• मंसिर ९ २०८१, आईतवार

एमसीसी प्रकरणले पाँचदलीय गठबन्धन धर्मराउँदै, अब के हुनसक्छ ?

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौं । सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सरकारको भविष्य जोखिममा पर्नेगरी निर्णय लिएका छन् ।

माओवादी केन्द्रको फागुन ४ गते बसेको संसदीय दलको बैठकले एमसिसीमा सरकारले जबर्जस्ती गरे गठबन्धन भत्किने र आफूहरू सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

यथास्थितिमा एमसीसी संसद्मा टेबुल गर्नसमेत नहुने उसको मत थियो । एमसीसी टेबुल भयो तर उसले सरकार भने छाडेको छैन ।

नेकपा (एकीकृत समाजवादी)ले निरन्तर बैठक राखी एमसिसीविरुद्ध मोर्चा कसेको अनुभूति हुनेगरी निर्णय गरिरहेको छ ।

उसको आइतबार बसेको स्थायी कमिटी बैठकले एमसिसी संसद्मा पेस गर्न दिने तर अनुमोदन भने गर्न नसकिने निर्णय गरेको थियो ।

यस्तै सोमबार बसेको सचिवालय बैठकले एमसीसीसम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको छ । तर यो प्रस्तावमा मतदान हुँदा ुह्विपु भने नलगाउने निर्णय भएको उक्त दल सम्बद्ध स्रोतले जनाएको छ ।

गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) अनिर्णीत छ भने अर्को घटक जनमोर्चा एमसिसी खारेज गर्नुपर्ने भनी खुलेर लागेको छ ।

यसरी पाँचदलीय सत्तारूढ गठबन्धन धर्मराउँदै गरेको देखिएको छ । गठबन्धनको भविष्य संकटमा पुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यसमेत जोखिममा परेको छ ।

गठबन्धन फुट्दा स्वयं प्रधानमन्त्रीको देउवाको पदसमेत गुम्नसक्ने केही कानुनविद्ले बताउँदै आएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।