काठमाडौं । एमसीसी सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवासमा पुगेर एमसीसी पारित गर्न आग्रह गरेका थिए ।
तर, जवाफमा प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सत्ता गठबन्धन जोगाउन एमसीसी टेबल गर्न सहमति भए पनि पारित गर्न आफ्नो पार्टीको समर्थन नहुने विषय अध्यक्षले स्पष्टसँग राखेको बताए ।
उनका अनुसार प्रचण्डले एमसीसी सम्झौतालाई संसदीय समितिमा पठाउनु पर्नेमा जोड दिएका थिए । तर, जवाफमा प्रधानमन्त्री देउवाले संसद्मै छलफल गरेर छिट्टै पारित गर्नुपर्नेमा धारणा राखेका थिए ।
प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन एकीकृत समाजवादी पार्टीका मन्त्री र सांसदहरूसँग समेत छुट्टाछुट्टै छलफल थालेका छन् ।
एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको एकीकृत समाजवादीभित्र पनि दुई धार देखिएको छ ।
सत्तारूढ जनता समाजवादीले भने एमसीसीकै पक्षमा मतदान गर्ने तयारी गरेको छ । जसपाले एमसीसीको विषयलाई विरोध जनाएको छैन ।
यसैबीच, बुधबार नै गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई एमसीसीको पक्षमा उभिन दबाब दिन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा पुगेर भेटवार्ता गरेका थियो ।
मंगलबार साँझ मात्र प्रधानमन्त्री देउवा र एमालेका शीर्ष नेताहरूबीच वालुवाटारमा झण्डै दुई घण्टा भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री देउवा प्रतिपक्ष दलसँगको संवाद बढाएर माओवादी र एकीकृत समाजवादीलाई एमसीसीको पक्षमा उभिने वातावरण निर्माण गर्ने प्रयासमा देखिएका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नै एमसीसीलाई संसद्मा टेबल गर्ने गरी प्रस्ताव दर्ता गराएको हो ।
ओली नेतृत्वको सरकारले दर्ता गराएको प्रस्ताव ३२ महिनापछि प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले संसद्मा टेबल गराउन सफल भएको छ ।
अहिलेकै अवस्थामा एमसीसी सामान्य बहुमतबाट पारित हुने अवस्था छ । तर, प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको साथै प्रतिपक्ष दललाई साथ लिएर अनुमोदन गराउन आन्तरिक छलफललाई तीव्रता दिएका छन् छ ।
आजबाट एमसीसी संसद्मा छलफल हुने
संसद्मा टेबल भएको एमसीसी सम्झौता आजबाट छलफलका लागि प्रस्तुत हुने भएको छ ।
संसद् सचिवालयले सरकारले एमसीसीमाथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।