• मंसिर १२ २०८१, बुधबार

सौराहामा थपिन थाले पर्यटक, हवाई भाडा पनि छुट गरियो

फाल्गुन ११ २०७८, बुधबार

चितवन । कोरोना महामारीको संक्रमण घटेलगत्तै चितनवको सौराहामा बढ्न थालेको छ । प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् ।

यसैबीच कोरोना संक्रमण जोखिमका कारण सुस्ताएको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुँदै गएपछि गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रमले समेत ठूला होटल भरिन थालेका छन् । लामो समयपछि युरोपियन पर्यटक आउन सुरु गरेका हुन् ।

‘भारतीय पर्यटकको बुकिङ पनि राम्रो छ, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् । सभा, सम्मेलनका ठूला होटल बुकिङ हुन थालेको उनको भनाइ छ ।

‘यतिबेला यहाँको होटलमा विदेशी पर्यटक ८० प्रतिशत हुने गर्दथ्यो । तीमध्ये चिनियाँ पर्यटक मात्रै ५० प्रतिशत हुने गर्दथेु, उनले भने, ‘अहिले विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुसीको कुरा हो ।’ पर्यटकको सोधपुछ निकै बढेको भट्टराईको भनाइ छ ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मन, हल्याण्ड, इजरायल लगायत देशका पर्यटक आउन थालेका हुन् । ट्रेकिङका लागि नेपाल आएका उनीहरू सौराहा घुम्न आएको उनको भनाइ छ । सोधपुछ निकै बढेकाले आउने अक्टोबरबाट पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने घिमिरेको अनुमान छ ।

‘धेरै समयपछि छिटफुट रूपमा विदेशी पर्यटक देखिएका छन् । हिजोआज कहिलेकाहीँ समूहमै आउने गरेका छन् उनले भने, ‘कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै सौराहामा न्यून मात्रामा विदेशी पर्यटक आएका छन् ।’ क्षेत्रीय होटल संघ चितवनका निर्वतमान अध्यक्षसमेत रहनुभएका घिमिरेले सन् २०२३ मा नेपालमा पर्यटकको आगमन निकै राम्रो हुने अनुमान रहेको बताए ।

सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विदेशी पर्यटक हात्ती चढ्न आउन थालेको बताए । सो सहकारी अन्तर्गत ३१ वटा हात्ती छन् ।

तीमध्ये २० देखि २५ वटाले दैनिक काम पाउन थालेका छन् । नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उनको भनाइ छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि मचानमा बस्ने सुविधासँगै हात्ती र ढुङ्गा सफारीको व्यवस्था छ ।

समितिका अध्यक्ष जीतबहादुर तामाङले विदेशी पर्यटक आउन थालेको बताए । उनले भने, ‘पर्यटक आउन थालेपछि हामीलाई उत्साह थपिएको छ ।’ व्यवसायी अब पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कने अपेक्षामा रहेको उनको भनाइ छ ।

सौराहाका कतिपय होटलले स्वदेशीको सभा सम्मेलन राम्रो हुन थालेको बताएका छन् । होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबारका लागि कार्यक्रम लिन नसकेको बताए । धेरै कार्यक्रम जुधेका कारण व्यवस्थापनमा कठिन भएको उनको भनाइ छ । कोभिडका कारण रोकिएका कार्यक्रम हुन थालेको बताइएको छ ।

सौराहामा मुख्य रुपमा पर्यटक घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलनसँगै विवाहका लागि पनि यहाँ आउने गर्दछन् । कम मूल्यदेखि महँगा कोठा आफ्नो क्षमताअनुसार लिन सकिने भएकाले सौराहा सबैको रोजाइ हुने गरेको छ ।

देशको मध्यभागमा पर्ने भएकाले पनि यहाँ ठूला संघ संस्थाले तालिम, सभा सम्मेलन गर्ने गर्दछन् । मुख्यरुपमा भारतीय विवाहका लागि यहाँ आउने गर्दछन् । दुईवटा होटलमा दुलहादुलहीको परिवार राखेर विवाह गर्ने गर्दछन् ।

ती प्रयोजनका लागि आउनेहरू पर्यटकीय गतिविधिमासमेत रमाउन पाउने हुँदा सौराहा रोजाइ हुने गरेको होटल व्यवसायी माधव दुवाडीले बताए । चितवन राष्ट्रिय निकुञ्जभित्र दुर्लभ वन्यजन्तु हेर्न र यहाँका संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहामा १२० होटल छन् ।

ती होटलमा ५ हजार ५ सयसम्म पर्यटक राख्न सक्ने क्षमता छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । यसैबीच आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ ।

यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एयरलाइन्स र यति एयरलाइन्स प्रालिबीच सहमति भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो ।

समितिले आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुटदिने सम्बन्धमा बुद्ध र यति एयरलाइन्स प्रालिबीच सहमति गराएको हो । यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले विदेशी पर्यटकलाई होटलको कोठा भाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको समितिले जनाएको छ ।

विदेशबाट आउने नागरिकलाई हवाई भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एयरलाइन्सबीच हवाई भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताए ।

उनले भने,‘विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिक सरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुई हवाई कम्पनीले सहमति गरेका छन्, अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएका छौँ, उहाँहरुले पनि छुट दिनुहुने छ ।”

समितिले कोभिड–१९ को प्रभावका कारण थला परेका उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान, पर्यटन उद्योगको नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रवद्र्धन गर्न र यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने उद्देश्यले सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।

यसैगरी समितिले हाल कोभिड संक्रमण घट्दो क्रममा रहेकाले नेपाल सरकार मन्त्रिपरिषदबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ परिमार्जन गरी यात्रा सम्बन्धी मापदण्डलाई थप सरलीकरण गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको जनाएको छ ।

समितिका संयोजक गिरीका अनुसार समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह सुझाव बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने कार्य प्रारम्भ गरिसकेको छ ।

समितिको गत माघ २४ गतेको निर्णयानुसार पर्यटन उद्योगसम्बन्धी सात वटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाव दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेश स्तरबाट सल्लाह सुझाव लिन मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट प्रदेश प्रतिनिधिसमेत तोकिसकेको छ ।

निकट भविष्यमै समितिले देशैभरिबाट पर्यटन क्षेत्रका सरोकारवालासँग वृहत अन्तरकृया कार्यक्रमको आयोजना गर्ने र प्राप्त सुझावलाई समावेश गरी पर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ ।