काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले रूसलाई युद्व रोक्न आग्रह गरेको छ । आज नेपालस्थित रूसी राजदूतावास बालुवाटार अगाडि प्रदर्शन गर्दै यस्तो आग्रह गरिएको हो ।
दिउँसो १ बजेदेखि आघा घण्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीले रूस युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्व रोक, शान्ति प्रवद्र्धन गर भन्दै ध्यानाकर्षण गराए । प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रूसी राजदूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
युद्वले लाखौं करोडौं मानिसहरुको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्व हुनु हुँदैन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गरेका छन् ।
रूसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा अगाडि भनिएको छ, ‘भर्खरै मात्र युक्रेन सन्दर्भमा रूसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आवद्ध दशौ हजार सदस्य तथा शुभचिन्तकहरु अत्यन्त चिन्तित भएको जनाउँदै मित्र राष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गर्दछ ।’
प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेललगायत थिए ।