• असार १८ २०८१, सोमबार

सगरमाथा आरोही पत्रकार महर्जन इलामको पर्यटन सद्भावना दूत

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौं । सगरमाथा आरोही पत्रकार महर्जन इलामको पर्यटन सद्भावना दूत नियुक्त भएपछि कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर समपन्न भएको छ ।

इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका थिए ।

महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट र २०७६ जेठ ९ गतेकै दिन तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेकी थिइन् ।
पत्रकारितामा क्रियाशील महर्जन दुवै तर्फबाट सगरमाथाको आरोहण गर्ने पहिलो महिला पत्रकार हुन् ।

महर्जनलाई २०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

महर्जनसँगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही यामबहादुर गुरुङलाई पनि पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको हो । महर्जनले इलाम नगरपालिका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचार प्रसारको काम गर्नेछिन् ।

इलाम नगरपालिका पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले महर्जनसँग समितिले इलामको पर्यटन विकासमा सहकार्य गर्ने बताए ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन सद्भावना दूतमा नियुक्त महर्जनलाई बधाइ ज्ञापन गर्दै इलामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।