ओमिक्रोनको आगमनसँगै कोरोना महामारीको तेस्रो लहरले आतंकित नेपाली समाज अहिले सापेक्ष शान्त बन्दै गएको छ । तर संक्रमणको चाप घटेसँगै हेलच्याक्राइँको मात्रा भने बढेर गैरहेको देखिएको छ । आमजनतामा फेरि पनि कोरोना महामारी केही होइन कि भन्ने मनोविज्ञानले काम गर्न थालेको छ ।
महामारी संक्रमणको चाप पनि घटेर गैसकेको छ । संक्रमितको संख्या पनि कम हुदँै गैरहेको छ । अस्पतालमा संक्रमित बिरामी पनि आउन छाडेका चिकित्सकहरुको भनाइ सार्वजनिक भैरहेको छ ।
अस्पतालमा कोभिड वार्ड पनि खाली हुन थालेका छन् भने कोरोना संक्रमित दीर्घ रोगीबाहेक सघन उपचार कक्षमा रहेको संक्रमित बिरामीको संख्य घटेर गएको छ । महामारीको संक्रमण घट्नु राम्रो कुरा हो ।
तर महामारीको संक्रमण घटेसँगै आमजनतामा लापर्वाही हदसम्म बढेर जान थालेको छ । सडक र चोकचोकमा बाक्लो गरी मानिस भेला हुन थालेका छन् । सडकको वरिपरि भिडभाड लागिरहेको हुन्छ ।
मानिसहरु विनामास्क निस्फिक्री हुल बाँधेर हिँडिरहेका छन् । सार्वजनिक सवारी साधनहरुमा पनि भिडभाड नै हुने गरेको छ । राजनीतिक सामूहिक विरोध प्रदर्शन भैरहेका छन् । राजनीतिक भेला र ठूला वैठकहरु निर्वाध चलिरहेका छन् ।
तर महामारी रोकथामका लागि सामान्य मापदण्ड पनि पालना गर्न नसकिइरहेको अवस्थामा चिकित्सक तथा जनस्वास्थ्य विदहरुले गम्भीर चिन्ता प्रकट गरिरहेका छन् । उनीहरुले महामारी सुषुप्त भएको बेलामा यो त अब अन्त्य नै भइसक्यो भने झैं गरी हेलच्याक्राइँ गर्दा यसले ठूलो विपत्ति निम्त्याउन सक्छ ।
कोरोना महामारी एकपछि अर्को गरी नयाँ नयाँ स्वरुपमा उत्सर्जन भैरहने र त्यसले विभिन्न लहर सिर्जना गरिरहने भएकाले महामारी सुषुप्तताको अवस्थामा झनै चनाखो भएर रहनु पर्ने उनीहरुको सुझाव छ ।
नेपालमा पछिल्लो पटक गरिएको ७ हजार ९६ जनाको नमुना परीक्षणमा ३ सय ५० जनामा संक्रमण फेला परेपछि अब महामारीको संक्रमणमा कमी आउन थालेको त हो नै । महामारीको संक्रमण दक्षिण एसियामै पनि ह्वात्तै घटेको छ । विश्व स्वास्थ्य संगठनले समेत दक्षिण पूर्व एसियामा नयाँ संक्रमण दरमा ३२ प्रतिशतले कमी आएको देखाएको जनाएको छ ।
तर महामारीले निरन्तर नयाँ स्वरुप ग्रहण गर्ने र फेरि नयाँ संक्रमणको लहर निम्त्याइरहने भएकाले ओमिक्रोनको संक्रमण सकियो भनेर ढुक्क नहुुन सतर्क पनि गराएको छ । अहिले नेपालमा ६० प्रतिशत जनताले खोप लिएको खोप तथ्यांकले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पूर्ण खोपको मात्रा ७० देखि ८० प्रतिशत जनतासम्म पुगे मात्र सापेक्ष सुरक्षाको अनुभूुति गर्न सकिने अवस्था निर्माण हुन्छ । नेपालका लागि यो अवस्थामा पुग्न अझैं कूल जनसंख्याको २० प्रतिशतले पूर्ण मात्राको खोप लिनु पर्छ ।
अहिले पनि कम मात्रामा भए पनि संक्रमितको संख्या भेटिइरहेको छ । थोरै संख्यामा भए पनि बिरामी अस्पतालमा पुगिरहेका छन् । केही बिरामी सघन कक्षमा गम्भीर अवस्थामा नै छन् । त्यसैले संक्रमण सुषुप्त भयो भन्दैमा हेलाच्याक्राइ नगरी स्वास्थ्य मापदण्ड सचेततापूर्वक पालना गरिराखौं ।