काठमडौं । क्यानको कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान इन्फोटेकको २७औँ संस्करण आगामी २०७९ वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्सेनी आयोजना हुँदै आएको मेलाको आवश्यक तयारी अघि बढाइएको आयोजक क्यान महासंघले जनाएको छ ।
इन्फोटेकको २७औँ संस्करण २०७८ साल वैशाख २८ देखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ देखि २३ गतेसम्म दोस्रो पटक हुने गरी सम्पूणर् तयारी गरिएको भए पनि कोभिड-१९ महामारीका कारण स्थगन गरिएको थियो ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ ।
प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि तथा उपकरणको अवलोकन र खरिद गर्न पाउने महासंघका महासचिव नारायण थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रदर्शनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने आयोजकको विश्वास छ । क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ-वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न खण्ड रहनेछन् ।
इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन, सिसीटिभी र हार्डडिस्क, आइओटी गर्नेछन् ।
त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।
क्यान इन्फोटेकको २७औँ संस्करण करिब साढे तीन लाखले अवलोकन गरेकामा यो संस्करणमासमेत सोही सङ्ख्यामा अवलोकनकर्ता आउने आयोजकले अपेक्षा गरेको छ । सन् १९९५ देखि क्यान महासङ्घले क्यान इन्फोटेकको सुरुवात गरेको हो ।