• असार २५ २०८१, सोमबार

शाही सेनाद्वारा श्रीमान बेपत्ता बनाइएकी सीतलीलाई स्थानीय सरकारले घर बनाइदिँदै

फाल्गुन १३ २०७८, शुक्रबार

घोराही, १३ फागुन ।
दाङको घोराही उपमहानगरपालिका वडानम्बर १४ ढोंडेनीमा रहेको नेपाली सेनाको व्यारेक नजिकै सेवार खोलाकोनेर सीतली मगर्नीको घर बन्न लागेको छ ।

स्थानीयका अनुसार सो जमिन तत्कालीन शाही नेपाली सेना, (हालको नेपाली सेना) माओवादी र स्थानीयको सहमतिमा बचाइएको हो । अहिले घोराही उपमहानगरपालिका-१४ ले मगर्नीको घर बनाइदिन लागेको छ ।

घरमै बसेका चेतबहादुर घर्तीलाई शाही नेपाली सेनाले डकाएर लग्यो । माओवादीले घोराहीमा त्यहाँ रहेको शाही सेनाको ब्यारेकमा आक्रमण गरेको २०५८ साल मंसिर ८ गतेकै पर्सिपल्ट उनलाई पक्राउ गरी व्यारेकमा लगिएका घर्तीलाई अहिलेसम्म सीतलीले देख्न पाउनुभएको छैन ।

उनलाई हालसम्म बेपत्ता पारिएको छ । मगर्नी हाल घोराही–१४ को तिनकुने चोक नजिकै ढ्याप्लीमा बस्दै आउनुभएको छ ।

खाने बस्ने, ओढ्ने बिच्छ्याउने त्यहि ढ्याप्लीमा छ । चाउचाउ, बिस्कुट, चुइङ्गम र चक्लेट बेचेर गुजारा चलाउनुहुन्छ । आफू अध्यक्षमा निर्वाचित भएपछि द्वन्दपीडित बेपत्ता परिवार भनेर महत्व दिएको वडा अध्यक्ष शक्तिराम डाँगीको भनाई छ ।

उहाँकै पहल र सकृयतामा अहिले घर्तीको घर बन्न थालेको छ । यसअघि जेष्ठ नागरिकलाई न्यानो कपडा दिँदा समेत मगर्नीलाई पनि वडाले दिएको थियो । त्यस बाहेक कोरोनाले सिर्जेको लकडाउनमा राहत दिँदा पनि सूचीमा उहाँको नाम थियो ।

‘ढ्याप्लीमा गुजारा गरिराख्या थे, नानीबाबु सबैले घर बनाइदिन लाग्नुभयो’ जनयुद्ध दिवसका दिन जग पूजापछि मगर्नीले भन्नुभयो ‘म खुशी भएर बस्याछु ।’ उहाँले धेरै बोल्न सक्नु भएन् । माइक समातेको समात्यै भक्कानिनु भयो । त्यो हातबाट अरुले माइक निकालेर बोल्नु पर्दैन ठिक छ भने र सन्त्याए । आड भरोसा दिए । थप रुवाउनु हुन्न भन्नेमा सबैजना सचेत देखिन्थे ।

उहाँ बेस्सरी रुनुभयो । वातावरण स्तब्ध भयोे । उहाँको जीवनमा घर पाउनु अकल्पनीय थियो नै । त्यससँगै त्यो घरमा पनि एक्लै बस्नुपर्ने छ । छोराछोरी न जन्मिंदै श्रीमानलाई बेपत्ता पारियो । त्यसपछि पर्खेर बसेको पनि अहिले २१ वर्ष पुगिसक्यो । अर्को विवाह गर्नतिर पनि लाग्नु भएन । कसैले लगेको होला, आइता जालान् भन्दाभन्दै उहाँको उमेर ढल्किसक्यो ।

घोराही–१४ का अध्यक्ष डाँगीले जग खनेको खाल्टोमा मसला हालेर ढुंगा बसाल्नुभयो, अगरबत्ति बाल्नुभयोे, अबिर र फूल छर्किदिनु भयो । घोराही–१७ का अध्यक्ष खुशीराम चौधरी, घोराही–१४ का सदस्यहरु गुलाम रसुल, नैनाकुमारी चौधरी, लछुमन बुढा लगायतले सघाउनु भएको थियो ।

गरेको त्यो दृश्य एकोहोरो हेरिरहनु भएकी मगर्नी बेलाबेला मुख मिठ्याएको जस्तै गरी ओठ चलाउनु हुन्थ्यो, मुहार छिनमै उज्यालिने र छिनमै अँध्यारोले छोप्ने गर्दथ्यो । उहाँको भाव रोमाञ्चक र दुःखित दुबै थियो । आँखामा तिनै श्रीमान् आएको हुनुपर्छ । मुटुमा त्यहिँ मायाले घोच्न सक्छ । अनि दुईदशक बढि बिताएको ढ्याप्लीको जिन्दगी अब घर बासको कल्पना हुनसक्छ । जति मनभित्र खेलेपनि अभिव्यक्त गर्ने क्रममा माइक समात्दै धरधरी रुन थाल्नुभयो ।

जनप्रतिनिधिले जगपूजा गरेपछि आफैले पनि पूजा गर्ने इच्छा देखाउनु भयो । त्यसो गर्नु स्वामित्व लिनुपनि थियो । आफ्नो घर बनाउने उत्सुकता झल्किन्थ्यो । अगरबत्ति बाल्नुभयो, अबिर छर्किनुभयो । पुलुक्क सहभागिका अनुहार हेर्नुभयोे । मगर्नीको मुहारले भावुकता झल्काउँथ्यो ।

नेकपा माओवादी केन्द्रका घोराही उपमहानगरपालिका समिति कोषाध्यक्ष दिलकुमारी बुढाले राज्य अभिभावक बनेको बताउनुभयो । असहाय, व्यसहारा द्वन्द्व पीडितको अभिवावक राज्य बन्न नसकेको उहाँको भनाई छ । राज्यले स्पष्ट नीति बनाई देशैभरका पीडितलाई सम्मान गर्न नसकेको बताउनु भयो ।

उहाँले भनेजस्तै माओवादी केन्द्रका वडा सरकार भएकैले मगर्नीले घर पाउनुहुने भयो । आफ्नै घरमा सर्नेगरी ढ्याप्लीबाट मुक्त गरेको भन्दै वडा सरकारको प्रशंसा गर्नुभयो । स्थानीय सरकारले चाहेपछि सक्दो रहेछ भन्ने देखायो, गतिलो उदाहरण बनेको भनाइ थियो ।

नेपाली सेना, माओवादी र स्थानीयले संयुक्त रुपमा संरक्षण गरेको जमिनमा घर बनाइदिएको सम्बन्धित टोल ढोडेनीका अध्यक्ष होमबहादुर भण्डारीको भनाई थियो । उहाँले यस्ता पीडितको सेवागर्न  सिंगै टोल एकमत भएर जमिन दिएको बताउनु भयो ।

वडाले बजेट दिने निर्णय गरेपछि पनि जमिन भेटिएको थिएन । उहाँलाई जमिन उपलब्ध गराउन पूर्वजनमुक्ति सेना नेपालका नरेश केसीले पहल गर्नुभएको थियो । निकै मेहनत गरेपछि मात्रै घडेरी फेला परेको थियो । त्यसै ठाउँमा २७औँ जनयुद्ध दिवसको अवसरमा शिलान्यास गरियो ।

द्वन्द्व प्रभावित सरोकार केन्द्रका शुसीला चौधरीले मगर्नीको दिनरात गुजारा कसरी चल्दो हो ! भनेर सहानुभूती व्यक्त गर्नुभयो । राज्यसँग निरन्तर शब्दशब्दमा लडिरहेको अधिवक्ता चौधरीको भनाइ थियो । उहाँका अनुसार ‘जनयुद्ध’ शब्द सुन्नै नचाहनेले समस्या पारेका छन् । अध्यक्ष डाँगीका अनुसार तिनै शब्दका कारणले राहत उपलब्ध गराउन पनि समस्या छ ।

अब केहि दिनभित्रै तिनकुने चोक मुन्तिर ढ्याप्ली पसलमा मात्रै सिमित रहने छ । त्यहाँका रसद पानी, ओढ्ने बिच्छ्याउने र पकाउने थाप्ने सबै घरमा सर्नेछन् । चार खुट्टाले टेको लागेको ढ्याप्ली उहाँको अहिले सम्मको घर र व्यवसाय हो । साथी सहयोगी पक्सपक्स आउने ग्राहक र छिटफुट देखिने आफन्त हुन् । अब घर बनेपछि भने यस्ता सबै कुरा फेरिने निश्चित छ ।

शाही नेपाली सेनाले बेपत्ता पारेका मगर्नीको अहिले नाम बदलिएको नेपाली सेनाको व्यारेक नजिकै घर हुनेभएको छ । घरबाट व्यारेक र व्यारेकबाट घर सजिलै देखिन्छ । त्यहि सम्मुखको दृश्यले मगर्नीको चित्त बुझाउँछ या झन् झन् झस्काउँछ र पीडा महशुस गराउँछ घरमा सरेपछि थाहा हुनेछ ।

मगर्नी बाँचुञ्जेल अध्ययनको विषय बनिरहने छ । घर उपलब्ध गराउनु नै अहिलेका लागि महत्वपूर्ण छ । यसले मगर्नीका आँसु पुछ्ने वडाको विश्वास छ ।