• मंसिर २० २०८१, बिहीबार

कुरुक्षेत्रको घोषणा

फाल्गुन ११ २०७८, बुधबार

हामी गोपाल र आभीरहरूको पुख्र्यौलीलाई
भकारोमा पुरेर तिम्रो पुरातत्व विभागले
हाम्रा अश्मीभूत अस्थिमाथि
जुन बखत उत्खनन गर्यो ब्रह्माजीको मनकन्थे वंशावली
र हाम्रा मन–मस्तिष्कका थतुरीवेदलाई जुठेल्नोमा मिल्काएर
जुन समय जारी गर्यौ तिमीले चतुर्वेदका जुलुमी मुलुकी ऐन
त्यही बखत सुरु भयो मनोमालिन्य
त्यही समय सुरु भयो काटोछिन् ।
हाम्रा यल्लुङ हाङका घुयँत्रो र ठिड्के ढुङ्गो खोसेर
हाम्रा बाञिवा ग्लेका ढडनेसो भाँचेर
हाम्रा च्यांगा घलेका ढोड नसो छिनालेर
जुन दिन तिमी उक्लियौ लिगलिग कोटको ऐरावत
र कीर्तिपुरेका नाककान जोख्दै धार्नीका हिसाबले
जुन रात तिमी ओर्लियौ नेपालको कैलाशकुट भवन
त्यहि दिन खन्तीखलास भयो मानवता
त्यहि रात खलबलियो शान्ति ।
हामी पार्कोटे मगरका गौशालाहरूमा
हामी वाइबा र रुम्बाका किपट र कबिलाहरूमा
शाक्यमुनिका कोचिला र देवदहहरूमा
मधेश सिन्जा खलङ्गा र थाकखोलाहरूमा
जुन बेला तिमीले खडा गर्यौ यो पैसाको पृथ्वी
र खस्यौलीको गलसेरा खेलोफर्को
त्यहीँबाट सुरु भयो पानी बाराबार
त्यहीँबाट मच्चियो काटाकाट र मारामार ।
हाम्रा ङोमा लामाका ताम्बा काइतेन जुठेल्नोमा मिल्काएर
जुन पल तिमीले गुन्गुनायौ दिव्योपदेशका यदुवंशी गाथा
र हाम्रो कलनासो थुतेर राजगद्दीका अङ्कुसे हन्बेर्नुले
जुन वर्ष सिरिखुरी पोलेर खायौ हाम्रो खम्बानी चम्पू
हाम्रा रन्जना र सिरजङ्गाका कीलाक्षर निषेध गरेर
तिम्रो एकहाते सर्वोच्च अदालतको एकल इजलासले
दक्ष प्रजापतिले आर्जेको हाम्रो इटाचपलीमा
जुन मितिमा फैसला गर्यो देवनागरीको बृहत शब्दकोश
हाम्रा शङ्खधरलाई बेदखल गरेर
तिम्रा एकपाखे प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय नाचघरले
हाम्रो नेपाली मैजुदेवल डबलीमा
जुन तिथिमा विमोचन गर्यो विक्रम सम्वतका खटनपुर्जी
र हाम्रा अमर बाँडाहरूका घुँडीखोप्रो फोरेर
हाम्रा ख्रार्तोक ह्लोसार र माघी तिरस्कार गरेर
तिम्रा ऐटनले र जनरल कन्सलरले
हाम्रा गुण कामदेवको शान्तिस्तूपमुनि
जुन मौकामा भित्र्यायो शंकराचार्यको डोली
जुन मौकामा मनायो विजयादशमी र दीपावली पर्व
त्यही वर्ष र त्यहि मितिमा सुरु भयो मल्लयुद्ध
त्यहि तिथि र त्यहि मौकामा मच्चियो कोतपर्व ।
म दक्षकन्या
म आठ वर्षकी कुब्जिका
जसरी मेरो छातीमाथि चौरासी आसनमा घुँडा धसेर
जसरी मेरो डिम्वनली रगताम्मे पारेर
जसरी मेरो आबरुमाथि झ्यानाकुटी खेल्यौ तिमीहरूले
जसरी हामी पोथी जातिको हुर्मत लुट्यौ तिमीहरूले
त्यसरी टुप्पी उखेलेर तिम्रो हुकुमी संयन्त्रको
त्यसरी तुरी निमोठेर तिम्रो भालेतन्त्रको
तिम्रो टुँडिखेलमा
तिम्रो कुचिन्डोलाई भकुन्डो बनाएर
हामी अभ्यास गर्नेछौँ गिरमुङ्ग्रीका काइदारदस्तुर ।
याद गर आजको विशेष दिन
ए झल्लर शिवभट्ट ब्राह्मणहरू
याद गर कुरुक्षेत्रको घोषणा
दुई दिनको घामछाया हो यो पैसाको पृथ्वी
र यो पैसाको पृथिवीमा
यो पृथ्वीको कुरुक्षेत्रमा
पृथ्वीनारायणको बक्यौता असुल उपर नगरेसम्म
म टेक्नेछैन चेपे नदीका किनारमा पाइला
म पिउनेछैन निमेल खोलाको पानी ।