• मंसिर १३ २०८१, बिहीबार

सर्लाहीमा स्यालको आक्रमण जारी, १५ जना घाइते

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौं । सर्लाही जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्यालले टोकेर १५ जनालाई घाइते बनाएको छ । मंगलबार बिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका २ र ४ का नदिया पकडी र पकडी गोठमा बसेका स्थानीय बासिन्दालाई टोकेर घाइते बनाएको हो ।

गाउँमा स्याल आतंक बढेपछि स्थानीयहरु असुरक्षित महसुस गरिरहेका छन् । यसको बारेमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी भए पनि स्याल कहाँ छ र कति बेला आएर टोक्छ, कहाँ कुन गाउँमा पस्छ भन्ने कुरा थाह पाउन गाह्रो भएकाले घटना बढिरहेको सर्लाही प्रहरी कार्यालयले जनाएको छ ।

स्यालले रातमा, साँझपख र बिहान मानिसमाथि आक्रमण गर्ने गरिरहेको छ । स्यालको आक्रमणबाट बालबालिका र बृद्धबृद्धा घाइते हुँदै आएका छन् ।

मानिसमाथि आक्रमण गर्ने यस्ता स्यालहरुको संख्या धेरै छैन । तर प्रायः जोडी देखिने स्यालले बारी, बाटो तथा घरमा रहेका मानिसमाथि बेलाबेलामा आक्रमण गर्ने गरिरहेका छन् ।

जोडी स्यालले मानिसमाथि आक्रमण गर्दा हातखुट्टाका औंला खाइदिने गरेका छन् ।  घाइतेहरुको उपचार स्थानीय अस्स्पतालहरुमा गरिए पनि गम्भीर अवस्थामा रहेका घाइतेहरुलाई भने काठमाडौं रिफर गरिएको स्थानीय चिकित्सकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण गिरीले दिएको जानकारीअनुसार स्यालले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्छ भन्ने आशंकामा स्थानीय त्रसित छन्, स्याल पत्ता लगाउन र कब्जामा लिन स्थानीयसँग सहकार्य अघि बढिरहेको छ ।