काठमाडौं । एमसीसीसँगको सम्झौतामा विमति बढ्दा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ ।
नयाँ गठबन्धनका लागि कांग्रेस र एमाले निर्णायक संवादमा छन्, यद्यपि वाम गठबन्धन बनाउन मसिनो अग्रसरता पनि सुरु भएको छ ।
अब काँग्रेससँग लोकतान्त्रिक वा पुराना सहयात्रीसँग वाम गठबन्धन बनाउने भनेर छान्ने सुविधा एमालेलाई प्राप्त भएको छ ।
एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा पाँचदलीय गठबन्धनभित्र सहमत नभएपछि काँग्रेस र एमालेबीच दुई सातायता सघन वार्ता हुँदै आएका छन् ।
काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सामूहिक र एक्लाएक्लैसमेत छलफल भए ।
बिहान बानेश्वरस्थित संसद् भवन र साँझ बालुवाटारमा भएका वार्ता सहमति नजिक पुगेको भन्दै नेताहरूले शुक्रबार फेरि बस्ने जनाएका छन् ।
बालुवाटार बैठकमा सामूहिक छलफलपछि देउवा र ओलीबीच एक–एक सहयोगी नेता राखेर एक घण्टासम्म छलफल भएको थियो ।
देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई साथमा राखेर खुलस्त छलफल गरेका थिए । स्रोतका अनुसार सभामुखविरुद्ध प्रस्ताव ल्याउनेबाहेक धेरै विषयमा दुई नेताबीच समझदारी बनेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीले ‘माओवादीलाई कहिले तपाईंहरूले बोक्ने, कहिले हामीले बोक्ने नगरौं’ भन्ने प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री देउवाले पनि गठबन्धनका साझेदारहरूले आफूलाई धोका दिएको भन्दै ओलीको प्रस्तावमा समर्थन जनाएका थिए । ‘गठबन्धनवालाले मलाई धोका दिए । तपाई–हामी मिलेर जानुपर्यो ।
एमसीसी सम्झौता पनि अनुमोदन गर्नुपर्यो । तपाईंहरू जे भन्नुहुन्छ अब त्यो गर्न तयार छु,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
उनका अनुसार ओलीले दोहोर्याएर भनेका थिए, ‘जे गर्ने हो तपाईं–हामी दुई पक्ष बसेर गरौं । अब माओवादीलाई सिनबाट कटाऔं ।’
दुईपक्षीय छलफलमा एमसीसी अनुमोदनका लागि एमाले र कांग्रेस मिलेर जाने, देउवा सरकारले नै संघीय निर्वाचन गराउने, प्रदेश सरकारमा साझेदारी गर्ने र सभामुखविरुद्ध प्रस्ताव ल्याउने विषयमा छलफल अगाडि बढेको छ ।
बैठकमा सहभागी नेताले भने, ‘यति बुझ्नुस् हालको गठबन्धन टुट्यो । औपचारिक रूपमा घोषणा हुन मात्रै बाँकी हो ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।