काठमाडौं । अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभामा आइतबार पेस गरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनको पक्षमा मत जुटाउन सक्रिय छन् ।
तर प्रमुख प्रतिपक्ष मात्र होइन, सत्तापक्षीय दलले पनि पक्षमा मत हाल्ने निश्चित नभएकाले प्रधानमन्त्रीको मिहिनेत जारी छ ।
गठबन्धनका दलले विपक्षमा मतदान गरेमा तथा एमालेले प्रक्रियामा भाग नलिएमा अनुमोदनको प्रक्रिया कठिनप्रायः हुने देउवाको आकलन छ ।
संसद् सचिवालयमा ३२ महिनाअघि दर्ता भएको एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा बिहीबार १ बजे छलफल गर्ने तयारी छ ।
बैठकमा एमसीसीमाथि ‘सैद्धान्तिक छलफल’ हुने सम्भावना छ । छलफलमा कति सांसदले भाग लिन्छन् भन्ने यकिन छैन ।
दलीय प्रतिनिधित्वका आधारमा कि व्यक्तिगत रूपमा धारणा राख्न सांसदलाई समय दिने भन्ने पनि निश्चित नभएको संसद् सचिवालयले जनाएको छ ।
कार्यव्यवस्था परामर्श समितिमा हुने सहमति वा सभामुखले निर्धारण गरेको समयअनुसार छलफल हुनेछ ।
अबको कार्यव्यवस्था समिति बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रक्रिया कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरिनेछ ।
प्रतिनिधिसभा बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । सैद्धान्तिक छलफलमा सांसदहरूले एमसीसीको पक्ष र विपक्षमा बोल्नेछन् ।
त्यसपछि सम्झौता सदनमा पेस गरेका सञ्चारमन्त्री कार्कीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने हुन्छ । संसदीय प्रक्रियाअनुसार मन्त्रीले जवाफ दिएपछि सभामुखले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने हुन्छ, जसलाई बहुमतले स्वीकृत गर्नुपर्छ ।
‘बहुमतले अस्वीकृत भए सरकारले ल्याएको विधेयक होस् वा सन्धि सम्झौतालाई अघि बढाउने बाटो बन्द हुन्छ,’ संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङले भने ।
प्रस्ताव स्वीकृत भए प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २२५ बमोजिम सदनमा छलफल गरियोस् वा छलफल गर्न सम्बन्धित समितिमा पठाइयोस् भन्ने अर्को प्रस्ताव मन्त्रीले राख्न सक्छन् ।
प्रस्तावलाई सभामुखले प्रायः ध्वनि मतबाट निर्णय गराउँछन् । पक्षमा हुनेले ‘हुन्छ’ र विपक्षमा हुनेले ‘हुन्न’ भन्छन् । त्यस्तो बेला कति सांसद्ले ‘हुन्छ’ वा ‘हुन्न’ भन्छन् भन्ने स्पष्ट भइसकेको छैन ।
ध्वनि मत प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत हुँदा एमालेले विगतजस्तै विरोध जारी राखे मतदानमा सहभागी भएको मानिँदैन । ‘अहिलेसम्मको अवस्था हेर्दा हाम्रो विरोध जारी रहन्छ ।
सभामुखले निर्णयार्थ पेस गर्दा हामी उपस्थित रहेको तर वेलमा भएको जानिन्छ । पक्ष र विपक्षमा मतदान गर्नेको संख्या मात्रै गणना गरिन्छ,’ एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले भने ।
उनका अनुसार वेलमा रहनेहरूको गणना मत विभाजनका बेला हुन्छ, ध्वनि मत गराइएका बेला हुँदैन । यो समाचार कान्तिपुर दैनिकमा छ ।