मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अहिले संसदमा टेबल भएको छ । एमसिसीको संसद प्रवेशसँगै सडकहरुमा विरोध प्रदर्शन भैरहेको छ । एमसिसीको बारेमा देशीय शक्तिहरु मात्र होइन, विदेशी शक्ति केन्द्रहरु पनि पक्ष र विपक्षमा तानिएका छन् ।
यो अर्थमा नेपालमा लागू हुने भनिएको एमसिसीले नेपालमा मात्र नभएर विश्व शक्ति केन्द्रहरुका बीचमा पनि नयाँ शिराबाट समस्या निम्त्याउने देखिन्छ । विश्व शक्ति केन्द्रका रुपमा रहेका अमेरिका र चीन त यही विषयलाई लिएर आमननेसामने देखापरेका छन् ।
त्यसैले पनि नेपालमा अबका दिनमा भिन्न रुपमा राजनीतिक ध्रुवीकरण बढेर जाने देखिएको छ । देशीय रुपमा हालसम्म रहेको थोरै भए पनि नेपाली चरित्रको राजनीति र राजनीतिक ध्रुवीकरण अबका दिनमा देखिने छैन ।
नेपालमा प्रजातन्त्र स्थापना (२००७ साल) पछिका दिनमा प्रजातान्त्रिक र साम्यवादी विचारका आधारमा क्रमशः नेपाली कांग्रेस र कम्युनिष्टहरु राजनीतिक मैदानमा देखा परे । आजको ५० वर्षसम्म उनीहरुले नै आआफ्ना एजेण्डाका आधारमा राजनीति गरे पनि ।
यी राजनीतिक पार्टीहरुले कसैले प्रजातान्त्रिक व्ययवस्था सुदृढ गर्ने त कसैले जनवादी/समाजवादी व्यवस्था ल्याउने कुरा जनताका सामु राख्दै आए । तर नेपाली विशिष्टताको यो राजनीतिक प्रक्रियाले अबका दिनमा यही रुपमा गति पाउने देखिदैन ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्रको तनाव, खिचातानी, शक्ति संघर्षका कारण पुराना विचार, सोच र सांगठनिक संरचनामा बिग्रह आउने देखिन्छ । यो बिग्रहसँगै नयाँ ध्रुवीकरणको प्रक्रिया पनि सुरु हुनजाने छ । यसले ‘कुन विचारको’ भन्ने ठाउँमा ‘कुन अन्तर्राष्ट्रिय शक्ति केन्द्रको’ भन्ने राजनीतिक अवस्थामा पुर्याउने छ ।
राजनीतिमा विचार र कार्यक्रम होइन, शक्ति केन्द्रको लबिङ प्रभावी हुन जाने छ । तदनुरुपका नेता र तिनले निर्माण गरेका सांगठनिक संरचनाले चलखेल र शासन गर्न थाल्ने छन् । यी संगठनहरुले मूलतः विकास, निर्माण र विकासे कामका नारा मात्र दिने छन् ।
यसपछिको अवस्थामा ‘विद्रोह’, ‘परिवर्तन’ वा ‘सुधार’ विदेशी शक्ति केन्द्रको चाहनामा मात्र निर्भर रहने देखिन्छ । विदेशी शक्ति केन्द्रको यो जबर्जस्त जुवाबाट मुक्ति पाउन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । अदली बदली भनेको केवल शक्ति केन्द्रहरुको लबिङमा भर पर्ने छ ।
यस्तो अवस्थामा नेपाली स्वत्वसहितका रुपान्तरण वा परिवर्तन ल्याउन विचारमा विकास गरेर मात्र संभव हुने देखिन्छ । अहिलेको राजनीतिक पंक्तिको सोच, विचार र तर्क सुन्दा र तिनीहरुको व्यवहार देख्दा उनीहरुको जीवन छउन्जेल कुनै परिवर्तन वा सुधार ल्याउने वा नयाँ विचार र नेतृत्वलाई राजनीतिक मैदानमा प्रवेश गर्न दिने पनि देखिदैन ।
जेजसरी हुन्छ आफू नै हुने र आफ्नो सेटिङ नै मिलाउने कुरामा सधैं भलो देख्नेहरुको ‘नयाँ जहानियाँ’ चरित्रमाथि टेकेर अहिले विदेशी मित्रहरुले फाइदा उठाइरहेका छन् । यो नेपालका लागि निकै महंगो साबित हुने देखिएको छ ।