काठमाडौँ। पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाक्लो असिना पानीका कारण केही जनावर र तरकारी तथा फलफूलसहित बालीनाली नष्ट हुँदा ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।
पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको जानकारी दिए।
कडरियाले राज्यले किसानलाई दिएको बिमा सुविधा सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताए ।उनले असिनाका कारण ती वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको जानकारी दिए ।
असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ वटा भौसी मरेका छन् ।फार्मको टिनमा असिनाको भार पर्दा सो भााचिएर थिचिँदा भैँसी मरेका हुन् ।
त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फार्ममा २० लाख बराबरको क्षति भएको छ ।
पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।
पोखरामा गत फागुन ८ गते आइतबार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो ।