• फाल्गुन २६ २०८२, मंगलवार

पूर्वीयुक्रेनलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकी कूटनीतिज्ञ युक्रेन छाडी पोल्यान्ड प्रस्थान

फाल्गुन १० २०७८, मंगलवार

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वीयुक्रेनमा हाबी रहेका बिद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि युक्रेनमा रहेका अमेरिकी कुटनीतिज्ञले पोल्याण्डमा बसाइ सारेका छन् ।

बिद्रोहीले नियन्त्रणमा लिएर जनगणतन्त्र घोषणा गरेका युक्रेनका अदोनेत्स्क र लुहान्सकलाई रुसी राष्ट्रपतिले स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । यी दुबै क्षेत्रमा विद्रोहीले आफ्नो पकड जमाएका छन् ।

सन् २०१४ देखि युक्रेनी सेनासँग लडिरहेका यी विद्रोहीहरुले अहिले मात्र स्वतन्त्र राज्य घोषणा गरेका हुन् । यी राज्यहरुको घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन्, जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति कायम गर्न भूमिका निर्वाह गने उल्लेख गरिएको छ ।

पुटिनको घोषणासँगै उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुन सक्ने र रुसी सेनाले सीमा पार गर्न सक्ने अनुमान गरिएको छ । आदेश लगत्तै एक टेलिभिजन सम्बोधनमा रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग सच्चा राष्ट्रको इतिहास नभएको सन्देश दिएका छन् ।

पुटिनको यस कदमको अमेरिका, नेटो गठबन्धन फौजलगायत अन्तर्राष्ट्रिय जगतले अस्वीकार गरिरहेको छ । उता युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेन कसैसँग पनि नझुक्ने घोषणा गरेका छन् ।

विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएलगत्तै अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पनि पोल्यान्ड पठाएको छ । यसको पछाडिको एकमात्र कारण असुरक्षा रहेको अमेरिकाले संकेत गरेको छ ।

पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञहरु युक्रेन छाडी पोल्यान्डमा सुरक्षित रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पुष्टि गरेका छन् ।