काठमाडौं । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन् ।
प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन् ।
तर सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन् ।
सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बाहिर निस्कने निष्कर्षमा पुगेका हुन् ।
‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विपक्षमा मत दिनु उपयुक्त होइन । एमसिसीमा मतदान हुने अवस्था आए सरकारबाट बाहिरिने निष्कर्ष निकालेका हौं’, माओवादी केन्द्रका एक उच्च नेताले भने । माओवादी केन्द्रले एमसिसी सदनमा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
सरकारबाट बाहिरिएर विपक्षमा मतदान गर्ने तयारी यी दुई दलको रहेको माओवादीका ती नेताले बताए । तर एकीकृत समाजवादीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो निर्णय नभइसकेको बताए। ‘पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
तत्काल सरकारबाट बाहिरिने विषयमा केही निर्णय भएको छैन । एमसीसी पास गर्ने विषयमा धेरै प्रक्रिया बाँकी छन् । मतदान गर्नु केही मिनेटअघि मात्रै सरकारबाट बाहिरिने निर्णय हुनसक्छ,’ खतिवडाले भने । यो समाचार नागरिक दैनिकमा छ ।