• मंसिर ९ २०८१, आईतवार

एमसीसी अनुमोदन नभएसम्म माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)भित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ ।

तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् ।

माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट बाहिरिनुपर्ने माग गर्दै आएका छन् ।

सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुपर्ने प्रस्ताव माओवादीको असहमतिका कारण सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो ।

माओवादी नेता श्रेष्ठले संसद्मा पेस गरिएको एमसीसी सम्झौता निर्णयका लागि पेस हुनुअघि नै माओवादी सरकारबाट बाहिरिनुपर्नेमा जोड दिएका छन् ।

तर, माओवादीका प्रमुख सचेतक गुरुङले एमसीसी सम्झौता संसद्मा टेबल भएर छलफलको चरणमा रहेकाले निर्णयका लागि पेस भएपछि मात्र सरकारबाट बाहिरिने विषयमा निर्णय हुने बताए ।

उले भने,–‘हाम्रो असहमति हुँदाहुँदै पनि एमसीसी टेबल भएको छ, अब निर्णयार्थ पेस हुने बेलासम्मको अवस्था हेरेर पार्टीले सरकारको बारेमा निर्णय लिन्छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।