनाले भ्रमण तथा वन भोज गर्नको लागि पार्कमा अग्रिम बुकिङ लिएको थापाले बताए ।

हेरौं शुक्रबार गोकर्ण पार्कमा वनभोज गएर रमाएका स्कुले विद्यार्थी तथा शिक्षक र अरु भ्रमणकर्ताहरुको थप तस्विरहरु⇓